
नेपालगन्ज ।
नेकपा एमाले बाँकेले नवयुवाहरूसँग सार्थक संवादका लागि भनेर विभिन्न कार्यक्रमहरू गरिने जानकारी दिएको छ । एमाले बाँकेले कात्तिक १५ र १६ गते पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकबाट पारित कार्यक्रम पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । सोमबार एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले आज कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्मका लागि भनेर विविध कार्यक्रमहरू सार्वजनिक गरेका हुन् । एमाले बाँकेको प्रेस विज्ञप्तिमा जेनजी नभनी नवयुवा भनेर सम्बोधन गरिएको छ ।
एमालेले तय गरेको कार्यक्रमअनुसार आज कात्तिक १८ गते नवयुवासँग सार्थक संवादका लागि वक्ताहरूलाई अभिमुखीकरण गर्ने, कात्तिक १९ गते जिल्लाका आठै पालिकाको बैठक आयोजना गर्ने, कात्तिक २२ गते वडामा युवाहरूसँग सार्थक संवाद गर्ने, कात्तिक २४ गते आठै स्थानीय तहमा नवयुवासँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी कात्तिक २९ गते नेपालगन्जमा जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते ढालिएका विपी कोइराला, पुष्पलाल र गणेशमान सिंहको शालिक पुनस्र्थापना गरिने भनिएको छ ।
उक्त काममा २०६२–०६३ को आन्दोलनका सबै साझेदार दलहरूसँग सहकार्य गरिने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।कात्तिक २९ गते एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय जनभेला आयोजना गरिनेछ ।यसैगरी मंसिर २० गतेसम्म युवा विद्यार्थीका प्रश्न हाम्रो उत्तर नामक अन्तरसंवाद श्रृंखला सञ्चालन गरिने पनि एमाले बाँकेका उपाध्यक्ष खत्रीले बताए ।
उनले उक्त अन्तरसंवादमा देश, पार्टी, लोकतन्त्र, जनअधिकारका विषयमा, कुनैपनि सरकार पाँच वर्ष पनि नटिक्नुको कारण, प्रत्येक १० वर्षमा हुने उथलपुथल, भ्रष्टाचार नियन्त्रण, सामाजिक रूपान्तरण जस्ता विषयमा अन्तरसंवाद गरिने जानकारी दिए । यसैगरी, बाँके जिल्लाको विकास, शासकीय स्वरुप, माक्र्सवादी दर्शन र जबजका साथै युवा पुस्ताका सबलता र दुर्बलताका विषयमा संवाद गरिने पनि उपाध्यक्ष खत्रीले जानकारी दिए । यसका लागि विभिन्न विद्यालयहरूमा पुगिने उनको भनाइ छ ।
यस्तै मंसिर १ गते जेनजीका नाममा बाँके जिल्लाका सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिने कार्यक्रम पनि तय गरिएको छ । यस अभियानमा केन्द्रिय सदस्यहरू, प्रदेश सदस्यदेखि सबै संगठित सदस्यहरू परिचालित हुने पनि अध्यक्ष गुरुङले जानकारी दिए । एक सय ४५ जना वक्ताहरूले धारणा राखेको भनिएको एमाले बाँकेको छैठौँ पूर्ण बैठकपछिको विज्ञप्तिमा कतैपनि आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रसँग उल्लेख छैन ।
यस विषयमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै एमाले केन्द्रिय सदस्य सूर्य ढकालले अहिलेको सरकर निर्वाचन गराउने दिशातिर नरहेको दाबी गरे । उनले भागेका कैदीहरू पक्राउ नगरिएको, लुटिएका हतियार कब्जामा नलिइएको र सुरक्षा निकायले निर्वाचन गराउन सक्ने स्थिति नरहेकोले निष्पक्ष निर्वाचन हुनेमा आशंका रहेको बताए । यदि निर्वाचन भएमा एमाले त्यसबाट नभाग्ने उनको दाबी थियो ।
यसैबीच एमाले बाँकेले जेनजी प्रदर्शनका क्रममा तोडफोड गरिएको र जलाइएको पार्टी कार्यालय मर्मत सम्भारको अन्तिम चरणमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए । उनले पार्टी कार्यकर्ताहरूको स्वतस्फुर्त सहयोगबाटै पार्टी कार्यालय मर्मत सम्भारको काम सफल हुन पुगेको बताए । अध्यक्ष गुरुङले अब पार्टीले ढलाइएका शालिकहरू पुनस्र्थापित गर्ने र आवश्यक परेमा जलाइएका सरकारी कार्यालय पुनस्र्थापनाका लागि स्वयंसेवाका लागि कार्यकर्ता परिचालित गर्ने पनि दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्