अन्यौलताको मनस्थितिमा नीजि क्षेत्र



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बुटवलमा हस्पिटालिटीसम्बन्धी तालिम सञ्चालन गर्दै आएको अरोमा हस्पिटालिटी प्रालिले विदेश गएर आयआर्जनका साथै सीप सिकेर स्वदेशमा आइ व्यवसाय सञ्चालन गर्नसक्ने गरी तयार गरिएको हस्पिटालिटीसम्बन्धी कोर्सहरूको तालिम दिन्छ । तर, प्रशिक्षण लिन आउने अधिकांश नवयुवाहरूलाई स्वदेश फर्किनुपर्छ भनेर भन्दा नाक खुम्च्याएको अनुभूति प्रालिका सञ्चालक रुपेश बस्याललाई छ ।

त्यसैले उनले प्रशिक्षार्थीलाई आकर्षण गर्न स्वदेश फर्किने भन्दा पनि उतै बसेर भिसा पाउन सजिलो हुने विशेषताको प्रचार गरिरहनुपरेको छ । जेनजी पुस्ताका नवयुवाहरूले अगुवाइ गरेको पछिल्लो विद्रोहपश्चात् पनि सीप सिकेर स्वदेशमै व्यवसाय गर्ने सोचतर्फ चिन्तन गर्न थालेको बस्याललाई रत्तिभर पनि अनुभूति छैन । बस्याल भन्छन्, ‘सीप सिकेर स्वदेशमै व्यवसाय सुरु गर्ने त परै जाओस् फर्केर स्वदेश आउने कल्पनासमेत गर्न चाहन्नन् उनीहरू । उनीहरूसँग कुरा गर्दा पछिल्लो आन्दोलनपछि पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने भरोसा जागेको देखिन्न ।’

बस्यालले कोरोना महामारीका कारण थलिएको सहरको आर्थिक क्षेत्र विस्तारै चलायमान हुनै लागेका बेला भएको विद्रोह र त्यसपछि उत्पन्न अन्यौलताले पुनः आर्थिक वातावरण सुस्ताएको बताए । ‘नयाँ लगानी गर्न कसैले पनि हिम्मत गरिरहेको छैन । बैंकका कर्मचारीहरू यतिखेर ऋणका लागि व्यवसायीहरूलाई फकाउन मिहिनेत गरिरहेका छन् । तर ऋण लिनेहरू कोही नभएर निराश छन्,’ बस्यालले भने ।नेपालगन्जका रेष्टुरेन्टलगायतका व्यवसायमा प्रगति गरिरहेका युवा व्यवसायी डम्मर चन्द पनि अहिले लगानीको वातावरण नरहेको धेरै व्यवसायीहरूको बुझाइ रहेको बताउँछन् ।

उनले भने, ‘बजारमा मानिसहरूको फ्लो रोकिएको जस्तो भएको छ । केही नयाँ व्यवसायमा लगानी गरौँ भन्ने हो भने अहिले के हुने हो भन्ने अन्यौलता छ । बैंकले पैसा लग भन्दा पनि लिन सक्ने अवस्था छैन ।’ चन्दले आन्दोलनका बेला व्यवसायमाथि आक्रमण हुनु, प्रतिफल सुनिश्चित हुने वातावरण नहुनु र राज्यव्यवस्थामा अनिश्चितता हुनुले व्यवसायीहरू सबैभन्दा अन्यौलतामा रहेका बताए । नेपालगन्ज उद्योगा वाणिज्य संघका प्रवक्तासमेत रहेका चन्दले मिसन टुडेसँग भने, ‘व्यवसायीहरूमा आज के हुन्छ, भोलि के हुन्छ, भन्ने चिन्ता र अन्यौलता छ ।’

बस्याल र चन्दको जस्तै अनुभूति छ लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको पनि ।ठकुरीले अहिले व्यवसायीहरू ऋण लिएर लगानी गर्नेभन्दा पनि पुरानो ऋण चुक्ता गर्नेतर्फ ध्यान दिइरहेको बताए । ‘अझै देशमा के हुने हो भन्ने यकिन भइसकेको छैन । त्यसैमाथि हिजो राष्ट्र बैंकले उच्च ब्याजदर हुँदा कुनै नियमन गर्न सकेन । अहिले ब्याजदर निकै कम भनेपनि व्यवसायीहरूले भविष्यमा पनि यही कायम रहन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन् । जबसम्म स्थिर ब्याजदर लागू हुँदैन्, तबसम्म लगानीकर्ताहरू उत्साहित हुने अवस्था देखिँदैन,’ ठकुरीले भने ।

देउखुरी क्षेत्रमा कृषिका साथै हस्पिटालिटी क्षेत्रमा लगानीका उच्च सम्भावना रहेपनि त्यसमा पनि लगानीकर्ताहरू निकै कम आइरहेका उनले बताए । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव रामप्रसाद जैसी (राजु) यसअघि बैंकहरूले ब्याजदरमा गरेको अस्वस्थ प्रतिस्पर्धा र त्यसलाई राष्ट्र बैंकले नियमन गर्न नसक्नुको परिणाम अहिलेको आर्थिक सिथिलता रहेको र त्यसैमाथि पछिल्लो आन्दोलनले आगोमा घिउ थप्ने काम गरेको बताए ।

उनले भने, ‘हिजो बढी ब्याजदर दिने प्रतिस्पर्धामा नागरिकबाट निक्षेप संकलन गरे । लगानीकर्तालाई १६ प्रतिशतसम्म ब्याजदर पु¥याइयो । अहिले चार प्रतिशतमा ब्याजदर छ । यति धेरै ठूलो उतारचढाव हुँदा पनि राष्ट्र बैंकले नियमनको काम गरेन । अहिले आन्दोलनले अन्यौलता थपेका बेला व्यवसायीहरू लगानीका लागि ऋण लिनेभन्दा पनि भएको ऋण तिरेर भइरहेको व्यवसायलाई बचाइराख्ने प्रयासमा मात्रै छन् ।’

सुदूरपश्चिमको राजधानी क्षेत्र अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान महासचिव शंकरबहादुर खड्काले पनि हाल नयाँ लगानीकर्ताहरू आउने क्रम कम भएको बताए । एग्रोभेट व्यवसायी रहेका खड्काले त्यहाँको स्थिति बताउँदै भने, ‘यस क्षेत्रमा कृषिको ठूलो सम्भावना छ । तर, खेतीयोग्य जमिन सबै प्लटिङ भएर टुक्राटुक्रा भइसक्यो । कसैले कृषिका लागि एकमुष्ट पाँच बिघा जमिन खोज्यो भने पाउन मुस्किल हुने अवस्था छ ।’ खड्काले पनि जेनजी विद्रोहपछि व्यावसायिक वातावरणमा अन्यौलता छाएकोले चुनाव भएर देशले निकास नपाएसम्म अहिलेको स्थिति नसुध्रिने आशंका व्यक्त गरे ।

बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष सुष्मा भण्डारी बर्दियामा लामो समयदेखि व्यवसाय क्षेत्र सीमाबाट हुने तस्करी तथा उपभोक्ताको सीमापार किनमेलका कारण समस्यामा रहेकोमा त्यो अवस्था अझै नसुध्रिएको बताउँछिन् । जेनजी विद्रोहपछि तस्करी नियन्त्रण हुने र सीमा नाकामा आवश्यक कडाइ हुने अपेक्षा रहेपनि त्यसो हुन नसकेकोले व्यवसायीहरूमा कुनै उत्साह नरहेको बताउँछिन् । ‘अहिले पनि सुरक्षा निकायको मिलोमतोमा तस्करी हुन्छ भनिन्छ । ठूलो कुरामा सुधार नआए पनि यस्ता विषयमा त केही सुधार ल्याउन सकिन्थ्यो नि । केही पनि सुधार नदेखिँदा हामी कसरी उत्साहित हुने ?’ भण्डारीले भनिन् ।

उद्योग वाणिज्य संघ–भेरी, सुर्खेतका अध्यक्ष सोमराज ढकालले पनि अहिले व्यावसायिक क्षेत्र रक्षात्मक र अन्यौलको अवस्थामा रहेको बताए । उनले राज्यले लगानीयोग्य वातावरण बनाउन नसकेको बताए । ढकालले भने, ‘अस्तिको आन्दोलनमा हाम्रा थुप्रै व्यवसायी साथीहरूको सम्पत्तिमा आगजनी र तोडफोड भयो । राज्यले यसमा कुनै जिम्मेवारी लिएन । अब लगानीकर्ताहरू लगानी गर्न हिचकिचाइरहेका छन्,’ उनले भने । अहिलेको भन्सारसम्बन्धी अव्यवहारिक नियमहरूले पनि नेपाली व्यवसायीहरू निरुत्साहित भइरहेका बताए ।

मुद्रण व्यवसायीसमेत रहेका ढकालले भने, ‘उदाहरणका लागि यदि हामीले क्यालेण्डर सीमापारी गएर छापेर ल्याउँदा भन्सार जम्मा चार प्रतिशत छ । यदि नेपालमै विदेशी कागज ल्याएर छाप्यौँ भने सबै गरेर करिब ५१ प्रतिशत कर तिर्नुपर्छ । यस्तोमा यहीँ उद्योग चलाउन लगानी गर्न कसरी उत्साहित हुन सकिन्छ ।’ यसका साथै सरकारले औद्योगिक पूर्वाधार निर्माण नगरेका कारण पनि नयाँ उद्योगमा लगानी हुने सम्भावना कम रहेको उनले बताए ।

