परियोजना निरन्तरताका लागि सुझाव संकलन



सुर्खेत ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना निरन्तरताका लागि सुझाव संकलन गरिएको छ । वीरेन्द्रनगरमा शुक्रबार सुझाव संकलन तथा अन्तक्र्रिया कार्यक्रम गर्दै राष्ट्रिय कृषि आधुनिकीकरणले सरोकारवालाहरूसँग सुझाव मागेको हो । अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णालीको आवश्यकताको बारेमा विभिन्न रणनीतिहरू बनाएर काम गर्न सुझाव दिए ।

उनले भने, ‘कृषकहरूलाई आकर्षक गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ । कृषि निजी क्षेत्र हो । यसमा संलग्नहरूलाई सम्मानका साथ काम गर्ने वातावरण बनाउन आवश्यक छ ।’ मन्त्री शाहले कृषि आधुनिकीकरण परियोजनाले जुम्ला जिल्लाका किसानहरूलाई स्याउसम्बन्धी ज्ञान दिँदा थप नतिजा आउने सुझाव दिए । साथै उनले जलवायु परिवर्तन, रैथाने बालीको उत्पादन, बजारीकरण लगायतका विषयमा ध्यान दिनुपर्ने बताए।

अन्तक्र्रियामा सहभागी सरोकारवाला निकायहरूले माटो तथा जलवायु सम्बन्धिका मुद्दाहरूलाई ध्यानमा राखेर तीनै तहका सरकारकाले कृषिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नसके परिणाममुखी नतिजा आउने सुझाव दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार