बाँके ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले वर्तमान सरकार भयरहित वातावरणमा निर्वाचन गराउन केन्दिीत रहेको बताएका छन् । बाँकेको कोहलपुरमा आइतबार किसानहरूसँग भेटघाट कार्यक्रममा बोल्दै मन्त्री परियारले शान्तिपूर्ण रूपमा निर्वाचनमा भाग लिन सबैमा आग्रह गर्दै निर्वाचनलाई भयरहित बताउन सबै लाग्नुपर्ने बताएका छन् ।
साथै उनले वर्तमान सरकार विशेष परिस्थितिमा गठित निर्वाचन केन्द्रित सरकार भएकाले किसानका समस्याहरू समाधान गर्न विभिन्न कार्यहरू गरिरहेको बताएका छन् । ‘उखु किसानले पाउनु पर्ने अनुदान पाउन नसक्दा समस्या भइरहेको छ,’ उनले भने, ‘उखु किसानले पाउनुपर्ने रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेकोछ ।’ यसका साथै उनले किसानले उत्पादित दूधको भुक्तानी रोकिएको अवस्थामा ४ महिनाको अवधिमा ६० करोड रकम भुक्तानी गरिएको बताएका छन् ।
पाउडर दूध उत्पादन गर्नमा आवश्यक कार्य भइरहेको बताउँदै कोहलपुरमा दूध पाउडर प्लान्ट स्थापना हुनेछ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको नजिकको सरकार स्थानीय सरकार भएको हुँदा संघीय सरकारले त्यही अनुसारको कार्य गरिरहेको बताएका छन् । साथै उनले किसानलाई विद्युत्मा सहुलियत दिनको लागि सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिँदै कृषि मिटरको अवधारणा ल्याउन लागेको बताए ।
‘सरकारले जैविक मल प्रवद्र्धन गर्न रासायनिक मलको अनुदान कटौती गर्ने लक्ष्यले लिइरहेको छ,’ उनले भने, ‘जनताको भावनाअनुसार मन्त्रालयले काम गरिरहेकाछ ।’ कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिइ विभिन्न कार्यहरू गरिरहेको बताउँदै किसानका माग सम्बोधन गर्न तीन तहकै सरकारबीच सहकार्य हुन आवश्यक रहेको बताइन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले कोहलपुर कृषिमा धेरै सम्भावना रहेको तर कृषिमा अनुदान प्राप्त मात्रमा उपलब्ध हुन नसकेको भन्दै संघीय सकार ध्यान दिन सुझाव दिएका छन् । यस्तै सो अवसरमा किसानहरू आफ्ना विभिन्न समस्याहरू मन्त्री परियारसमक्ष राखेका थिए । कोहलपुरका मौरीपालक किसान पुरमल बस्नेतले मौरीको संरक्षण चुनौतीपूर्ण रहेको बताउँदै नेपालमै उत्पादित महको बजारीकरण गर्न सरकारले विशेष नीति लिन आग्रह गरेका छन् ।
साथै कोहलपुर–२ का किसान मोहन रिजालले प्रदेश सरकारले दिने अनुदान प्रभावकारी हुनु पर्ने भन्दै च्याउ खेतीमा हुने बीमा प्रणालीलाई थप सुधार गर्न आवश्यक पहल गरिदिन आग्रहसमेत गरेका छन् । यस्तै कोहलपुर–१४ का किसान गोपाल गिरीले रासायनिक खेत पूर्णरूपमा बन्द गरि जैविक खेतका लागि सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।
साथै उनले मल समयमै किसानले प्राप्त गर्न नसकेको बताउँदै किसानलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । कोहलपुर–१० की किसान पम्फा शाहीले पछिल्लो समयमा मल र पानीको समस्या हुँदा सामूहिक रूपमा व्यावसायिक खेती गर्न समस्या आइरहेको बताइन्। कोहलपुर–५ कि किसान फुलकुमारी थारूले किसानले उत्पादन गरेको वस्तुको बजारीकरण स्थायी रूपमा हुनु पर्ने बताइन् । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीलगायत किसानहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्