उत्कृष्ट अभिनेत्री रानाभाट गृहनगरमा भोट माग्दै



नेपालगन्ज ।

टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’मार्फत अभिनय कला देखाएर दर्शकहरूको मन जितेकी नेपालगन्जकी नविना रानाभाटले प्रतिस्पर्धीमा छानिएसँगै आफ्नो गृहनगरबाट सहयोगको अपिल गरिरहेकी छन् । आफ्नो अभिनय कलामार्फत प्रतिस्पर्धामा उत्रिएर उत्कृष्ट १० मा पुगेसँगै उनले नेपालगन्ज आएर नेपालगन्जवासीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै अर्काे चरणमा पुग्नका लागि आवश्यक अनलाइन भोटको अपिल गरेकी हुन्।

सामाजिक सन्जाल फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीको अगुवाईमा नविना रानाभाट जिताउ अभियान नै सञ्चालन गरिएको छ । अभियानका क्रममा नविनाले विभिन्न क्याम्पसहरूमै पुगेर भोटका लागि अपिल गरिन् । त्यसक्रममा उनले आफ्नो अभिनय कला हेरेर प्रतिस्पर्धामा अघि बढ्नका लागि सकेको भोट गर्न आग्रह गरिन् । उनले नेपालगन्जको जिभिएन कलेज, ब्राइटल्याण्ड स्कुल, महेन्द्र बहुमुखी क्याम्पस, धम्बोजी उच्च माविमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गरेकी हुन् ।

उक्त अवसरमा विद्यालय शिक्षक विद्यार्थीहरूले नेपालगन्जकी चेलीले प्राप्त गरेको सफलताका लागि धन्यवाद प्रदान गर्नुका साथ खुसीसमेत व्यक्त गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पनि नविनासँग भेटघाट गर्दै सफलताको लागि रानाभाटलाई शुभकामना दिए । उनले नविनालाई भोट गर्न सम्पूर्ण नगरवासीसँग अपिल पनि गरे । यसैगरी बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले पनि नविनालाई आशिर्वाद दिँदै विजयका लागि शुभकामना दिए ।

नविना जिताउ अभियानमा सहभागी भएर नेपालगन्जका सबै क्षेत्रका अगुवाहरूले पनि सामाजिक सन्जालबाट भोटको अपिल गरिरहेका छन् । तीन सय प्रतिस्पर्धीबाट छानिएर उत्कृष्ट १० मा पुगेकी नविनालाई अब अरु चरणमा पुग्नका लागि अनलाइन भोट नै मुख्य माध्यम रहेको छ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको शोका निर्णायकहरू नीर शाह, अनुप बराल र ऋचा शर्माले पनि नविनाको अभिनय कलाको तारिफ गर्दै आएका छन् ।

नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नविनाले कलाकारितालाई नै अब आफ्नो मूल मन्त्र ठानेर अघि बढ्ने बताइन् । उनले आफूलाई भोट गरिदिएर सपना साकार बनाउने अभियानमा साथ दिन आग्रह पनि गरिन् । अबका दिनमा पनि हरेक इपिसोडमा उत्कृष्ट र दमदार प्रस्तुति दिने गरी आफ्नो तयारी रहने उनको प्रतिबद्धता छ । उनले बाँके र लुम्बिनीका विषयबस्तुलाई पनि अभियनको ’थिम’ बनाउने उद्घोष समेत गरेकी थिइन् ।

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले नविना नेपालगन्ज मात्रै नभएर पश्चिम नेपालकी क्षमतावान छोरी भएकोले उनको जित सबैको जित हुने बताइन् । नविनाका बुवा भीम नविना अब आफ्नो मात्र छोरी नभएर समग्र कला पारखीको चेली भएको र उनलाई जिताउन पश्चिम नेपालका सबै कलापारखीले अपनत्व लिनुपर्ने आग्रह गरे । प्रारम्भिक शिक्षा नेपालगन्जमै लिएकी नविनाले त्यसपछि काठमाडौँ बसेर प्लस टुमा विज्ञान विषय लिएर उत्तीर्ण गरिन् भने स्नातकमा बिबिए गरेकी छन् ।

नविनाका अनुसार उनलाई सानैदेखि स्कृनमा हेर्न रहर थियो र गीत लेख्न र गाउन पनि रहर थियो । बिबिए अध्ययन गर्दाताकै उनले कलेजमा थिएटर क्लबमा आबद्ध भई आफूभित्रको अभिनयको रहरलाई प्रतिभामा बदल्ने र प्रतिभालाई निखार्ने र आकार दिने वातावरण पाइन् । उनी पहिलो वर्षमै सिनियरहरूबाट थिएटर क्लबका लागि छानिएकी थिइन् । उक्त अभिनय जेलमा रहेको एक पात्रको करिब चारदेखि पाँच मिनेटको अभिनय गरेकी थिइन् । अहिले उनको स्कृनमा देखिने सपना पनि पूरा भएको छ । अब उनी ठूलो पर्दामा पनि अब्बल अभिनयसहित प्रस्तुत हुने सपना देखिरहेको बताउँछिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ७ गते शनिबार