कर्णाली क्षेत्रमा पर्यटन उद्योगमा लगानीकर्ताहरू बढ्ने क्रममा रहेको अवस्थामा उत्पन्न पछिल्लो राजनीतिक अन्यौलताले त्यसलाई पनि सिथिल बनाएको उनको भनाइ छ । व्यवसायीहरूले अहिलेको अन्यौलता चिर्न राजनीतिक संक्रमणलाई निर्वाचनबाट निकास दिनुपर्ने, आन्दोलनका बेला व्यावसायिक क्षेत्रको सुरक्षालाई प्राथमिकता दिनुपर्ने, स्थिर ब्याजदर तथा औद्योगिक पूर्वाधारको व्यवस्थापनतर्फ सरकार लाग्नुपर्ने बताएका छन् ।

युवा व्यवसायी चन्दले भने, ‘अहिलेको आवश्यकता शान्तिपूर्ण निर्वाचन हो । तर स्थिति हेर्दा शान्तिपूर्ण निर्वाचन हुने अवस्था पनि देखिँदैन । सर्वपक्षीय सहमतिसहित शान्तिपूर्ण निर्वाचनतर्फ जानु नै अहिलेको सबैभन्दा उत्तम निकास हो भन्ने मलाइ लाग्छ । चुनाव हुन दिन्नौँ भन्दा मन चसक्क हुन्छ ।’

कमलजंगसिंह ठकुरी
अध्यक्ष, देउखुरी उद्योग वाणिज्य संघ

अहिले व्यवसायीहरू ऋण लिएर लगानी गर्नेभन्दा पनि पुरानो ऋण चुक्ता गर्नेतर्फ ध्यान दिइरहेका छन् । देउखुरी क्षेत्र प्रदेशको राजधानी पनि हो । यहाँका लगानीका थुप्रै अवसरहरू पनि छन् । मुख्यगरी कृषिका साथै हस्पिटालिटी क्षेत्रमा लगानीका उच्च सम्भावना रहेपनि त्यसमा पनि लगानीकर्ताहरू निकै कम आइरहेका छन् । लगानीको वातावरण बन्न देशको राजनीतिक स्थिरता आवश्यक छ । अहिलेसम्म पनि देश कुन दिशामा जान्छ भन्ने यकिन भइसकेको छैन । यतिबेला व्यवसायीहरू अन्यौलमा हुनु स्वभाविक हो । तर, निर्वाचनमार्फत देशले निकास पाएमा भविष्य राम्रो पनि हुनसक्छ ।


सोमराज ढकाल
अध्यक्ष, उद्योग वाणिज्य संघ–भेरी (सुर्खेत)

अहिले व्यावसायिक क्षेत्र रक्षात्मक र अन्यौलको अवस्थामा छ । राज्यले लगानीयोग्य वातावरण बनाउन सकेन । अस्तिको आन्दोलनमा हाम्रा थुप्रै व्यवसायी साथीहरूको सम्पत्तिमा आगजनी र तोडफोड भयो । राज्यले यसमा कुनै जिम्मेवारी लिएन । अब लगानीकर्ताहरू लगानी गर्न हिचकिचाइरहेका छन् ।भन्सारका कतिपय नियमहरू पनि अव्यवहारिक छन् । अर्काेतिर सरकारले औद्योगिक पूर्वाधार पनि निर्माण गर्न सकेको छैन । राजनीतिकरूपले स्थायित्वका लागि अब कम्तिमा पाँच वर्ष सरकार चल्ने खालको मोडेल अपनाउनुपर्छ । व्यवसायिक वातावरण बनाउने र उत्पादन क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ ।

रामप्रसाद जैसी (राजु)
महासचिव, सुर्खेत उद्योग वाणिज्य संघ

अहिले बैंकहरूमा पैसा थुप्रिनुको कारण कुनैबेला बैंकहरूले गरेको अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकले आँखा चिम्लिएर बसेको परिणम हो । हिजो बढी ब्याजदर दिने प्रतिस्पर्धामा नागरिकबाट निक्षेप संकलन गरे । लगानीकर्तालाई १६ प्रतिशतसम्म ब्याजदर पु¥याइयो । अहिले चार प्रतिशतमा ब्याजदर छ । अहिले आन्दोलनले अन्यौलता थपेका बेला व्यवसायीहरू लगानीका लागि ऋण लिनेभन्दा पनि भएको ऋण तिरेर भइरहेको व्यवसायलाई बचाइराख्ने प्रयासमा मात्रै छन् । अहिले राजनीतिक अनिश्चितता छ । सबै पक्षको प्रयास देशलाई शान्तिपूर्ण निर्वाचनतर्फ लैजाने हुनुपर्छ ।

