बिच्छ्याँ बाढीमा भएको क्षति सार्वजनिक



कोहलपुर (बाँके)।

बाजुराको हिमाली गाउँपालिकाले वडा नम्बर १ र ५ मा बाढीका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बसेको हिमाली गाउँपालिकाको कार्यपालिका बैठकले वडा नम्बर १ र ५ मा भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । उक्त कार्यपालिका बैठकले क्षतिको विवरणसहित संरचनाहरूको पुनर्निर्माण, राहत र अन्य सहयोगका लागि विभिन्न पाँचवटा निर्णय गरिएको छ ।

हिमाली गाउँपालिकाको कार्यपालिकाका बैठकको निर्णयको प्रारम्भमै भनिएको छ, ‘साउन २८ गते आएको अविरल वर्षा र बामु गाउँमाथि पाटनबाट ठूलोे मात्रामा पानी आउँदा बिच्छ्याँ खोला र कुवाडी नदीमा आएको बाढीले हिमाली गाउँपालिका वडा नम्बर १ र ५ मा प्रारम्भिक तथ्यांकको आधारमा व्यक्तिगत र सार्वजनिक आयोजनाहरूमा क्षति पु¥याएको तथा बगाएर लगेको हुँदा सहयोगको लागि सम्बन्धित निकायमा अनुरोध गरी पठाउने निर्णय गरेको छ ।’

बाढीबाट वडा नम्बर १ का ८ जनाको व्यक्तिगत घरहरूमा पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण वडा नम्बर १ मा छञ्चलाल थापा, रविलाल बोहोरा, कर्मलाल बोहोरा, भिमराज बोहोरा, आईसिंह बोहोरा, चन्द्रलाल बोहोरा, धनरुप बोहोरा र नरेन्द्र बुढाको घरसहित पसलसमेत पूर्णरूपमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, वडा नम्बर ५ मा १८ वटा घरमा पूर्णक्षति भएको छ भने वडा नम्बर १ का ९ र वडा नम्बर ५ का ३१ वटा घर गरेर कूल ४० वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीकै कारण वडा नम्बर ५ मा रहेको कुवाडी खोला लघु जलविद्युत् आयोजनाको मूलड्याम साथै १२ सय मिटर आरसीसी नहर संरचना र सोसँगै रहेको ग्याविन वाल सबै बगाएर लगेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

उनका अनुसार उक्त पावर हाउसको भित्र रहेका सबै मेसिनरी उपकरणमा क्षति पु¥याएर हिमाली गाउँपालिका वडा नम्बर ४, ५ र ६ का १ हजारभन्दा बढी घरधुरीलाई विद्युत् प्रवाह गरिरहेको आयोजनाको कूल २ करोड ५० रूपैयाँ बराबरको क्षति भई सेवा अवरुद्ध भएको छ । वडा नम्बर ५ स्थित गोलि सिँचाइ योजना, विउरी सिँचाइ योजना, सागुचौर सिँचाइ योजना, कुवाडी सिँचाइ आयोजनाहरूको संरचनामा क्षति भएकोले खोलाले बाँकी रहेको खेतमा लगाएको धान बालीसमेत सिँचाइ नहर नहुँदा क्षति भएर जाने देखिएको अध्यक्ष उनले बताए ।

यस्तै हिमाली गाउँपालिका वडा नम्बर १ को सुनन्दा आधारभूत विद्यालयको भवन, बिच्छ्याँ माध्यमिक विद्यालयको फिल्ड तथा घेराबार आरसीसी पक्की गेटसमेत भत्किएको हुँदा पुनर्निर्माणको लागि सहयोग गर्ने निर्णय गरिएको छ । वडा नम्बर १ मै रहेका ४ वटा आधुनिक घट्ट र वडा नम्बर ५ मा रहेका ६ वटा आधुनिक घट्ट बगाएको हुँदा सहयोग रहेको उनको भनाइ छ । ‘वडा नम्बर १ र ५ मा धेरै क्षति भएको छ । गाउँपालिकाले सक्ने सहयोग गरेको छ । अन्य सहयोगका लागि अन्य सहयोगी निकायलाई अनुरोध गर्ने निर्णय भएको छ,’ अध्यक्ष मल्लले भने ।

यसैगरी वडा नम्बर १ र ५ मा क्षति भएका ठूलो संरचनाहरूको पुनर्निर्माणको लागि सहयोग र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार, संघीय सरकार, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायतका निकायमा सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै बाढीमा ७० वटा बाख्रा मर्नुका साथै खेतीयोग्य जमिनमा क्षति पुगेको हुँदा राहतको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार