श्यामलाल पोखरेल । बुटवल ।
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले विदेशमा बसेर नेपालमा केही भएको छैन भन्ने भाष्य खडा नगर्न विदेशस्थित नेपालीलाई आग्रह गरेका छन् । उनले नेपालमा केही भएको छैन भन्न नमिल्ने बताउँदै भए-गरेका कामहरूलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् ।
शनिबार बुटवलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै गलत सन्देश दिने गरी गलत भाष्य खडा गर्न नपाइने बताए । ‘नेपालमा केही भएको छैन भन्ने होइन, केही राम्रै काम भएका छन्, केही गर्न बाँकी रहेका छन्, गर्नुपर्ने कामहरू हामीले गर्छौँ, तपाईँहरू सकारात्मक बन्नुस्,’ उनले भने ।
मन्त्री थापाले कला तथा लोक संस्कृतिको जर्गेना गर्नुपर्ने बताउँदै कलाकारिताको क्षेत्रबाट देशलाई योगदान दिन सकिने भएकाले लोक संस्कृतिको जर्गेना गर्नका लागि प्रदेश सरकारले नीति नियम बनाउने बताए । कलाकारितामा प्रवेश गरेको विकृत्तिलाई हटाउनु पर्ने भन्दै उनले घरका सबै सदस्यसँगै बसेर हेर्न सकिने खालका गीत र नृत्य बनाउन कलाकारहरूलाई आग्रह गरे ।
उनले कलाकार भएकै कारण आफू मन्त्री बनेको भन्दै कलाकार भएकै कारण आफूलाई चुनाव जित्न सजिलो भएको उल्लेख गरे । काँगे्रसका नेतासमेत रहेका मन्त्री थापाले आफूले सक्रिय राजनीति कहिलेसम्म गर्ने भन्नेबारे निश्चिित् नभएको बताउँदै आफू सधैँ कलाकारितामा रहिरहने बताए । निर्माताको रूपमा नौ वटा फिल्म बनाएको सुनाउँदै उनले अर्को फिल्म बनाउने योजनामा रहेको पनि जनाए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष सुवास केसीले लोक संस्कृति संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै कलाकारिताको क्षेत्रबाट देशलाई चिनाउन सकिने बताए । लोक कलाकारिता क्षेत्रमा देखिएका विकृत्ति हटाउनु पर्ने र त्यसका लागि देशविदेशमा रहेका सबै कलाकारहरूले अनुशासित भएर आफ्नो कर्ममा लाग्न उनले आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष दिपु मगरले साधारणसभा तथा अधिवेशनबाट सर्वसम्वतरूपमा नयाँ नेतृत्व चयन गरिने र त्यसका लागि सबैसँग छलफल भैरहेको जानकारी गराए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानका सल्लाहकार खेम हमाल, प्रतिष्ठानका लुम्बिनी प्रदेशका उपाध्यक्ष दामोदर बस्याल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकाल लगायतले कला संस्कृति देशको ठूलो सम्पत्तिकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीका अध्यक्ष दिपु मगरको अध्यक्षता र सचिव योगराज पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ५ विधाबाट ५ जनालाई नगदसहित सम्मानसमेत गरिएको थियो । लुम्बिनी लोक संस्कृति पुरस्कारबाट दाङका डा. गोविन्द आचार्यलाई नगद १० हजार र प्रमाणपत्रले सम्मान गरिएको छ । अग्रज स्रष्टा विधामा पाल्पाका मदनलाल श्रेष्ठलाई ७ हजार ५ सय र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
त्यस्तै वाद्यवादक विधामा बुटवलका नारायण थापा, लोक पत्रकारिता पुरस्कारबाट बुटवलका पत्रकार यमलाल भुसाल र नवप्रतिभा पुरस्कारबाट बर्दियाका बिनोद केसीलाई समान ५ हजारसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने साधारणसभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ सय ६५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया दिनुहोस्