
वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘नेपालगन्जदेखि गुलरियासम्म यात्रा गर्दा दुई ठाउँमा ‘खाना खाँदा दाँतमा ढुंगा लागे’जस्तै भयो,’ कैलालीका महेश बटालाले भने । महेशलाई जस्तै महसुस अहिले नेपालगन्ज गुलरिया हुलाकी सडक हुँदै यात्रा गर्ने सबैजसो यात्रुहरूलाई हुन्छ । त्यसरी दाँतमा ढुंगा लागेजस्तो महसुस हुने ठाउँहरू हुन् बाँकेको खजुरा र बर्दियाको गुलरिया बजार क्षेत्र ।
निर्माण व्यवसायीको लापरबाही र सरकारी निकायले समयमा आफ्नो जिम्मेवारी ननिभाउँदा भौतिक पूर्वाधार निर्माणमा कस्तो असर गर्दछ भन्ने उदाहरण बनेका छन् यी दुई बजार क्षेत्रका सडकखण्ड । निर्माण कम्पनी गजुरमुखी कन्सट्रक्सनले बाँके बर्दिया जोड्ने हुलाकी राजमार्गमा पर्ने यी दुई महत्वपूर्ण स्थानको सडकखण्ड अपुरै छाडेर नागरिकहरूलाई सास्ती दिएको छ । उक्त कम्पनीले धेरै दूरीको पनि होइन खजुरा बजार क्षेत्रमा एक हजार ८ सय मिटर र गुलरियामा भादादेखि बजारसम्मको दुई हजार दुई सय मिटर गरी जम्मा चार किलोमिटर सडक निर्माणको काम ६ वर्षसम्म पनि निर्माण पूरा गर्न सकेन ।
त्यसपछि सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोडेर कारबाहीको प्रक्रिया अघि बढाएपछि पुनः उक्त कम्पनीले अदालतमा मुद्दा हालेर सात वर्षसम्म उक्त सडकलाई बन्धक बनाएर राख्यो । उक्त कम्पनीलाई सडक डिभिजन कार्यालयले चार किलोमिटर सडक निर्माणका लागि पनि तीन वर्षको समय दिएको थियो । त्यो पनि सडक खण्डमा पर्ने पुल निर्माणको योजना नै नसमेटेर । २०७४ साल चैत २९ गते सम्झौता भएर २०७७ साल चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी खुकुलो समय दिएर ठेक्का लगाइएको उक्त सडक समयमा त निर्माण भएन भएन, सडकको गुणस्तर पनि यति खत्तम भयो कि स्थानीय नागरिकहरूले विरोध गर्दै पटक पटक सडकमा आन्दोलन गर्नुप¥यो ।
नागरिकहरूको आवाजलाई निर्माण कम्पनीले त बेवास्ता ग¥यो नै सडक डिभिजनले पनि सुनुवाइ गरेन । तीन वर्षको सम्झौता रहेकोमा ६ वर्षपछि बल्ल सडक डिभिजनले समयमा काम पूरा गर्न नसकेको भन्दै २०८० साउन २८ गते सम्झौता रद्द गरेको सूचना जारी ग¥यो । सडक डिभिजनले सम्झौता रद्द गरेको पनि दुई वर्ष बितिसकेको छ । तर, सडकको हालत उस्तै छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव सडक निर्माण पूरा नगरी अलपत्र छोडिनुमा ठेकेदार मात्रै नभै सडक डिभिजन कार्यालय पनि दोषी रहेको बताउँछन् ।
उनले सडक डिभिजनले गलत निर्माण व्यवसायी छान्ने र निर्माणको कामको अनुगमन नगर्ने गरेर सडक डिभिजनले गल्ती गरेको बताए । ‘यतिजाबो सडक त्यहाँबाट हुँदैन भने हामी नै बनाउन सक्छौँ नि । समयमै कम्पनीलाई कारबाही गर्न सकेको भए अहिलेसम्म नागरिकले दुःख पाउनुपर्ने थिएन,’ नगर प्रमुख यादवले भने । सडक निर्माणमा ठेकेदारले गरेको काममा अनुगमन गर्ने र नियमन गर्ने काममा सडक डिभिजनले गरेको गल्तीको अर्काे उदाहरण खजुरा क्षेत्रमा पुरानो पिच नभत्काइकनै माथिबाट ग्रिन बेल्ड बनाइएको भेटिनु पनि हो । त्यसरी बनाइएको ग्रिन बेल्टमा लगाइएका बिरुवाहरू नहुर्किएपछि आफूहरूले खनेर फेरी माटो भर्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल बताउँछिन् ।
अहिले उक्त सडकको अवस्था हेर्दा सकडमा गरिएको लगानी खेर जाने अवस्था आएको छ । उक्त सडक अहिले जुन हालतमा त्यो निर्माण भए नभए बराबरको रहेको बताउँछन्, गुलरियाका सन्देश शर्मा । उनले सडकको मध्यभागमा बनाइएको डिभाइडर (ग्रिन बेल्ट)मा अहिलेसम्म माटो नभरिएको, ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको देखाउँदै उनले भने, ‘जिल्लाको सदरमुकाममा यस्तो हालत छ । यस्तो अवस्था देखेर यहाँका नेताहरूलाई लाज लाग्नुपर्ने हो । आँखैअघि यस्तो खराब सडक बनाइरहँदा कसैले बोलेनन् । अहिले पनि कसैले यसका लागि पहल गरेको देखिन्न ।’
यता खजुराको सडकमा पनि त्यस्तै हालत छ । सडकमा गरिएको कालोपत्रे उबडखाबड छ । नाली क्षेत्र राम्ररी निर्माण गरिएको छैन । बीचको डिभाइडरमा पनि माटो नभरेर अलपत्रै छाडिएको छ । खजुराका नागरिकहरू अहिले उक्त सडकको हालत देखेर सबै तहका सरकारसँग आक्रोशित छन् । यता सडक डिभिजनले भने कम्पनीलाई कारबाही गरेको दुई वर्ष बितिसक्दा पनि उक्त क्षेत्रको सडक निर्माण कार्य पूरा गर्नेतर्फ पहल चालेको छैन । यसका पछाडि पनि सडक निर्माणको ठेक्का लिएको कम्पनीलाई नै दोषी देखाउँछ सडक डिभिजन कार्यालय । सडक डिभिजन नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर (सिडिई) नरेन्द्रप्रसाद भट्ट ठेकेदार कम्पनी अदालत जानु र अदालतले अन्तरिम आदेश जारी गर्नुलाई काम अघि नबढ्नुको कारण रहेको बताउँछन् ।
तर, केही दिनअघि अदालतले उक्त मुद्दामा फैसला गर्दै सडक डिभिजनले २०८० सालमै गरिएको ठेक्का सम्झौता रद्दको निर्णयलाई गलत नदेखाएपछि अब नयाँ ठेक्का आह्वानको मार्ग प्रशस्त भएको बताउँछन् । सिडिई भट्टले सडक डिभिजनले सडक विभागलाई उक्त दुवै सडकखण्ड हुलाकी सडकमार्फत निर्माण गर्नका लागि लेखिपठाएको बताउँछन् । भट्टले भने, ‘उक्त सडकखण्डहरू हुलाकी राजमार्गअन्तर्गत नै पर्छन् । विगतमा सडक डिभिजनमाफर्त बजेट आएर कार्यान्वयन भयो ।
अहिले हुलाकी सडकमार्फत नेपालगन्ज–गुलरिया सडकको काम सम्पन्न भएको र काम पनि गुणस्तरीय भएको छ । हामीले सडक विभागलाई अब अधुरो रहेको खण्डको काम पनि हुलाकी सडकबाटै गराउन सुझावसहित लेखिपठाएका छौँ ।’ खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल पनि उक्त सडक हुलाकी सडकमार्फत नै बनाउँदा उपयुक्त हुने र त्यसका लागि आफूहरूले पनि पहल गर्ने बताउँछिन् । यसअघि गाउँपालिकाका तर्फबाट पनि उक्त सडक हुलाकी सडक आयोजना कार्यालयबाटै निर्माण गरिनुपर्ने भन्दै दबाब दिइएको थियो ।









प्रतिक्रिया दिनुहोस्