कोहलपुर (बाँके) ।
कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ देखि हुने कोहलपुर महोत्सवका बारेमा कोहलपुरस्थित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरिएको छ । मंगलबार संघको आयोजनामा सम्पन्न सर्वपक्षीय बैठकमा महोत्सवको पूर्वतयारी र दलहरुको भूमिकाका विषयमा छलफल गरिएको हो ।
छलफलका क्रममा दलहरुले कोहलपुर महोत्सवलाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।बैठकमा आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले कोहलपुर महोत्सवलाई कोहलपुर चिनाउने उत्सवको रुपमा सञ्चालन गर्नका लागि राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै महोत्सवलाई शान्त तथा मर्यादित रुपमा सम्पन्न गर्नका लागि दलहरुको सहयोगको अपेक्षा गरिएको बताए ।
बैठकमा सहभागी दलका प्रतिनिधिहरुले महोत्सवलाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । कोहलपुुर क्षेत्रको आर्थिक गतिविधिलाई बढावा दिन महोत्सव सफल हुने उनीहरुले विश्वास व्यक्त गरेका थिए । ‘दिगो विकासको उत्सव’ भन्ने मूल नारासहित पुस ९ देखि १८ गतेसम्म कोहलपुर न्युरोडस्थित खुला मैदानमा महोत्सव सञ्चालन हुँदैछ । यस वर्षको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने यसअघि नै तय भइसकेको छ ।
महोत्सवमा विविध लघु, घरेलु तथा सानाठूला उद्योगव्यवसायका उत्पादन, हस्तकला तथा कृषि–पशुजन्य उत्पादन, विद्यालयस्तरीय शैक्षिक र विज्ञान प्रदर्शनी, सूचना–सञ्चार प्रविधिका नयाँ आयाम, लोकसांस्कृतिक प्रस्तुति, नयाँ प्रतिभा खोजी प्रतियोगिता, महिला विशेष कार्यक्रमका साथै स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरुको प्रस्तुती महोत्सवको आकर्षणका रुपमा रहनेछन् ।








प्रतिक्रिया दिनुहोस्