सानो देश लघुताभास कि सम्मानको अनुभूति !



विष्णु पादुका

सानो कुरा सुन्दर हुन्छ । सूक्ष्म सौन्दर्यको संसारले भन्छ सानो कुरा सजाउन सजिलो हुन्छ । तर हामी सानोलाई हेलाँ होचो पार्दैमा सकिदै छौं ।
मानिसको आँखाले प्रायः ठूलो संरचना, भव्य महल, असामान्य आकारका वस्तुहरूमा सौन्दर्य खोज्ने गर्छ । तर वास्तवमा मनलाई छुने सुन्दरता प्रायः साना–साना कुरामै लुकेका हुन्छन् । सानो कुरा सुन्दर हुन्छ भन्ने उक्ति केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, प्रकृति र कलाको यथार्थ ऐना होइन र ? फूलका पात–पातमा गुलाफको टुप्पोमा परेको शीतबिन्दु, जसले सूर्योदयसँगै चम्केर जीवनको कविता सुनाएको हुन्छ ।चरा र कीराको प्वाँखको नाजुक पखेटा वा पुतलीको रङ्गीन जिउ जो माइक्रोस्कोपिक संरचनाले बनेको कला हुन्छ । सानोको सुन्दरता गजव छैन र ।
बालुवाका दानामा संसार छ । प्रत्येक बालुवा दाना एक सानो भूगर्भीय इतिहास बोकेर बसेको हुन्छ । उसो त ब्रह्माण्डमा यो धर्ती पनि एउटा सानो निलो गोलो मात्र त हो तर सुन्दर देखिन्छ । नेपाल एक हिमाल पहाड र तराईको मिलेको कलात्मक देश हो । हिमालयका उचाइ, पहाडी भिर–ढुंगा, र लमतन्न तराईको मैदान यी सबैले हाम्रो भूगोललाई अनौठो बनाएका छन्। तर यो विविधता र सुन्दरता सधैं सहज केन्द्रित विकासको लागि पर्याप्त हुँदैन। हाम्रो भूगोलले विकासका अनेक बाधा सिर्जना गर्छ । दुर्गम पहाडी क्षेत्र, अवरोधपूर्ण सडक पहुँच, हिमपात, भूक्षय, वर्षाको बाढी, भूकम्प जस्ता प्राकृतिक जोखिम र अव्यवस्थित पूर्वाधार ले गर्दा विकास र सेवाहरू सहज रूपमा देशभर पुगेको छैन। यहि भूगोलकै कारण, नेपालमा सामाजिक ,आर्थिक समानता स्थापनामा कठिनाई छ ।

दूरदराजका गाउँहरूमा शिक्षा, स्वास्थ्य, बजार र आधारभूत सुविधा पुग्नु कठिन छ । यसले सानो देश भएर मात्रै होइन । सानो भूगोल, जटिल भू–आकृति भएको भएर पीडा सिर्जना गरेको छ । यसलाई मलजल गरेर राजनीति गिजोलिएको अर्को पक्ष अझ बलियो छ । जसको चिरफार हुने प्रयत्न विभिन्न आन्दोलनहरूले देखाएकै छन् । जनसंख्या र सीमित स्रोतका साथै जनसंख्याको असन्तुलन र दबाब पनि सुन्दरता श्रीङ्गारको लागि जटिलता बनेर उभिएको छ । नेपालको जनसंख्या भूगोलको तुलनामा सानो होइन तर भूगोल र स्रोतहरूको सिमितताका कारण जनसंख्या र अवसरको असन्तुलन देखिन्छ। अधिकांश जनसंख्या कृषि र ग्रामीण क्षेत्रमा आधारित छन् । करिब ६६ प्रतिशत मानिस कृषिमा संलग्न छन् भनेर विभिन्न तथ्यांकले भन्छन् । तर त्यो तथ्यांक मित्थ्यांक हुँदै गएको छ । उपलब्ध खेतीयोग्य जमिन सीमित छ । प्रति व्यक्ति खेतीयोग्य जमिन विश्वऔसतको आधाभन्दा कम छ। यसले गर्दा कृषिजन्य उत्पादन र आत्मनिर्भरताको सम्भावना सीमित हुनु स्वभाविक छ। परिणामस्वरूप, धेरै परिवारहरु खेतीबाट पर्याप्त आम्दानी गर्न सक्दैनन् । खाद्यान्न, रोजगारी, स्वास्थ्य, शिक्षा जस्ता मूल आवश्यकता पूरा गर्न कठिनाइ हुन्छ । त्यसैगरी, ठूलो जनसंख्या आयस्रोत, जमिन, अवसर न्यून भएकाले युवा वर्ग उपयुक्त रोजगारी र आयको अभावमा विदेश पलायन हुन थाल्छन्। रेमिट्यान्समा आधारित अर्थतन्त्रले दीर्घकालीन आत्मनिर्भर विकासभन्दा तात्कालिक आवश्यकताको पछि नै छ हाल नेपाली समाज ।

उत्पादन र उपभोक्ता , आयात निर्यातको असन्तुलित आर्थिक संरचना अर्को चुनौती हो हाम्रो ।नेपालको अर्थतन्त्रमा कृषि, सेवा र उद्योग क्षेत्र छन्। तर औद्योगिक उत्पादन सीमित र कृषि उत्पादन अस्थिर भएको कारण देशले धेरै उपभोग्य वस्तुहरू चाहे खाद्यान्न होस्, उद्योगीक सामान होस्, निर्माण सामग्री होस् आयात गर्न बाध्य छ। केही प्रयास भए तापनि ठूलो दायरमा औद्योगिक संरचना अभाव र आर्थिक भौगोलिक तथा पूर्वाधारगत सीमितताका कारण पर्याप्त उत्पादन क्षमता वृद्धि हुन सकेको छैन । उच्च मूल्य र दैनन्दिन वस्तुहरूको अभाव बढ्दो छ । घरेलु उत्पादन पर्याप्त छैन । बजार आयातित वस्तुमा निर्भरता बढ्दो छ । मूल्य वृद्धिको चरम उच्च छ गति । स्थानीय उत्पादन र व्यवसाय कमजोर छन् । साना किसान वा किसानसमूह, स्थानीय कुटीर उद्योग वा हस्तकलाहरू सबै प्रतिस्पर्धात्मक बजारमा टिक्न सकेका छैनन् । यी हाम्रा धरातलिय यथार्थ हुन् ।जब उत्पादन कम, उद्योग सीमित, कृषिमा अस्थिरता र रोजगार सिर्जना न्यून हुन्छ त्यसले युवा जनशक्ति पलायन र बेरोजगारी दुबै समस्या जन्माउँछ। सानो अर्थतन्त्र ठूलो अपेक्षा र खर्च हाम्रो अर्को मूल समस्या हो ।नेपाल जस्तो सानो भूगोल र सीमित स्रोत भएको देशमा, जब स्वसम्मान, स्वाभिमान र सामूहिक अस्तित्वको सवाल उठ्छ। हामी छौं, हामी बाँचिरहेका छौं भन्ने आवाज सुन्न नपाउँदा, सानोपनको पीडा हुनु स्वभाविकै हो । असुरक्षा र अव्यक्त असन्तुष्टि पनि जन्माउने राजनीतिक अस्थिरता त छँदैछ ।

अर्कोतिर प्राकृतिक स्रोत र उत्पादन सीमित हुँदा, आफूले चाहेको आर्थिक स्वतन्त्रता र आधुनिकताको सपना अधुरा छन् आजको पुस्ताका । जब सिर्जनसिल युवाहरू विदेशिन बाध्य हुन्छन् दीर्घकालीन रचनात्मक र सृजनात्मक विकासको सम्भावना त घट्छ घट्छ । त्यसो हुँदा देश सानो भएरै के हुने रहछ त ? भन्ने प्रश्नले सताउने गर्छ बेलाबेला । र जवाफ दिनु पर्दा जो कोहि सोचनिय हुन्छ । तर सम्भावना मुक्त हुन सक्दैन देश । विवेक र योजना र देश समृद्द होस् भन्ने जिम्मेवारी जो कोहि माथि थपिन्छ। राजनीतिक नेतृत्वले यसैलाई मुलमन्त्र मान्नुपर्ने हो । नेपालका यी समस्याहरू भूगोल, जनसंख्या, स्रोत सीमितता, उत्पादन र उपभोक्ता असन्तुलनमा सानो हुनुको दोष मात्र होइन । यो सानोपन असन्तुलित व्यवस्था र बाह्य निर्भरता को महाजाल पनि हो। स्थानीय उत्पादन, कुटीर उद्योग, कृषि सुधार, जलस्रोत र जंगल , सरकार र नागरिक साझेदारीले सुरक्षित बनाउनु पर्दछ।युवा शक्ति विदेशिनुको सट्टा स्वदेशमै काम गर्ने स्थिति सिर्जना गर्न एक बृहत योजना बनाइनु पर्दछ। सानो भूगोलका आफ्नै सीमितता छन् तर सही सोच, साझा प्रयास र दीर्घकालीन दृढता भए त्यो सानो भूगोल नै हाम्रो पहिचान, हाम्रो अस्तित्व र हाम्रो गर्व बन्न सक्थ्यो । तर हामी माझ हीनताबोध रोपिएको छ गहिरोसँग । नेपालले आकारले होइन् विकास र सम्भावनामा ठुलो रूप बसाल्न सक्ने देश हुनुपर्ने हो । त्यो सपना सपनामात्र नबनाइ वास्तविकतामा रूपान्तरण गर्न हामी सबैले स–साना कदम मिलाएर अघि बढ्नुको विकल्प छैन । राज्यले एउटा दीर्घकालीन योजना कार्यान्वयनमा ल्याउन हतार भैसकेको छ ।

सौन्दर्य अनुभूतिको कुरा मात्र होइन । भोगाइको अनुभवले मात्रै त्यसकुराको पुष्ठि गर्छ । हामी भूगोल र जनसंख्यामा सानो हुनुको को महिमा बुझाउन सक्छौं । सूक्ष्म कुरामा साच्चिकै प्रेम हुन्छ । त्यो आदर्श कायम गर्न सके मात्र हाम्रो उन्नतिका ढोका खुल्ने छन् । समयको संवेदनशीलताको देशले बेलैमा बुझ्न आवश्यक छ । सानो हुनुका राम्रा पक्ष के के हुन सक्छन् त? हामी यो कोणबाट पनि हेर्न सक्छौं । ठूलो राष्ट्र, शक्ति र बजारको भीडमा प्रतिस्पर्धाको दौडमा हराएका कैयौं उदाहरण छन् ।संस्कृति र पहिचान समृद्ध हुँदाहुँदै पनि कति जनसंख्या भन्ने एकै प्रश्नले मूल्यांकनमा सिमित गरिदिने विश्व राजनीति र अर्थतन्त्रका खेलमा सानो देश निर्णायक हुन नसक्नु स्वभाविक हो । तर हाम्रा भाषा संस्कृति र सम्पदा संसारमै नपाइने निधि हुन् । जसलाई सानो नजरले आँक्नु आफै प्रती अविश्वास सिर्जना गर्नु हो । सानो ठाउँमा जन्मिएका सपनाहरू बाहिर ननिस्केँसम्म मनका भावजस्तै थन्किएर बस्छन्। आफ्नो पहिचान आफैँ बनाउनु पर्छ ।आवाज सानो भए पनि स्वर चाहिँ दृढ हुनुपर्छ भने झैं संख्या होइन, सारले मापन हुनुपर्छ हरेक कुरा ।आफुसँग भएका नजिकका कुरा नै गहिरा हुन्छन् भन्ने तथ्य बिर्सनु हुँदैन । आकाश ठुलो भए पनि साना–साना तारा नै चम्किन्छन् अँध्यारो रातमा ।

नेपाललाई सूक्ष्म सौन्दर्यको कोणबाट नियाल्न अबेर गर्नै हुन्न अब । संसारको नक्सामा नेपाल एक ससानो आकृति जस्तो देखिन्छ । न लाखौँ वर्ग किलोमिटरको भूभाग, न समुन्द्रको फैलावट, न त जनसंख्या प्रचुरता । तर यही सानोपनभित्र एउटा अद्भुत संसार बाँधिएको छ नि । भौगोलिक रूपले सानो भए पनि, अस्तित्वमा असामान्य रूपले विशाल छ भन्नेकुरा संसारमा देखाउनु पर्ने बेला हो यो । सम्भावनाको असीमित नक्सा कोर्ने अत्याधुनिक युग हो यो । सिमाना सानो हुँदैमा क्षितिजहरू साना हुँदैनन् ।हिमालहरू हिउँले मात्र होइन आस्थाले पनि शुभ्र छन् ।बुद्धको शान्ति यही जन्मिएको हो ।देवता र मान्छेको दूरी यहाँ थोरै पाइलाको फरकमा उभिएको छ । देशको सिंगो दर्शनलाई एउटा काखमा सजाउने बेला हो यो ।यति सानो, तर यति विशाल देश संसारमै दुर्लभ छ। यदि संसार एक विशाल पुस्तक हो भने नेपाल एउटा सानो परिच्छेद हो । सानो पानामा लेखिएको शब्दले अपरिमित कथा बनाउन सकिन्न र ? सानो हुनु कमजोर हुनु हुँदै होइन । सिमाना सानो हुनुले हाम्रो विचार संकुचित किन पार्नु ? हाम्रा विविधताको विशाल दृश्य प्रदर्शन पो गर्ने हो कि संसारलाई ! हरिया पहाडले बोकेको मानवियता जहाँ नदीहरूले संस्कृतिलाई निरन्तरता दिइरहेका छन् ।जहाँ इतिहासले भविष्यका लागि आशाको नक्सा कोरिरहेको छ । सकारात्मक हुन पो नसकेका हौं कि हामी ?

साना कुरा सुन्दर हुन्छन् र नेपाल त्यो सुन्दरताको जिउँदो प्रमाण हो ।संसार आकारका हिसाबले ठूलो र सानोमा बाँडिन्छ। तर असल मापन भने ऊ भित्र बसेको अर्थ, मूल्य र सम्मानमा हुन्छ। यद्यपि, वास्तविकता के हो भने सानो कुरा सुन्दर हुन्छ । जे जति भने पनि, सानोपनले भोग्नुपर्ने संघर्षको कथा भिन्न छ । त्यसको अर्थ बुझाउन कठिन छ तर असम्भव होइन । नत्र हामी आकर्षणको तारा बन्न सक्दैनथ्यौं । छिमेकी मुलुकको विसालताले थिचिएकै भए पनि संसारका धेरै देशको नजर यो मुलुकमा परेको छ । नजरहरू सधैं नकारात्मक मात्र हुँदैनन् । सानो देश, सानो आवाज, सानो बजार, सानो जनसंख्या, सानो माध्यम—यी सबै शब्दहरू शक्तिको तुलनामा कमजोर को संकेत जस्तै बनिदिन्छन्। परिणामस्वरूप, सानोको अस्तित्वलाई संसारले सुन्ने–देख्ने नजर कम हुन्छ। अन्तर्राष्ट्रिय राजनीति, व्यापार, प्रविधि, शिक्षा, मधुरो धुनजस्तै सानो देशहरूको आवाज कतै किचिएर हराउने खतरा पनि हुन्छ। त्यसैबाट जोगिएर अस्तित्व स्थापित पो गर्ने होला हामिले ।त्यसरी हेर्दा सानो हुनु भनेको अवसरभन्दा बढी प्रमाणित देखिनुपर्ने दबाब हो। सानोपनले जीवनलाई नजिक देख्न सिकाउँछ। विशालताको हुलमुलमा हराउने सम्भावना बढाउँछ । सानो ठाउँमा हरेक सम्बन्ध पर्खाल बनेर टिक्छन्।सानो ठाउँमा मान्छेको अनुहारहरू पहिचान बनेर देखिन्छन् ।हात मिलाउन अरू हात खोजिरहनु पर्दैन । सानो यो देशलाई अर्थशास्त्रको हिसाबले मात्र होइन अस्तित्वको सौन्दर्य बनाएर उभ्याउनु छ । हाम्रा साँस्कृतिक रंगहरू अति नै सघन छन् । हामिले त्यसको आयतनलाई खुन्चिन दिनु हुन्न ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार