नेपालगन्ज ।
घटनाः १
काठमाडौँकी एक युवती भारतबाट फर्किएकी आफ्नी साथीले भारतमा राम्रो कमाइ हुने काम रहेको भन्दै फकाएपछि पत्याएर उनीसँगै गइन् । तर, उनी त्यहाँ पुगेपछि मात्रै थाहा भयो कि त्यहाँ त उनले नसाँेचेको काम गराइँदो रहेछ । त्यहाँ थुप्रै युवतीहरूलाई एउटा घर भाडामा लिएर राखिएको रहेछ । उनीहरूलाई ल्यापटपको प्रयोग गरी अनलाइनमा भिडिओसहित लाइभ बसेर मानिसहरूलाई इंगेज गराइराख्न लगाइँदो रहेछ । त्यो पनि रातिको समयमा ।
कतिपय अवस्थामा लाइभमा आउने पुरुषले भौतिक रूपमैै भेट्न पनि बोलाउँदा रहेछन् । यसरी युवतीहरूलाई बन्दी बनाएर अवाञ्छित क्रियाकलाप गरिरहेको भन्दै भारतीय प्रहरीले छापा हानेपछि ती युवतीहरू पनि उम्किन पाए । भारतीय प्रहरीले नेपाली पक्षसँग समन्वय गरी नेपाल पठायो ।
शक्ति समूहको संरक्षणमा रहेकी ती युवती बेचबिखनमा परेको भन्दै अहिले अदालतमा मुद्दा चलिरहेको शक्ति समूहकी नेपालगन्ज प्रमुख निर्मला पौडेलले जानकारी दिइन् । उनले भनिन्, ‘अहिले प्रविधिको प्रयोग गरी यौन शोषण यसरी पनि हुँदो रहेछ भन्ने हामीलाई पनि त्यो घटनाले आश्चर्यमा पारेको थियो ।’
घटना ः २
एकजना काठमाडौँकी युवती कालीकोट घर भएको र अहिले भारतमा रहेको बताउने व्यक्तिसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएकी रहिछन् । उनलाई भारतमा रहेको बताउने युवकले लखनउबाट हवाई टिकट पनि व्यवस्था गरिदिएका रहेछन् ।
उनलाई सीमा कटाउन नेपालगन्जकै एक होटलवालाले आफन्त बनेर पारी पु¥याउने काम गरेका रहेछन् । ती युवतीलाई सीमाबाट उद्धार गरेर सम्झाइबुझाई गरेपछि फिर्ता पठाइएको पौडेल बताउँछिन् ।
घटना ः ३
बाँके र कैलालीका केही युवतीहरूलाई एउटा गिरोहले भारती सीमावर्ती क्षेत्रमा हुने रात्रिकालीन नाचगानका कार्यक्रममा अश्लिल नृत्य गर्न लगाउने गरिरहेको रहेछ । उनीहरूलाई सीमामा प्रहरीले शंका लागि केरकार गर्दा बेचबिखनको जोखिममा रहेको पाएपछि सम्झाइबुझाई गर्दै आफन्तको जिम्मा लगाइयो ।
सीमापार मात्रै नभई आन्तरिकरूपमैै मानव बेचबिखनले भयावह रुप लिएको उदाहरण दिँदै पौडेलले एउटा घटना सुनाइन् । जो कोहलपुरमै घटेको थियो । उक्त घटनामाथि अहिले अदालतमा मानव बेचबिखनको मुद्दा चलिरहेको उनले जानकारी दिइन् । उक्त घटनामा एकजना युवती करिब दुई दर्जन व्यक्तिबाट बलात्कृत भएकी थिइन् ।
करिब एक वर्षअघिको उक्त घटना विविध कारणले बाहिर नआएको बताउँदै पौडेलले भनिन्, ‘ती युवतीले भोगेको पीडा सुनेर एकजना मानव अधिकारकर्मी रुनुभयो । होटल सञ्चालकले धेरै व्यक्तिसँग यौन सम्पर्क गर्न नमान्दा रक्सी खुवाएर लठ्याएर समेत बलात्कार गराएका रहेछन् ।’ त्यसको केही समयपछि नेपालगन्जमै त्यस्तै प्रकृतिको अर्काे घटना नेपालगन्जमा पनि घटेको उनले बताइन् ।
उक्त घटनामा पनि एक दर्जन बढी व्यक्तिबाट एक युवतीको बलात्कार गराइएको पाइएको छ । शक्ति समूहले संरक्षणमा राखेका ती युवतीको न्यायका लागि पनि अदालतमा मुद्दा चलिरहेको उनले जानकारी दिइन् । त्यस्ता घटनामा प्रायः भारतीयहरू संलग्न रहेका पाइएका उनको भनाइ छ । पौडेलले अहिले मानव बेचबिखन प्रविधिको पहुँचले सामाजिक सञ्जालबाट हुन थालेको, प्रविधिकै प्रयोग गरी भइरहेको शोषणलाई नयाँ शैलीको रूपमा व्याख्या गरिन् ।
मानव बेचबिखनमा पर्ने जोखिम हुँदाहुँदै पनि मानिसहरू जोखिम लिन तयार भएको देखिने र त्यसका पछाडि पारिवारिक विखण्डन एक मुख्य कारणका रूपमा देखिएको उनको भनाइ छ । ‘कसैको बाआमा छुट्टिएर तनावमा परेपछि जोखिम लिएर हिँडेका भेटिएको छ, कसैको पारिवारिक तनावले पनि जोखिम लिने बाध्यतामा पारेको देखिन्छ । अर्काेतिर गरिबी र महत्वाकांक्षाले पनि मानिसहरू मानव बेचबिखनको जोखिममा परिरहेका छन्,’ पौडेलले मिसन टुडेसँग भनिन् ।









प्रतिक्रिया दिनुहोस्