नेपालगन्जबाट गोली चलाएर दुई लागूऔषध कारोबारी पक्राउ



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज बजारमा प्रहरीले गोली चलाएर दुईजना लागूऔषध कारोबारीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बहराइच जिल्ला रुपैडिहा बस्ने करिब २० वर्षीय कार्तिक कुम्हार र सोही ठाउँमा २० वर्षीय अजय कुम्हार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

नेपालगन्ज– ४ बसपार्कमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज बाँकेबाट प्रहरी सहायक निरीक्षक नवीनकुमार शाही र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगन्जबाट प्रहरी नायब निरीक्षक बिष्णु शाहीको कमाण्डमा खटिएको टोलीमाथि आरोपीहरूले आक्रमण गरेपछि गोली चलाउनुपरेको डीएसपी पातलीले बताए ।

प्रहरी टोलीले टाइप ५४ चाइनिज पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो । कार्तिक कुम्हारको दाँया खुट्टाको पिडुलामा गोली लागी घाइते भएका उनलाई संजिवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगन्जमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको डीएसपी पातलीले जानकारी दिए । आरोपीहरूको चक्कु र सिसाको बोटलले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक नवीनकुमार शाहीको दाँहिने पाखुरामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

आरोपीहरूको साथबाट एक सय ११ ग्राम ब्राउनसुगर पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रामप्रसाद घर्ति मगरको कमाण्डमा पनि प्रहरी टोली खटिएको थियो ।

यसैगरी प्रहरीले सोही समयमा बसपार्कबाटै नेपालगन्ज– ५ फुल्टेक्रा बस्ने २५ वर्षीय फैजान अन्सारी र सोही ठाउँ बस्ने २२ वर्षीय मोहम्द अफाक शाहलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट ५० ग्राम दुई सय ४० मिलिग्राम ब्राउनसुगर पनि बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरू पनि भारतीय कारोबारीसँगै लागूऔषधको कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको डीएसपी पातलीले जानकारी दिए ।

यसैगरी, शुक्रबारै वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले नेपालगन्जको त्रिभुवनचोक नजिकैबाट ४४ वर्षीय रसुल अहमद कबाडियालाई ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यस्तै बिहीबार अस्थायी प्रहरी पोष्ट नगरभवन नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज– ३ एकलैनीबाट दाङ तुलसीपुर– ६ बस्ने २८ वर्षीय विरबहादुर विकलाई ४७ ग्राम सात सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार