हामी मानिसको शरीरको बनावट शाकाहारीसँग मिल्छ र पानी पिउने तरिका पनि । मांसहारी भोजन लिँदा पचाउन अलि असहज हुन्छ भने शाकाहारी भोजन सजिलै पचाउन सकिन्छ । तथापि हामी जिब्रोको दास भएर मांसहारी भएका छौँ । रोगहरूले पनि शाकारीलाई भन्दा पनि मांसहारी मानिसहरूलाई बढी लखेटेको पाइन्छ । हामी पनि जनावरहरूजस्तै अनुशासित भएर शाकाहारी हुन सकेको भए अहिलेभन्दा पनि बढी स्वस्थ हुन्थ्यौँ जस्तो लाग्छ । त्योभन्दा पनि ठूलो र महत्वपूर्ण कुरा हाम्रो कारणले धेरै जनावरहरू आफ्नो ज्यान ब्यर्थैमा गुमाउनबाट जोगिन्थे जस्तो लाग्छ ।
जीतबहादुर शाह
घटना बुद्धकालीन समयको हो । स्कुले उमेरका बालबालिकाहरूले आँपको रूखमा आँप पाकेको देखेछन् । ढुङ्गाले हिर्काएछन् । आँप झरेछ । आँप टिप्न जाने क्रममा आँपको रूखमुनि बसिरहेका एकजना मानिसलाई देखेछन् जसको खुट्टाबाट बालबालिकाले आँपलाई हिर्काएको ढुङ्गा लागेर रगत बगिरहेको थियो । त्यो देखेर बालबालिका डराएछन् । ती मानिसले आफूहरूलाई अब के गर्ने हुन् भनेर उनीहरू त्रसित भएछन् ।डराएर भाग्नुभन्दा उनीसमक्ष गएर माफी माग्ने निधो गरेछन् । ‘हामीले आँप झार्न खोज्दा हामीले आँपलाई हिर्काएको ढुङ्गा लागेर हजुरलाई खुट्टामा चोट लाग्यो । हामीले अन्जानमा गरेको गल्तीका निम्ति एकपटकलाई माफी दिनुहोस् हजुर ।’ उनीहरूले रुञ्चे स्वरमा डरले थरथर काँप्दै माफी मागेको देख्दा ती मानिसले भनेछन्– ‘प्यारा नानीबाबुहरू मसँग डराउनु पर्दैन । माफी पनि माग्नु पर्दैन । त्यही ढुङ्गाले आँपको रूखलाई हिर्काउँदा आँपको रूखले तिमीलाई पाकेको आँप दियो । त्यही ढुङ्गाले मलाई लाग्दा मैले तिमीहरूलाई केही दिन सकिन । म लज्जित छु । बरु माफी म माग्छु तिमीहरूसँग ।’ बालबालिकाहरूसँग माफी माग्न खोज्ने ती मानिस गौतम बुद्ध थिए ।
बिबिसी न्यूजका अनुसार पृथ्वीमा दशदेखि तेह्रहजार प्रजातिका चराहरूको कूल जनसङ्ख्या दुई सयदेखि चार सय अर्बसम्म रहेको अनुमान छ। चराहरू जुन प्रजातिका र जति भए पनि तिनीहरू सबैको स्वभाव मिल्दोजुल्दो हुन्छ । चराहरू रातिमा खाँदैनन् । उनीहरूले पाइयो भन्दैमा धेरै पनि खाँदैनन् । जतिसुकै अनाज वा अन्य कुरा भेटियो भने पनि अलिकति खाएपछि उडेर जान्छन् । बढी लोभ गर्दैनन् । राति घुमफिर गर्दैनन्। आफ्नो बच्चालाई बढी माया गर्छन् । आफ्नो बच्चालाई सही समयमै सही कुरा सिकाउँछन् । रात परेपछि सुत्छन् । रातमा बाहेक दिउँसोमा सुत्दैनन् । बिहान सबेरै गाउँदै ब्युँझिन्छन् । आफ्नो शरीरले सकेको काम गर्छन् । आफ्नो आहार कहिल्यै परिवर्तन गर्दैनन् । उनीहरू आफ्नो गुँड आफैँले बनाउछन् । प्रजातिअनुसार उनीहरूले बनाउने गुँड सुन्दर र कलात्मक हुने गर्दछ । चराहरूको जस्तै स्वभाव हाम्रो पनि भएको भए अथवा चराहरूलाई गुरु मानेर हामीले पनि उनीहरूबाट सिकेको भए हाम्रो पनि खानाखाने ठिक समय हुन्थ्यो होला, भोक लाग्यो भन्दैमा सुतेको समयमा राति उठेर खाँदैनथ्यौँ होला । हामीलाई मन परेको खानेकुरा भेटियो भने पनि आवश्यकताभन्दा बढी नखाइ ठिक्क खाएर रोगी र अस्वस्थ हुनबाट जोगिन्थ्यौँ होला । हाम्रो सुत्ने समय पनि रातिमात्र हुन्थ्यो होला । काम प¥यो भन्दैमा राति पनि नसुत्ने र काम छैन भन्दैमा दिउँसो पनि सुत्ने हाम्रो अस्तव्यस्त स्वभाव हुँदैनथ्यो होला ।
आफ्नो दुई वर्ष पनि नपुगेको बच्चालाई अर्काको जिम्मा लगाएर आफू अन्यत्रै पनि लाग्दैनथ्यौँ होला । पाइयो भन्दैमा जे पनि र जति पनि हसुर्ने बानी पनि हाम्रो हुँदैनथ्यो होला । सन्तानलाई ठिक समयमा उपयुक्त सीप सिकाएर ऊ आत्मनिर्भर भएपछि मात्रै आपूmले उसलाई स्वतन्त्र छोड्थ्यौँ होला । हामी पनि बिहान सबेरै गीत गुनगुनाउँदै उठ्थ्यौँ होला । साँच्चिकै मानिसको जीवन पनि चराहरूको जीवनजस्तै व्यवस्थित, अनुशासित, कर्तव्यनिष्ठ, संयमित, समयनिष्ठ र चरित्रवान भइदिएको भए हामी पनि चराहरूजस्तै स्वस्थ र खुसी हुन्थ्यौँ होला । चराबाट मानिसले लोभी पापी हुनु हुँदैन भन्ने सिकेको भए संसारका आधाभन्दा बढी समस्या त्यसै पनि समाधान हुन्थे जस्तो लाग्छ । मानिस लोभी पापी भएकै कारणले आज विश्वमा दश प्रतिशत मानिसहरूको कब्जामा विश्वको असी प्रतिशत सम्पत्ति छ । बाँकी नब्बे प्रतिशत मानिसहरू बीस प्रतिशत सम्पत्तिमाथि लुछाचुँडी गर्दै जिउनु परेको छ । यसो गर्दा पनि ती दश प्रतिशत धनी मानिसहरू खुसी हुन सकेका छैनन्, न त दीर्घजीवी र अमर नै हुन सकेका छन् ।
आज हामी जसलाई हाम्रो र समग्र मुलुकको नेता बनाउँछौँ उसले नै हाम्रो र मुलुक भागसमेत खोसेर आफ्ना सात पुस्तालाई पुग्ने गरी घरभित्रै बङ्कर बनाएर सम्पत्ति थन्क्याउने गर्दछन् । अनि हामीले के गतिलो काम ग¥यौँ त ? मानिसको यो स्वभावले अरु मानिसले त दुःख पाए नै । सम्पत्ति थुपार्नेका सन्तानहरूले समेत बाटो बिराएर बरालिएको अवस्था छ । चरा त यस्तो छ, उसले जति मीठो र मन पर्ने खानेकुरा भेटाए पनि ठिक्क गरी खान्छ र बाँकी अरुकै निम्ति चटक्कै छोडेर जान्छ । हामीले पनि गर्नु पर्ने त्यही होइन र ! पानीको मुहान, पँधेरा, खोला, नदी, सागर र महासागरको बीचको सहकार्य देख्दा पनि अचम्मै लाग्छ । पानीको मुहानबाट पँधेराहरूको निर्माण हुन्छ, पँधेराहरू मिलेर खोला बन्छ, खोलाहरू मिलेर नदी बन्छ, नदीहरू मिलेर सागर बन्छ र सागरहरू मिलेर महासागरको निर्माण हुन्छ । मुहानको पानी धमिलो–सङ्लो, फोहर–स्वच्छ जेजस्तो भए पनि महासागरसम्म पुग्दा सबै अन्तरघुलन भइ छुट्याउन नमिल्ने गरी एकैनासे हुन्छन् । महासागरले सागरहरूलाई आफ्नो सम्झेर आफूमा समाहित गर्छ । त्यसरी नै सागरले नदीहरूलाई, नदीले खोलाहरूलाई र खोलाले मुहान र पँधेराहरूलाई आफ्नो सम्झेर आफूमा समाहित गर्छन् ।
कसैले कसैलाई अपमान गरेको आभास हुँदैन, सधैँ सबैतिर सम्मान र सामीप्यताले घर गरेको हुन्छ । मान्छेको बस्तीतिर फर्किँदा भने त्यस्तो सम्मान र त्यस्तो सामीप्यता पाउन कठिन छ । परिवार र गाउँटोल, वडा, पालिका, जिल्ला, प्रदेश, मुलुक र विश्वस्तरको सम्बन्धमा भाँजा फाटेको अवस्था छ । प्रकृतिबाट सिकेको भए त्यस्तो नभइ जस्तो सम्बन्ध मुहानदेखि महासागरसम्म छ त्यस्तै सुमधुर सम्बन्ध गाउँटोलदेखि विश्वसम्म पनि हुन्थ्यो होला । जहाँको नागरिक भए पनि विश्वभर नै आफन्तको रूपमा पहिचान बन्थ्यो होला, जसरी मुहान, पँधेरा, खोला, नदी र सागरहरूलाई महासागरले आफ्नो सम्झन्छ । प्राकृतिक भूगोलको हिसाबले हिमाल पृथ्वीको सबैभन्दा अग्लो भूभाग हो । यो सेतो र चम्किलो हुन्छ । यस्तो लाग्छ हिमाल निर्भिक र शालीन हुन्छ । ब्रम्हा, विष्णु, महेश्वरलाई ध्यान र तपस्याका लागि स्थान दिने हिमाल आफैँमा एउटा त्यागी हो र तपस्वी पनि । हिमाल आफू केही बोल्दैन तथापि नबोले पनि मानिसलाई धेरै कुरा सिकाउँछ । हिमालले मानिसलाई निर्भीकता र शालीनता सिकाउँछ ।हिमालले मानिसलाई स्वाभिमान र स्वाधीनता सिकाउँछ । त्यत्ति मात्र नभइ हिमालले कसैसामु झुकेर हात पसार्दैन बरु हात पसारेर झुक्नेहरूलाई रित्तो हात फर्काउँदैन ।
हिमालले पहाड र तराईका लागि ढाल र तरवारको काम गर्छ, जल र जडिबुटी दिन्छ तथापि बदलामा केही खोज्दैन । यस्तो लाग्छ, हिमाल सबैको अभिभावक हो र अगुवा पनि । यस्तै कुरा हिमालबाट मानिसहरूले सिकेको भए हाम्रा नेता र अगुवाहरू पनि हिमालजस्तै हुन्थे होला, नागरिकबाट कुनै कुराको आश नगर्ने, बरु नागरिकहरूलाई जति दिए पनि कहिल्यै नथाक्ने । त्यसको बदलामा सधैँभरि निरन्तर हाँसिरहने र निरन्तर सहयोग गर्न पाएकोमा गर्वको अनुभूति गर्ने । यहाँ त त्यस्तो छैन । नागरिकबाट समाजका अगुवा र नेताहरूले पद पाउँछन्, प्रतिष्ठा पाउँछन्, सेवा र सुविधा पनि बग्रेल्ती पाउँछन् तथापि उनीहरूबाट नागरिकले भने आश्वासनबाहेक अरु केही पाउँदैनन् । यो धर्तीमा प्रकृतिले अनगिन्ति फूलहरू दिएको छ । फूलहरू पनि ओइलाउँछन्, झर्छन् र मर्छन् पनि । उनीहरू पनि रोगी र बिरामी हुन्छन् । उनीहरू पनि किरा, फटेङ्ग्रा र झुसिल्किराका सिकार हुन्छन् । फूलका पत्रपत्र प्वाल पारेर किराहरूले आफ्नो भोक पूरा गर्छन् । तथापि फूलहरू कहिल्यै दुःख र पीडामा देखिँदैनन् । सधैँ मुस्कुराइरहन्छन्, सधैँ हाँसिरहन्छन् । फूलका केही पत्रहरू किराले प्वाल पारेर खाए पनि फूलका बाँकी पत्रहरूको खुसी र मुस्कानमा कुनै कमी हुँदैन ।
फूलका केही पत्रहरू ओइलाएर झरे पनि हाँगामा रहेका फूलका बाँकी पत्रहरूको हँसिलो जीवनमा कुनै तलमाथि आभास हुँदैन । साँच्ची मानिसले फूलबाट यस्तै कुरा सिकेको भए त मानिस पनि कहिल्यै दुखी हुँदैनथ्यो होला । डिप्रेसन, एङ्जाइटी जस्ता मानसिक कारणले लाग्ने रोगहरू त मानिसलाई देखेर टाढैबाट भाग्थे होला । मानिसमा नकारात्मक सोचको बीउ त खोजेर पनि भेटिदैन्थ्यो होला । जसलाई भेटे पनि मानिसहरू मुस्कुराएको, हाँसेको, नाचेको र रमाएको मात्र देखिन्थ्यो होला । साँच्ची त्यत्तिबेला दुःख, पीडा, मतभेद, झैझगडा, युद्ध, हिंसा र क्रोधजस्ता नकारात्मक सोचका उत्पादनहरू त मानव बस्तीबाट रातारात सुइँकुच्चा ठोकेर सधैँको लागि भाग्थे होला । प्रकृतिमा भएका घरपालुवा र जङ्गली जनावरहरूलाई उनीहरूले खाने भोजनको हिसाबले दुई किसिमका छन्– शाकाहारी र मांसहारी । उनीहरूको शारीरिक बनावट नै त्यही किसिमको हुन्छ । मांसहारी जनावरहरूको दाँतहरू तिखा (दारा) हुन्छन् भने शाकाहारी जनावरका सामान्य हुन्छन् । त्यसरी नै मांसहारी जनावरहरूले पानी पिउँदा जिब्रोले ल्याप–ल्याप पारेर पिउने गर्छन् भने शाकाहारी जनावरहरूले घटघटी पिउने गर्छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि शाकाहारीले मासु खाँदैनन् र मांसहारीले पनि घाँस खाँदैनन् ।
हामी मानिसको शरीरको बनावट शाकाहारीसँग मिल्छ र पानी पिउने तरिका पनि । मांसहारी भोजन लिँदा पचाउन अलि असहज हुन्छ भने शाकाहारी भोजन सजिलै पचाउन सकिन्छ । तथापि हामी जिब्रोको दास भएर मांसहारी भएका छौँ । रोगहरूले पनि शाकारीलाई भन्दा पनि मांसहारी मानिसहरूलाई बढी लखेटेको पाइन्छ । हामी पनि जनावरहरूजस्तै अनुशासित भएर शाकाहारी हुन सकेको भए अहिलेभन्दा पनि बढी स्वस्थ हुन्थ्यौँ जस्तो लाग्छ । त्योभन्दा पनि ठूलो र महत्वपूर्ण कुरा हाम्रो कारणले धेरै जनावरहरू आफ्नो ज्यान ब्यर्थैमा गुमाउनबाट जोगिन्थे जस्तो लाग्छ । प्रकृतिलाई हामीले लोभपापी भएर अनावश्यकरूपमा दोहन गर्न थाल्यौँ भने प्रकृतिले पनि बाध्य भएर केही प्रतिक्रिया जनाउँछ । हामी जङ्गल फडानी गर्छौँ, उद्योग धन्दा सञ्चालन गरेर वातावरण प्रदूषण गर्छौँ, बाटो र सडक निर्माणको नाममा जमिनलाई अनावश्यकरूपमा कटानी गर्छौँ । बढी उत्पादन गर्ने नाममा हामीले जमिनमा रासायनिक मल र फलफूल र खाद्यान्न उत्पादनमा विभिन्न रसायनहरूको प्रयोग गर्छौँ। यसले गर्दा खडेरी, खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिले हामीलाई हैरानी दिन्छ । प्रदूषित वायु, वातावरण र खानपानका कारणले हामी विभिन्न रोगका सिकार हुन्छौँ र हाम्रो आयु क्रमशः घट्दै जान्छ या त हामी ओखतीका भरमा बाँच्ने परजीवीमा परिणत हुन्छौँ ।
बढी उत्पादन गर्ने र त्यसमा पनि छिटो उत्पादन गर्ने लालचिपनका कारणले प्राकृतिक खानेकुराहरू अप्राकृतिक र पत्रु खानाको रूपमा हाम्रो पेटमा प्रवेश गर्छन् र हामी अस्वस्थ हुन्छौँ । कतिपय खानेकुराहरू नपकाइ खाँदा जति स्वास्थ्यवर्धक हुन्थ्यो, पकाउने नाममा स्पाइसी बनाएर खाँदा विषाक्त र अस्वस्थकर हुने गर्दछ । आदिम हुँदा हाम्रो खाने शैली जति स्वस्थकर थियो, आधुनिक हुँदा अस्वस्थकर भएको छ किन कि हामी आधुनिकताको नाममा प्रकृति विरोधी भएका छौँ । एउटा पढेको छोराले अनपढ भनेर आमालाई अपमान गरेजस्तै भएको छ आधुनिक मानिस र प्रकृतिको सम्बन्ध । प्रकृतिवादी दार्शनिक जिन ज्याक रुसो भन्छन्– ‘विद्यालयका पर्खालहरू भत्काइदेऊ र बालकलाई प्रकृतिको काखमा छोडिदेऊ ।’ यो कुरा रुसोले सनकको भरमा भनेका होइनन् । एउटा बालकलाई विद्यालयले भन्दा एउटा बिरुवा, एउटा नदी र एउटा हिमालले नबोलेर पनि धेरै कुरा सिकाउन सक्छ ।
यसका लागि मानिस प्रकृतिको अगाडि शिष्य हुन सक्नुपर्छ । तथापि मानिसले त्यस्तो गर्न सकिरहेको छैन । मानिसले प्रकृतिको विरुद्धमा नै हमला गरिरहेको छ । प्रकृतिलाई दास बनाएर आफू प्रकृतिको मालिक हुने प्रयत्न गरिरहेको छ । जब कि मानिस स्वयम् पनि प्रकृतिको उपज हो र प्रकृतिको सन्तान हो । तथापि मानिसले आफ्नो औकात बिर्सिएको छ । मानिसले समाजवादको कुरा त गर्छ तर पर्यावरणलाई बिर्सिएको छ । अब मानिसले समाजवादलाई मात्र होइन पर्यावरणीय समाजवाद (भ्अय(कयअष्बष्किm)लाई अघि सार्नुपर्ने भएको छ । अन्यथा अरु सबै सम्झिने, श्वास फेर्न भने बिर्सने भनेझैँ हुन्छ । यस्तो अवस्थामा मावनशास्त्री डा. मेरी डेसेनले भनेझैँ हाम्रो सपना प्रकृतिको चिहानमाथि समृद्धिको महल बनाउने जस्तो हुनेछ, जुन सपना नभइ मात्र दिवास्वप्ना हुनेछ ।









प्रतिक्रिया दिनुहोस्