डम्मर चन्द
युवा व्यवसायी, नेपालगन्ज

बजारमा मानिसहरूको फ्लो रोकिएको जस्तो भएको छ । केही नयाँ व्यवसायमा लगानी गरौँ भन्ने हो भने अहिले के हुने हो भन्ने अन्यौलता छ । आन्दोलनका बेला व्यवायमाथि आक्रमण हुनु, प्रतिफल सुनिश्चित हुने वातावरण नहुनु र राज्यव्यवस्थामा अनिश्चितता हुनुले व्यवसायीहरू सबैभन्दा अन्यौलतामा छन् । अहिलेको आवश्यकता शान्तिपूर्ण निर्वाचन हो । तर स्थिति हेर्दा शान्तिपूर्ण निर्वाचन हुने अवस्था पनि देखिँदैन । सर्वपक्षीय सहमतिसहित शान्तिपूर्ण निर्वाचनतर्फ जानु नै अहिलेको सबैभन्दा उत्तम निकास हो भन्ने मलाई लाग्छ । चुनाव हुन दिन्नौँ भन्दा मन चसक्क हुन्छ ।

रुपेश बस्याल
युवा व्यवसायी, बुटवल

नयाँ लगानी गर्न कसैले पनि हिम्मत गरिरहेको छैन । बैंकका कर्मचारीहरू यतिखेर ऋणका लागि व्यवसायीहरूलाई फकाउन मिहिनेत गरिरहेका छन् । तर, ऋण लिनेहरू कोही नभएर निराश छन् । हामीले विदेश गएर आयआर्जनका साथै सीप सिकेर स्वदेशमा आइ व्यवसाय सञ्चालन गर्न सक्ने गरी तयार गरिएको हस्पिटालिटीसम्बन्धी कोर्सहरूको तालिम दिन्छौँ ।
तर, सीप सिकेर स्वदेशमै व्यवसाय सुरु गर्ने त परै जाओस् फर्केर स्वदेश आउने कल्पनासमेत गर्न चाहन्नन् उनीहरू । उनीहरूसँग कुरा गर्दा पछिल्लो आन्दोलनपछि पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने भरोसा जागेको देखिन्न ।

शंकरबहादुर खड्का
निवर्तमान महासचिव, अत्तरिया उद्योग वाणिज्य संघ

नयाँ लगानीकर्ताहरू ढुक्क भएर तयार हुने अवस्था छैन । बैंकहरूले अहिले पैसा लग भन्दा पनि कोही तयार छैनन् । लगानी गरेर त्यसको प्रतिफल आउने हो कि होइन, फेरि आन्दोलन हुने हो कि भन्ने आशंका छ । यस क्षेत्रमा कृषिको ठूलो सम्भावना भएपनि खेतीयोग्य जमिन सबै प्लटिङ भएर टुक्राटुक्रा भइसक्यो । जेनजीको आन्दोलनपछि व्यावसायिक वातावरणमा झनै अन्यौलता छाएको देखिन्छ । चुनाव भएर देशले निकास नपाएसम्म अहिलेको स्थिति सुध्रिने देखिन्न । आन्दोलनका बेला व्यावसायिक क्षेत्रलाई नै निशाना बनाउने गरिन्छ । अबदेखि त्यसो नहुने ग्यारेन्टी राज्यले गर्नुपर्छ ।

सुष्मा भण्डारी
वरिष्ठ उपाध्यक्ष, बर्दिया उद्योग वाणिज्य संघ
बर्दियामा लामो समयदेखि व्यवसाय क्षेत्र सीमाबाट हुने तस्करी तथा उपभोक्ताको सीमापार किनमेलका कारण समस्यामा छन् । तस्करीले गर्दा व्यवसायीहरू उठ्नै नसक्ने स्थिति छ । त्यसैले व्यवसायीहरूमा कुनै उत्साह छैन । अहिले पनि सुरक्षा निकायको मिलोमतोमा तस्करी हुन्छ भनिन्छ ।
ठूलो कुरामा सुधार नआए पनि यस्ता विषयमा त केही सुधार ल्याउन सकिन्थ्यो नि । केही पनि सुधार नदेखिँदा हामी कसरी उत्साहित हुने ? आन्दोलनका बेला व्यवसायीहरूमाथि पनि आक्रमण भयो । अहिले पनि के हुन्छ भन्ने यकिन भइसकेको छैन । अब सबै मिलेर देशलाई निकास दिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार