अव्यवस्थाको चपेटामा गोदावरीको गौशाला



गोदावरी (कैलाली) : कैलालीको गोदावरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरेको गौशाला हाल गम्भीर अव्यवस्थाको शिकार बनेको छ । गोदावरी नगरपालिका–७ मा चार महिनाअघि सञ्चालनमा ल्याइएको उक्त गौशाला क्षमताभन्दा अत्यधिक गाईगोरु राखिएपछि नियन्त्रणबाहिर पुगेको हो । उचित व्यवस्थापन, खानपान र हेरचाहको अभावमा गौशालाभित्र गाईगोरु मर्न थालेपछि आइतबार स्थानीयवासीले गेट खोलेर गाईगोरु बाहिर सडकमा छाडेका छन् । ५० वटा चौपाया अट्ने क्षमताको उक्त गौशालाको भदौ १० गते कृष्ण जन्माष्टमीका अवसरमा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले औपचारिक रूपमा उद्घाटन गरेका थिए । नगरपालिकाले करिब ५० लाख रूपैयाँ खर्चेर निर्माण गरेको गौशालामा गाई राख्ने संरचना, दाना तथा अन्य सामग्री भण्डारण गर्ने स्टोर र हेरालु बस्ने घरसमेत निर्माण गरिएको थियो । सुरुमा नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका रूपमा गौशालालाई प्रस्तुत गरे पनि सञ्चालनमा आएको केही महिनामै अवस्था नाजुक बन्दै गएको देखिन्छ ।

स्थानीयका अनुसार पछिल्लो समय उक्त गौशालामा एक हजारभन्दा बढी छाडा गाईगोरु राखिएको थियो । सीमित पूर्वाधार र जनशक्तिका बीच यति ठूलो सङ्ख्यामा गाईगोरु राखिँदा व्यवस्थापन असम्भव बनेको उनीहरूको भनाइ छ । क्षमताभन्दा धेरै गाईगोरु कोचाकोच राखिँदा न त पर्याप्त खाना उपलब्ध भयो, न त पानी र उपचारको व्यवस्था । चिसो बढेसँगै कमजोर गाईगोरु मर्न थालेपछि स्थानीयमा आक्रोश बढ्दै गयो । स्थानीयवासीले गौशालामा दैनिकजसो गाईगोरु मर्दा पनि सम्बन्धित निकायले समयमै चासो नदिएको आरोप लगाएका छन् । ‘गाईगोरुलाई संरक्षण गर्ने ठाउँ भनेर बनाइएको गौशालामै गाई मर्न थालेपछि हामी चुप लागेर बस्न सकेनौँ,’ एक स्थानीयले भने । यही आक्रोशका बीच आइतबार गौशालाको गेट खोल्दै गाईगोरु बाहिर छाडिएको हो ।
गौशाला समिति अध्यक्ष टीकाराम बमले आइतबार प्रमुख जिल्ला अधिकारी, नगरप्रमुखलगायत सरोकारवालाले गौशालाको अवलोकन गरी व्यवस्थापन सुधार्न निर्देशन दिएको जानकारी दिए । तर उक्त टोली फर्किएलगत्तै केही स्थानीयले गाईगोरु थुनिएर मर्न थालेको भन्दै गेट खोलेर बाहिर पठाएको उनले बताए । उनका अनुसार गौशालामा क्षमताभन्दा धेरै गाईगोरु राखिएकै कारण व्यवस्थापन हुन नसकेको हो ।

बमका अनुसार गौशालामा करिब १२०० भन्दा बढी गाईगोरु राखिएको थियो । हाल गेट खोलिएपछि अधिकांश गाईगोरु बाहिर निस्किएका छन् भने करिब २०० जति गाई अझै गौशालाभित्रै छन् । ‘गौशालाभित्र बढीमा सयवटा गाई मात्र अट्छन्,’ उनले भने, ‘बाँकी गाई खुला ठाउँमै राख्नुपरेको थियो ।’ गाईगोरु बाहिरिएपछि चारजना हेरालु पनि काम छाडेर घर फर्किएको उनले जानकारी दिए । गोलादेउ सामुदायिक वनका अध्यक्षसमेत रहेका बमले गोदावरीमा छाडा गाईगोरु व्यवस्थापनको समस्या लामो समयदेखि रहेको बताए । अघिल्लो नगरप्रमुखको कार्यकालमै गौशाला निर्माणको प्रस्ताव आएपछि आफूहरूले सामुदायिक वनको तर्फबाट जग्गा उपलब्ध गराएको उनको भनाइ छ । ‘नगरकै गाईगोरु व्यवस्थापन हुन्छ भन्ने सोच थियो,’ उनले भने, ‘तर १२ वटै वडाबाट अन्धाधुन्ध गाईगोरु ल्याइएपछि अवस्था नियन्त्रणबाहिर गयो ।’
स्थानीयका अनुसार पुस महिनाको कठ्याङ्ग्रिँदो चिसोमा पछिल्लो समय दैनिकजसो दर्जनौँ गाईगोरु मर्ने गरेका थिए । शनिबार मात्रै गौशालामा २५ वटा गाईगोरु मरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको चरम लापरबाही भन्दै चौतर्फी आलोचना सुरु भएको थियो । गौशाला संरक्षणको सट्टा गाईगोरु मर्ने थलो बनेको भन्दै नागरिक समाज, पशु अधिकारकर्मी र स्थानीयले कडा विरोध जनाएका थिए । विरोध चर्किएपछि आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकाय र स्थानीय प्रशासनको टोली गौशालामा पुगेको थियो । टोलीले अवस्था अवलोकन गरी व्यवस्थापन सुधार्न निर्देशन दिए पनि तत्काल समाधान नआएपछि स्थानीयले आफ्नै पहलमा गेट खोलेर गाईगोरु बाहिर छाडेका हुन् । त्यसपछि अत्तरिया बजार क्षेत्र र आसपासका सडकमा पुनः छाडा गाईगोरु देखिन थालेका छन् ।गोदावरी नगरपालिकामा विगत एक दशकदेखि नै छाडा चौपायाको समस्या रहँदै आएको छ । सडक दुर्घटना, बालीनाली नष्ट हुने र सर्वसाधारणलाई सास्ती हुने समस्या बारम्बार दोहोरिँदै आएको छ । यही समस्या समाधान गर्ने उद्देश्यले खोलिएको गौशाला नै अव्यवस्थित बनेपछि नगरपालिकाको योजना र कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ । पछिल्लो घटनाक्रमबारे नगरपालिकामा औपचारिक छलफल नभएको नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताए । उनका अनुसार अवस्था बुझेर आगामी दिनमा आवश्यक निर्णय लिने तयारी भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार