नेपालगन्ज ।
हाल नेपालगन्ज लगायतका सहरी क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकायहरूले गस्ती गरिरहेको देख्न सकिन्छ । बिहान र बेलुकाको समयमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले पैदल गस्ती गरिरहेका छन् । यस्तो गस्ती भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपश्चात् खलबलिएको सुरक्षाको प्रत्याभूतिको अवस्थालाई ध्यान दिएर भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार बिहान र बेलुकाको समयमा ‘एरिया डोमिनेशन’ नामक अभियानअन्तर्गत संयुक्त गस्ती भइरहेको हो । उनले उक्त गस्तीको उद्देश्य सर्वसाधारणमा सुरक्षाको अनुभूति दिलाउनु रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि जेनजी प्रदर्शनपश्चात् खलबलिएको सर्वसाधारणको मनोबल, सुरक्षाकर्मीको मनोबल र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन गस्ती गर्ने गरिएको बताए ।
‘प्रहरीलगायत सुरक्षाकर्मीको मनोबल बढाउनका लागि पनि उक्त गस्ती आन्दोलनयता निरन्तर भइरहेको छ,’ प्रजिअ तामाङले मिसन टुडेसँग भने । सरकारले भने निर्वाचनलाई लक्षित गरेर निर्वाचन मितिको एक महिना अघिदेखि औपचारिकरूपमा सेना परिचालन गर्ने निर्णय गरेको छ।
प्रजिअ तामाङका अनुसार अहिले निर्वाचन लक्षित गरेर सुरक्षा योजना पनि निर्माण गर्ने काम भइरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका अधिकृतहरू सम्मिलित सुरक्षा योजना तर्जुमा समिति निर्माण भइ अहिले क्रियाशील रहेको उनले बताए । करिब एक हप्ताभित्रै उक्त योजना निर्माण गरी माथि पठाइने तामाङले जानकारी दिए । प्रजिअ तामाङले अहिलेपनि मतदान केन्द्रको अनुगमन र निरीक्षण तथा सुरक्षा स्थितिको सूक्ष्म विश्लेषको काम निरन्तर चलिरहेको जानकारी दिए ।शान्त र भयरहित निर्वाचनका लागि प्रशासन र सुरक्षा निकायले काम सुरु गरिसकेको उनको भनाइ छ ।
प्रहरीको भ्यान २४सैँ घण्टा अलर्टमा
कुनैपनि अवाञ्छित गतिविधि हुन नदिन बाँके प्रहरीले नेपालगन्जमा एउटा भ्यान २४ घण्टा अलर्टमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले वीपी चोकमा रहनेगरी अलर्टमा राखिएको उक्त भ्यानले कुनैपनि घटना भएमा तुरुन्त प्रहरीको उपस्थिति रहनेगरी व्यवस्था गरिएको बताए ।
‘कसैले पनि शान्ति सुरक्षा खलबल्याउने मनस्थिति नबनाउँदा हुन्छ । हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ । २४सैँ घण्टा उक्त भ्यानमा प्रहरी खटिएका हुन्छन् । हामीलाई खबर आउनेबित्तिकै घटनास्थलमा प्रहरी पुग्छ,’ जिसीले भने । उनले जेनजीको प्रदर्शनका क्रममा प्रहरीकासमेत गाडीहरू जलाइएकोमा उक्त भ्यान बाँकेबाट हेडक्वार्टरमा लगिएकोमा फिर्ता ल्याएर २४सैँ घण्टा तैनाथ रहनेगरी वीपी चोकमा खटाइएको बताए । ‘उक्त भ्यान र प्रहरी टोली घटनामा मात्रै फोकस भएर बसेको छ । कुनै अवाञ्छित घटना भएमा १०० मा हामीलाई फोन गर्नुस्, तुरुन्त प्रहरी आइपुग्छ,’ जिसीले भने ।
भन्सार छलीका सामान बरामद
बाँके प्रहरीले अवैधरूपमा भन्सार छली ल्याएका ६ लाख ७७ हजार बढी मूल्यका सामानहरू बरामद गरेको छ । नेपालगन्जका विभिन्न स्थानबाट ती सामानहरू बरामद गरिएका प्रहरीले जानकारी दिएको छ । बरामद गरिएका सामानहरूमा लत्ताकपडा, पेय पदार्थ, मोटर पार्टस्, चिनी, खाद्यान्नसमेत रहेका छन् ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए । डीएसपी पातलीले प्रहरीले भन्सार छली रोक्न कडा निगरानी गरिरहेको बताए ।








प्रतिक्रिया दिनुहोस्