पीडितले राहत पाए, समस्याग्रस्त बाघ अझै भेटिएन



कोहलपुर (बाँके) ।

बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी–९ गुरुवागाउँका इन्द्रबहादुर खत्रीको निधन भएको एक महिना पुगेको छ । कात्तिक ८ गते गाउँ नजिकैको रिम्ना सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट ४० वर्षीय खत्रीको ज्यान गएको थियो । त्यसदिन खत्री सदाझैँ वनमा घाँस काट्न निस्किएका थिए । दिउँसो घरबाट निस्किएका खत्री राति अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गरेका थिए।

प्रहरीसहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा कात्तिक ९ गते उनको शव छेदविच्छेद अवस्थामा भेटिएको थियो । घाँस काटेर राखेको डोको र चप्पल एक स्थानमा, शरीर, टाउको तथा खट्टा छुट्टिएको अवस्थामा भएको अवस्थामा खत्रीको शव भेटिएको थियो । तर, खत्रीलाई आक्रमण गर्ने समस्याग्रस्त बाघ अझै नियन्त्रणमा आउन सकेको छैन् । एक महिना बितिसक्दासमेत समस्याग्रस्त बाघ नियन्त्रणमा नआउँदा गुरुवागाउँबासी अझै त्रासमै छन् ।

यता बाघ नियन्त्रणको प्रयास गरिरहेको बाँके राष्ट्रिय निकुञ्जले भने बाघ अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले मानिसको ज्यान लिएको बाघलाई अझै नियन्त्रणमा लिन नसकिएको बताए । उनका अनुसार निकुञ्जले सम्भव हुने सबै प्रयास गरिरहेको छ । बाघ नियन्त्रणको लागि निकुञ्जले प्रविधि, मानवीय जनशक्ति र हात्तीको प्रयोग गरिरहेको छ । बाघ नियन्त्रणको लागि घटना भएको क्षेत्रमा ५ सय देखि १ किलोमिटर क्षेत्रको फरकमा ९ वटा क्यामरा जडान गरिएको छ ।

निकुञ्जका जनशक्ति, नेपाली सेनाका साथै पाँच वटा हात्तीसहित बाघ खोजीकार्य जारी रहेको सूचना अधिकारी पंगेनीको भनाइ छ । दैनिक १५ जनाले ड्युटी गरिरहेका छन् । थप दुई हात्ती थप गरेर जनशक्तिसमेत थपिएका छन्, बाघ नियन्त्रणका लागि । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै सूचना अधिकारी पंगेनीले बाघ अहिलेसम्म एकपटक सीसीटीभी क्यामरामा देखिएको बताए । दुई साताअघि क्यामरामा देखिएको उनले बताए ।

‘बाघ अझै भेटिएको छैन । हामीले आफ्नोतर्फबाट प्रयास गरिरहेका छौँ । एकपटक क्यामरामा देखिएको थियो । तर एउटै ठाउँमा नबस्ने र डुलिरहने भएकोले डार्ट गर्न सकिएको छैन ।’ बाघ नियन्त्रणको प्रयास जारी रहेको र पीडित पक्षलाई राहत वितरण गरिएको उनले बताए । बाघको आक्रमणमा परेर ज्यान गुमाएका खत्रीका परिवारलाई दश लाख राहत प्रदान गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार