नागरिक उड्डयनका महानिर्देशक अधिकारीमाथि आक्रमण गर्ने तीनजना पक्राउ



ललितपुर ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सांघातिक आक्रमण गरेको आशंकमा तीन व्यक्ति पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार कतिपय अनुसन्धान बाँकी रहेका कारण नाम सार्वजनिक गरिएको छैन । उक्त घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा गरिरहेको छ ।

सोमबार साँझ घर फर्किने क्रममा सातदोबाटोस्थित एन्फा कम्पाउण्ड बाहिर उनीमाथि आक्रमण भएको थियो । आक्रमणका क्रममा प्रयोग भएको स्कुटर आक्रमणकारीले त्यहीँ छोडेर भागेका थिए । उक्त स्कुटरका चालक हेम तामाङ पक्राउ परेका तीनजना मध्येका एक हुन् ।

उनीहरूले अरू कोहीमाथि हातपात गर्ने क्रममा महानिर्देशक अधिकारी परेका हुन् कि उनलाई लक्षित गरेर हातपात भएको हो भन्ने कुरा अहिलेसम्म नखुलेको एसएसपी बोगटीले बताए । यदि अधिकारीलाई नै लक्षित गरी उनीमाथि हातपात भएको भए त्यसको कारण के हो भनी अनुसन्धान चलिरहेको उनले बताए । ‘सबै अनुसन्धानबाट उनीहरूको संलग्नता देखिन्छ, तर अन्य विषय निर्क्यौल भइसकेको छैन’, उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ५ गते बुधबार