बाँसगढी (बर्दिया) ।
बाँसगढी नगरभित्र रहेका आर्थिकरूपमा विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गर्न सुरु गरिएको छ । क्लोथ एण्ड फूड बैंक नेपालको सहकार्यमा बाँसगढी नगरपालिकाले नगरभित्र रहेका आर्थिकरूपमा विपन्न तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको हो । मंगलबार वडा नम्बर ५ को कार्यालयमा एक कार्यक्रमकाबीच नगरप्रमुख खड्कबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी, क्लोथ एण्ड फूड बैंकका अध्यक्ष कमल जिसी लगायतले न्यानो कपडा वितरणको सुरुवात गरेका हुन् ।
उक्त अवसरमा बोल्दै नगरप्रमुख खड्काले नगरभित्र रहेका आर्थिकरूपमा विपन्न र असहाय ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथमिकता दिएर न्यानो कपडा वितरणको काम सुरु गरिएको बताए । ‘आजबाट हामीले नगरभित्र रहेका आर्थिकरूपमा विपन्न र असहाय ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथमिकता दिएर न्यानो कपडा वितरणको काम थालेका छौँ,’ उनले भने, ‘वडाहरूको सिफारिसमा आर्थिकरूपमा विपन्न, असहाय तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिनेछ ।’
न्यानो कपडा वितरणको सुरुवात नगरपालिकाको वडा नम्बर ५ बाट भएपनि सबै वडामा रहेका असहाय तथा विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिने नगरप्रमुख खड्काले जानकारी दिए । पहिलो चरणमा करिब सात सय नागरिकलाई क्लोथ एण्ड फूड बैंकको सहकार्यमा न्यानो कपडा वितरण गर्न लागिएको उनले बताए । ‘अहिले हामीले करिब सात सय जनालाई न्यानो कपडा बाँड्नेछौँ,’ नगरप्रमुख खड्काले भने, ‘थप गरेर केही दिनमै आवश्यताको आधारमा एक हजार जनासम्मलाई वितरणसमेत गर्न सक्नेछौँ ।’
बाँसगढी नगरपालिकाले समेत आफ्नो तर्फबाट कम्बलसहित न्यानो कपडासमेत वितरण गर्ने नगर उपप्रमुख इन्दिरा चौधरीले जानकारी दिइन्। ‘प्रत्येक वर्ष नगरको बजेटबाट ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आएका छौँ,’ उनले भनिन्, ‘यस वर्षसमेत केही दिनमा नै गर्नेछौँ ।’ राष्ट्रिय अभियानको रूपमा रहेको क्लोथ एण्ड फूड बैंक सहकार्यमा नगरवासीलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसी लागेको उनले बताइन् ।
क्लोथ एण्ड फूड बैंकका अध्यक्ष कमल जिसीले बाँके बर्दियामै पहिलोपटक नै बाँसगढी नगरपालिकामा न्यानो कपडा वितरण गरिएको जानकारी दिए । ‘बाँके बर्दियामै पहिलोपटक बाँसगढीले हाम्रो संस्थासँग सहकार्य गर्न खोजेपछि हामीले पनि सहकार्य गरेका हौँ’ उनले भने । तीज तथा दसैँ तिहारमा समेत आवश्यकताअनुसार कपडा लिएर फेरी बाँसगढीमा आफूहरू आउने अध्यक्ष विसीले प्रतिबद्धतासमेत जनाए । हालसम्म ९८ वटा स्थानीय तहमा सहकार्य गरेर कपडा वितरण गरिएको उनले जानकारी दिए ।
कपडा बैंक स्थापना 
बाँसगढीमा कपडा बैंकको स्थापना गरिएको छ । मंगलबार बाँसगढी नगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । बजारमै रहेको शुभकामना मेडिकल परिसरमा राखिएको क्लोथ बक्सको नगरप्रमुख खड्कबहादुर खड्का, उपप्रमुख इन्दिरा चौधरी लगायतले उद्घाटन गरेका थिए ।
महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फूड बैंक बाँसगढीमा कपडा संकलन लागि क्लोथ बक्सको स्थापना गरी सुरुवात गरिएको क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए । उनका अनुसार बाँसगढी नगरपालिकासँगको सम्झौतापछि मंगलबारदेखि नै औपचारिक क्लोथ बैंक सञ्चालनमा आएको हो । पुराना कपडालाई रिफाइन गरी पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंंकको स्थापना गरिएको बाँसगढी नगरपालिकाले जनाएको छ ।
जनताले अहिले भौतिक मात्र नभएर मानवीय विकासको खोजी गर्दैआएको भन्दै नगरप्रमुख खड्काले बाँसगढीले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दैआएको बताए । उनले पुराना कपडा संकलन गर्न सहयोग गर्न आग्रह सबैलाई आग्रह गरे ।बाँसगढीमा राखिएका जस्ता क्लोथ बक्स देशभर २ सय ८ स्थानमा राखिएको क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए । पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब संकलन गर्ने र प्रशोधन गरेर आवश्यक व्यक्तिलाई निःशुल्क रूपमा कपडा दिने उद्देश्यले रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्