निशु जोशी । नेपालगन्ज ।
थारू भाषाको नयाँ गीत ‘तुँ म्वार छैली हो’ सार्वजनिक गरिएको छ । नेपालगन्जमा एक कार्यक्रमका बीच भिडिओ प्रर्दशन गर्दै गीत सार्वजनिक भएको हो । यसका साथै आरकेसी युट्युब च्यानलमार्फत पनि गीत रिलिज गरिएको छ । यस गीतमा शब्द र संगीत करण चौधरीले तयार गरेका हुन् । गीतमा सिमरन परियार र करण चौधरीकै स्वर समावेश गरिएको छ ।
गीतको निर्देशन नवराज सुवेदीले गरेका छन् भने सगुन शाही र प्रिन्स चौधरीले अभिनय गरेका छन् । बाँकेको राप्ती सोनारीमा छायांकन गरिएको यस भिडिओले स्थानीय परिवेशलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्देशक सुवेदीले बताए । कलाकारिता अझै व्यवसायिक नभइसकेको बताउँदै निर्देशक सुवेदीले विद्यालयमा सवारी चालकको काम गर्दै आफ्नो कलाप्रतिको माया र रहरलाई निरन्तरता दिइरहेको बताए ।
दशक समयभन्दा बढी कला क्षेत्रमा बिताइसकेका कलाकारलाई राज्यले संरक्षण गर्न नसक्दा पलायन हुँदै गइरहेको बताए । उसो त गायक करण चौधरी पनि २०६२–०६३ देखि गीत संगीतको क्षेत्रमा छन् । उनीसँग नाम जोडिएका अर्का गायक राम चौधरी पनि सँगै संगीतमा उदाएका थिए । कलाकारिताबाट बाँच्न नसकिएपछि आफूहरूले अन्य पेसा व्यवसाय अपनाउनुपरेको दुवैले गुनासो सुनाए ।
गायकद्वय रामकरणले २ दर्जन बढी गीतको कम्पोज, संगीत र गायन गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बरबहादुर चन्दले नेपालगन्जमा बसेर पनि सुन्दर गीतको सिर्जना गरिएको प्रतिक्रिया दिए । चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले मोफसलमा बसेर निर्देशक सुवेदीले म्युजिक भिडिओ क्षेत्रलाई योगदान दिइरहेको बताउँदै उनको काम र गीतको प्रशंसा गरे ।
आगामी दिनमा थप नयाँ काम गर्न उनको सुझाव छ । हाल जापानमा कार्यरत बाँकेका कलाकार सुनिलसिंह ठकुरीले आफू पनि यस क्षेत्रकै भएकाले यहाँबाट उदय भएका प्रतिभालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्