खजुरा (बाँके) ।
बाँकेको खजुरामा विद्यालयका शिक्षक तथा विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वस्थ जीवनशैली, स्वस्थकर खानपान तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण गरिएको छ । खजुरा गाउँपालिका अन्तर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा भएको अभिमुखीकरणमा अग्र्यानिक खानेकुरालाई विशेष स्थान दिनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांशले खानपिनको तालिका मिलाउन नसक्नाले धेरै रोगको सिकार बन्न परिरहेको गुनासो गरेका थिए । अभिमुखीकरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले अग्र्यानिक खानपान, स्वस्थ जीवनशैली बनाउनुपर्नेमा जोड दिए । उनले निरोगी बन्न व्यायामदेखि खानपानमा विशेष ध्यान पु¥याउन जरुरी रहेको उल्लेख गरे ।
खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले खजुरामा दैनिकजसो जटिल बिरामीहरू सिफारिस तथा सहयोगका लागि आउने गरेको बताइन् ।विद्यालयका शिक्षकहरूलाई स्वस्थ जीवनशैली सम्बन्धी जानकारी प्रदान गरेपछि विद्यार्थीमाझ छिटो सन्देश पुग्ने उनले उल्लेख गरिन् । खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीले आयुर्वेद सेवा दिन थप योजना जरुरी रहेको उल्लेख गरेका थिए ।
सामाजिक विकास संयोजक कृष्णा पोखरेलले जटिल रोगहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा खानपिनमा विशेष ध्यान दिन जरुरी रहेको बताइन् । खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अनिश रुचालले पछिल्ला दिनहरूमा खानपानको गडबढीका कारण धेरै बिरामी हुने गरेको बताउँदै दैनिक रुटिङ नै बनाएर स्वस्थ्य जीवनशैली अपनाउन अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण आयुर्वेद शाखाका प्रमुख किरण खनालले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्