नेपालगन्ज र कोहलपुुरमा आकासे पुल सपना : शिलान्यास र डीपीआरमै सीमित



बढ्दो यातायातको चाप र मानवीय जोखिमलाई मध्यनजर गरेर निर्माण गर्ने भनिएका आकासे पुल योजना वर्षौँदेखि अलपत्र छन् । नेपालगन्ज र कोहलपुरका आधा दर्जन बढी क्षेत्रमा निर्माण गर्ने भनिएका योजना घोषणा, डीपीआर र शिलान्यासमै सीमित भएका छन् । ती क्षेत्रमा आकासे पुल निर्माण गर्ने भनिए पनि अहिलेसम्म बन्ने नबन्ने अनिश्चित छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर(बाँके) ।

बाँके जिल्लाका प्रमुख दई ठूला सहरी क्षेत्र हुन् नेपालगन्ज र कोहलपुर । जहाँका प्रमुख सडक क्षेत्रमा बर्सेनि सवारीसाधन र नागरिकको चाप बढ्दो छ ।

बढ्दो यातायातको चाप र मानवीय जोखिमलाई मध्यनजर गरेर निर्माण गर्ने भनिएका आकासे पुल योजना वर्षौँदेखि अलपत्र छन् । नेपालगन्ज र कोहलपुरका आधा दर्जन बढी क्षेत्रमा निर्माण गर्ने भनिएका योजना घोषणा, डीपीआर र शिलान्यासमै सीमित भएका छन् । ती क्षेत्रमा आकासे पुल निर्माण गर्ने भनिए पनि अहिलेसम्म बन्ने नबन्ने अनिश्चित छ ।

निर्माण घोषणा गरे पनि आकासे पुल निर्माणमा सरोकारवाला निकायले ध्यान नदिँदा योजना अलपत्र अवस्थामा छन् । नेपालगन्ज र कोहलपुरका आधा दर्जन स्थानमा निर्माण गर्ने भनिएका आकासे पुल शिलान्यास र डीपीआरमै सीमित छन् । नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, कारकाँदो चोक र राँझा चोकमा पुल निर्माण गर्ने भनिएको थियो ।

यस्तै कोहलपुरका तीन स्थानमा आकासे पुल निर्माण गर्न स्थानीय सरकारले योजना अघि सारेको थियो । कोहलपुरका न्यूरोड, साझा चोक र हाईस्कुल चोकमा आकासे पुल निर्माण गर्ने भनिए पनि ती योजना घोषणामै सीमित मात्रै भएका छैनन् निर्माण हुन्छन् की हुँदैनन् भन्नेमा अनिश्चितता बढेको छ ।

नेपालगन्जको राँझा चोकमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले २०७९ साल भदौ ४ गते शिलान्यास गरेका थिए । शिलान्यास भएको दुई महिनापछि कात्तिक २८ गते आकासे पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । सडक डिभिजन कार्यालय नेपालगन्ज र डायनामिक कन्सट्रक्सन नामक निर्माण कम्पनीसँग सम्झौता गरेर नेपालगन्जका पाँच स्थानमा पुल निर्माण गर्ने भने पनि अझैसम्म कुनैपनि काम हुन सकेको छैन ।
राँझासहित नेपालगन्जको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र कारकाँदो चोकमा पुल निर्माणको लागि सम्झौता भएको हो । पुलहरू निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रूपैयाँमा लागतको सम्झौता भएको थियो ।

तर, नेपालगन्जमा आकासे पुल निर्माणको शिलान्यास गरेको चार वर्ष बितिसकेको छ । आकासे पुल निर्माणका विषयमा नेपालगन्ज उपमहानगरपालिका अहिलेसम्म बेखबर जस्तै छ । नेपालगन्ज उपममहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा आकासे पुल निर्माणसम्बन्धी स्थानीय सरकारको कुनै पनि कार्यक्रम नभएको बताउँछन् । उनी भन्छन्, ‘म नेपालगन्ज आएको धेरै भएको छैन । पुरानो योजना हो भन्ने सुनेको छु । अहिले नेपालगन्जमा आकासे पुल निर्माणसम्बन्धी कुनै पनि कार्यक्रम छैन ।’

यता, सडक डिभिजन कार्यालय नेपालगन्जले भने आकासे पुल निर्माणका लागि सम्झौता गरिएको कम्पनीसँग ठेक्का तोडिसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर रामसागर हरिजनका अनुसार तत्कालीन मन्त्रीको निर्देशनमा नेपालगन्जमा हतारमा आकासे पुल निर्माण गर्ने भनेर प्रक्रिया अघि बढाइएको थियो । बजेट विनियोजन भएर शिलान्याससमेत भए पनि त्यसपछि प्राविधिक समस्याका कारण प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।
इन्जिनियर हरिजनले भने, ‘चार–पाँच वर्षअघि योजना थियो । सम्झौतासमेत भयो । तर पछि आपसी सहमतिमा ठेक्का तोडिएको हो । अहिले कुनै पनि कार्यक्रम छैन ।’ आकासे पुल निर्माणको लागि प्राविधिक समस्या उत्पन्न हुनुका साथै पुल निर्माणको लागि सडकको चौडाइसमेत नपुग्दा योजना अघि बढ्न नसकेको उनले बताए ।

आकासे पुल निर्माणको लागि ठेक्का लगाउँदा बुटवलतिर निर्माण गरिएको आकासे पुलको साइज अनुसारको ठेक्का लगाइएको र पछि सडक नपुग भएपछि ठेक्का नै तोड्नुपर्ने अवस्था आएको इन्जिनियर हरिजनले मिसन टुडेलाई जानकारी दिए । पछिल्लो समय आकासे पुल निर्माणको लागि कुनै पनि निकायबाट माग नभएको र कार्यालयमा समेत त्यस्तो कुनै पनि कार्यक्रम नरहेको कार्यालयले जनाएको छ ।

कोहलपुरमा बजेट विनियोजन हुन्छ, हुँदैन कार्यान्वयन

नेपालगन्जका पाँच स्थानमा आकासे पुल निर्माण घोषणा र शिलान्यास गरेर अलपत्र पारिएको छ । यस्तै, कोहलपुरले नगर गौरवका आयोजनाका रूपमा अघि सारेको आकासे पुल निर्माण योजना नै अहिले बेवारिसे अवस्थामा छ ।
लुटबहादुर रावत नगरप्रमुख हुँदा कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७७–०७८ मै तीन स्थानमा आकासे पुल निर्माण गर्ने भन्दै १२ लाख रूपैयाँ लागतमा डीपीआर तयार पारिएको थियो ।

मानिसको ठूलो भीड लाग्ने र दुर्घटना हुने स्थानमा सहजताका लागि न्यूरोड, साझा चोक र हाईस्कुल क्षेत्रमा आकासे पुल निर्माण गर्ने भनेर बनाइएको डीपीआर अहिले अलपत्र अवस्थामा छ । तीनवटा पुल निर्माण गर्न कूल ६ करोड बजेट आवश्यक रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महताराका अनुसार न्यूरोड चोकमा आकासे पुल ६२ मिटर, साझा चोकमा ५० मिटर र हाईस्कुल चोक क्षेत्रमा ५२ मिटर लम्बाइको पुल निर्माण गर्ने डीपीआरमा उल्लेख छ । तीनैवटा पुल निर्माणका लागि एउटा पुलको लागि न्यूनतम १ करोड ७५ लाखदेखि २ करोडसम्म लागत लाग्ने अनुमान छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित नयाँ जनप्रतिनिधिले समेत आकासे पुल निर्माण योजनालाई निरन्तरता दिएका थिए । पूर्णप्रसाद आचार्य नगरप्रमुख निर्वाचित भएपछि पहिलो पटक कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा आकासे पुल निर्माण गर्ने नीतिलाई निरन्तरता दियो । नीति तथा कार्यक्रममा मुख्य सहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकासे पुल निर्माण गरिने उल्लेख गरिएको थियो । आकासे पुल निर्माण गर्ने भन्दै एकपटक साझा चोकमा प्राविधिकसहितको टोलीले नापजाँचसमेत गरेको थियो ।

त्यतिबेला कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुल निर्माणका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पाँच करोड रूपैयाँ माग गरेको बताएका थिए । इन्जिनियर महताराले पहिले पहिला डीपीआर निर्माण सम्पन्न भएको र डिभिजन सडकमा डीपीआर पठाइएको तर नगरपालिकाबाट कुनै प्रक्रिया अघि नबढेको बताए ।

कोहलपुर नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीले कार्यालयको कार्यक्षेत्रभित्र पर्ने स्थान न्यूरोडमा आकासे पुल निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनका अनुसार आकासे पुल निर्माणका लागि बजेट विनियोजन भए पनि हालसम्म कुनैपनि प्रक्रिया अघि बढेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार