शवदाह गृहले जोगायो खर्च र समय



शवदाह गृह कोहलपुरवासीको लामो समयदेखिको सपना थियो । अब भने त्यो सपना पूरा भएको छ । कोहलपुरको मात्रै होइन आसपासका क्षेत्रका नागरिकका लागिसमेत उपयोगी बनेको छ शवदाह गृह । कोहलपुर क्षेत्रमा शवदाह गृह नहुँदा कोहलपुरबाट ४२ किलोमिटर दूरी पार गरेर राप्ती सोनारी गाउँपालिकास्थित अगैया घाटमा जानुपर्ने बाध्यता थियो । अहिले कोहलपुरमात्रै होइन बैजनाथ लगायतका पालिकाका नागरिकहरूको मृत्यु हुँदा कोहलपुरस्थित शवदाह गृहमा दाहसंस्कार हुने गरेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

कोहलपुरमा लामो समयदेखि माग हुँदै आएको अत्यावश्यक संरचना थियो, शवदाह गृह । खासगरी देश संघीयता गएसँगै स्थानीय तह आएपछि नागरिकस्तरबाटै कोहलपुरमै शवदाह गृह हुनुपर्ने माग जोडदारका साथ उठिरहेको थियो । २०७४ को स्थानीय तहमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यस विषयलाई घोषणापत्रमा समेत राखेका थिए । तत्कालीन नगरप्रमुख लुटबहादुर रावतको पालामा किरियापुत्री भवन बन्यो । रावतकै पालामा शवदाह गृह निर्माणका लागि गृहकार्य सुरु भएपनि त्यसले मूर्तरुप पाउन सकेको थिएन ।

२०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगरपालिकाको नेतृत्व जनस्तरबाट जोडका साथ माग भइरहेको शवदाह गृह निर्माणका लागि निर्णायक पहल थाल्यो । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रममा शवदाह गृह निर्माण गर्ने नीति समेट्यो । उक्त आर्थिक वर्षमा शवदाह गृह निर्माणका लागि १५ लाख रूपैयाँ विनियोजन गरेको थियो । लगत्तै नगरपालिकाले सो आर्थिक वर्षको भदौ महिनामा बसेको कार्यपालिका बैठकले शवदाह गृह निर्माणको लागि जग्गा पहिचानका लागि एउटा समिति गठन ग¥यो ।

बैठकले कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको संयोजकत्वमा कोहलपुर–५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ, कोहलपुर–९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी र इन्जिनियरसहितको शवदाह गृह पहिचान समिति बनाउने निर्णय गरेको थियो । उक्त समितिले कोहलपुरका विभिन्न सात वटा ठाउँमा शवदाह गृह निर्माण गर्न उपयुक्त रहेको भन्दै नगरपालिकामा राय पेश ग¥यो । संयोजक शाहका अनुसार तीमध्ये सबैभन्दा उपयुक्त स्थानका रूपमा कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको क्षेत्रलाई सिफारिस गरिएको थियो ।

त्यसपछि नगरपालिकाले नै कोहलपुरका व्यवसायी चक्र अधिकारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन तथा निर्माण उपभोक्ता समिति गठन ग¥यो । २०८१ असोज १९ गते नगरप्रमुख पूर्णप्रसाद आचार्यले धार्मिक विधिअनुसार शवदाह गृह निर्माणको शिलान्यास गरेका थिए। गत जेठ महिनादेखि शवदाह गृह सञ्चालनमा आएको छ । शवदाह गृह अहिले नियमितरूपमा सञ्चालन भइरहेको छ ।

त्यसपछि पूरा भयो कोहलपुरवासीको सपना

कोहलपुरमा शवदाह गृह हुनुपर्ने कोहलपुरवासीको लामो समयदेखि सपना केही महिनामै पूरा भयो, जब स्थानीय सरकारले ठोस कदम चाल्यो।
जेठ महिनादेखि नै सञ्चालनमा आएको शवदाह गृहले वर्षौँदेखिको राप्ती सोनारीको अगैयासम्म पुग्नुपर्ने बाध्यताबाट छुट्कारा मिलेको छ ।कोहलपुरमा शवदाह गृह नहुँदा कोहलपुरबाट ४२ किलोमिटर दूरी पार गरेर राप्ती सोनारी गाउँपालिकास्थित अगैया घाटमा जानुपर्ने बाध्यता थियो ।

अहिले कोहलपुरमात्रै होइन बैजनाथ र नेपालगन्जका नागरिकहरूको मृत्यु हुँदा कोहलपुरस्थित शवदाह गृहमा दाहसंस्कार हुने गरेको छ । शवदाह गृह कोहलपुरवासीको लामो समयदेखिको सपना थियो । अब भने त्यो सपना पूरा भएको छ । कोहलपुरको मात्रै होइन आसपासका क्षेत्र र अन्य जिल्लाका नागरिकका लागिसमेत उपयोगी बनेको छ शवदाह गृह ।

रकम र समयको बचत, विपन्नलाई मद्दत

कोहलपुर क्षेत्रमा शवदाह गृह नहुँदा दाहसंस्कारका लागि राप्ती सोनारीस्थित अगैया घाट पुग्न कोहलपुरबाट झण्डै एक घन्टा समय लाग्छ । यताबाट शव लैजान सवारी चाहिने, शवदाह संस्कारका लागि आवश्यक सामग्रीसमेत यतैबाट लैजानुपर्ने बाध्यता थियो । एउटा शव दाहसंस्कार गर्न न्यूनतम २० देखि ३० हजार रूपैयाँसम्म खर्च गर्नुप¥थ्र्यो । कोहलपुरमा शवदाह गृह निर्माण गर्न सक्रिय भूमिका खेलेका चक्र अधिकारी समय र रकम मात्रै बचत नभएर र आर्थिकरूपमा विपन्न नागरिकहरूलाई धेरै राहत भएको बताउँछन् ।

उनका अनुसार कोहलपुरमा शवदाह गृह निर्माण भएदेखि अगैया जाने मानिसहरूको सङ्ख्या ह्वात्तै घटेको छ । अधिकारी ती पात्र हुन्, जसले कोहलपुरमा शवदाह गृह हुनुपर्छ भनेर माग गर्ने गर्थे । समयक्रमले उनलाई कोहलपुरको सपना (शवदाह गृह)लाई साकार गर्ने जिम्मेवारी सुम्पियो । शवदाह गृहलाई मूर्तरुप दिने अभियानका कमाण्डर नै उनी हुन् । जुन भूमिका उनले कुशलतापूर्वक निर्वाह गरे । संयोग अधिकारीले आफ्ना पिताको शवको दाहसंस्कारसमेत यहीँ गरे । अबभने कोहलपुरवासीको सपना पूरा भएको उनी बताउँछन् । उनका अनुसार हालसम्म शवदाह गृहमा ६० जनाको दाहसंस्कार गरिएको छ । दैनिक सरदर दुईजनाको दाहसंस्कार हुने गरेको छ ।

शवदाह गृह नगरपालिकालाई हस्तान्तरणको तयारी

शवदाह गृहलाई निर्माण उपभोक्ता समितिले कोहलपुर नगरपालिकालाई हस्तान्तरणको तयारी गरेको थियो । भदौ २४ गते सार्वजनिक सुनुवाइ गरेर हस्तान्तरण गर्ने योजना बनाएपनि जेनजी आन्दोलनका कारण कार्यक्रम स्थगित गरियो । अब दसैँलगत्तै सार्वजनिक सुनुवाइ गरेर नगरपालिकालाई हस्तान्तरण गरिने संयोजक अधिकारीले बताए । शवदाह गृह सञ्चालनका लागि कोहलपुर नगरपालिकाले कार्यविधिसमेत निर्माण गरेको छ ।

कार्यविधिअनुसार नै शवदाह गृह सशुल्क सञ्चालन गर्ने योजना नगरपालिकाको छ । सञ्चालनको जिम्मासमेत नगरपालिकाको अधिनमा रहनेगरी उपभोक्ता समितिले सञ्चालनन÷व्यवस्थापन गर्नेछ । शवदाह गृहको निर्माणका लागि हालसम्म १ करोड ७ लाख रूपैयाँ खर्च भएको छ। शवदाह गृह निर्माणका लागि कोहलपुर नगर विकास समितिबाट ५० लाख रूपैयाँ ऋण लिइएको थियो ।

शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख, गोल्छा समूह र दुगड समूहले सहयोग गरेका छन् ।शवदाह गृहसहित दुई वटा प्रतीक्षालय, तीन वटा शौचालय, तीन वटा स्नान गृह, सिँढी, धारा, शवदाह स्थलको बाटो, महादेवको आकृति, ढुंगेधारा, १२ हजार लिटरको ट्यांकीसहित मुण्डन स्थलसमेत निर्माण गरिएको छ । शवदाह गृहको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

‘गुणस्तरीय र सस्तो सेवा’

गत साउन महिनामा कोहलपुरस्थित गोल्छामा रहेको सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कालीकोटकी २३ वर्षीया चन्द्रकुमारी शाहीको मृत्यु भयो । उनको टिकटक बनाउने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो । शवदाह गृह व्यवस्थापनले राखेको रेकर्डअनुसार शाहीको कोहलपुरस्थित शवदाह गृहमै निःशुल्क शवदाह गरिएको थियो । शवदाह गृहका कर्मचारी वैतालु थारूका अनुसार शाहीको २०८२ साउन १४ गते दाहसंस्कार गरिएको रेकर्ड राखिएको छ ।

अध्ययनको सिलसिलामा कोहलपुरमा बस्दै आएकी उनको शवलाई प्रहरीले खोजी गरेको थियो । पछि कोहलपुर प्रहरी र आफन्तहरूको रोहवरमा दाहसंस्कार गरिएको हो । उनका बुबा जनक शाही कोहलपुरमा दाहसंस्कार गर्न पाउँदा आफूहरूलाई धेरै सहज भएको बताए ।साउन २३ गते आफ्नी आमाको दाहसंस्कार गरेका बैजनाथ–४ का कमलजित मल्लले कोहलपुर शवदाह गृहमा आफूहरूले सस्तो र सुलभ सेवा पाएको बताए । उनका अनुसार त्यहाँको सेवा गुणस्तरीय थियो । ‘हाम्रो परिवारमा यस्तो परेको पहिलोपटक हो ।

नजिकै सेवा पाउँदा धेरै सहज भयो । निःशुल्करूपमा सेवा पायौँ,’ उनले भने । कोहलपुर १२ का मोहन केसी खत्री पनि कोहलपुरमा शवदाह गृह निर्माण हुँदा धेरै सहज भएको बताउँछन् । उनले नगरपालिकाबाट कोहलपुरमै दाहसंस्कार हुने जानकारी पाएका थिए । त्यसपछि शवदाह गृह निर्माण उपभोक्ता समितिसँगको समन्वयमा सहज सेवा भएको बताए । केसीकी आमा विष्णुकुमारी केसी खत्रीको साउन २१ गते कोहलपुर शवदाह गृहमा अन्तिम दाहसंस्कार गरिएको थियो । शवदाह गृहका कर्मचारीका अनुसार एउटा शव जल्न न्यूनतम २ देखि अधिकतम ३ घण्टासम्म समय लाग्ने गरेको छ ।

अहिलेसम्म अधिकतम एकैदिन ५ जनासम्मको दाहसंस्कार गरिएको संयोजक अधिकारी बताउँछन् । हालसम्म निःशुल्क दाहसंस्कार भइरहेको छ । सबैभन्दा धेरै कोहलपुर नगरपालिकाका स्थानीयले शवदाह गर्ने गरेका छन् । बैजनाथ र नेपालगन्जबाटसमेत दाहसंस्कारका लागि आउने गरेको संयोजक अधिकारीको भनाइ छ । ‘अहिले त फोन आउँछ । समय पाइन्छ कि पाइँदैन ? हाम्रो पालो आउँछ कि नाइँ ? भनेर। हामीले पनि सोहीअनुसार सहजीकरण गर्ने गरेका छौँ,’ अधिकारी भन्छन् ।

शवदाह गृहमा रमेश थापा र वैतालु थारूगरी दुईजना कर्मचारी छन् । उनीहरूले त्यहाँको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । उनीहरूको पारिश्रमिकसमेत समितिले नै प्रदान गरिरहेको अधिकारीले बताए । नगरपालिकाले साउनदेखि नियुक्ति दिएर पारिश्रमिक दिने भनेपछि अहिलेसम्म दिएको छैन । उनी भन्छन्, ‘दसैँ मनाउने पैसा मागिरहेका छन् । समितिबाट व्यहोर्नुपर्ला । भएन भने आफ्नो खल्तीबाट भएपनि उनीहरूलाई पैसा दिन्छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार