काठमाडौँ ।
भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ ले सुरूमा यसको नाम ‘जनै हराएको बाहुन ः सम्बन्धका धागाहरू’ राखेको थियो । तर निर्माणपक्षले केही समयपछि नाममा केही परिवर्तन ग¥यो । बाहुनका ठाउँमा मान्छे राख्यो ।
निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिहरूले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरिएको थियो । यद्यपि, फिल्मका निर्देशक हिमाल न्यौपानेले यसलाई धार्मिक दृष्टिकोणले नहेर्न आग्रह गरेका छन् । विषय र प्रसंगले जुरेको नामका आधारमा फिल्म नै धार्मिक हो कि भन्ने आंशका गरिए पनि यो विशुद्ध सामाजिक कथा भएको उनले बताए ।
उनले भने, ‘हाम्रो फिल्म धार्मिक होइन । सामाजिक कथा हो । विषयसँग जोडिएर जनै भन्ने शब्द आइपुगेको मात्रै हो ।’ उनले सिर्जनात्मक काममा अनावश्यक झमेला नहोस् भन्ने उद्देश्यले नाम परिवर्तन गरिएको प्रष्ट पारे । न्यौपानेले भने, ‘हामी सिर्जनात्मक काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौँ । काम गर्ने कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौँ भनेर शब्द परिवर्तन गर्यौँ ।’
न्यौपानेले सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा पनि जोड दिए । सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्ने उनले धारणा राखे । फिल्म ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारहरूको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी छ ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो । ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ आउँदो शुक्रबार रिलिज हुनेछ । यसलाई गोविन्द शाहीको काफिया फिल्मसले देशभरका हलमा वितरण गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्