नेपालगन्जमा बढ्दै चलचित्रका दर्शक



नेपालगन्जमा खुलेका सुविधासम्पन्न चलचित्र घरहरूले पनि दर्शकहरूलाई आकर्षण गरेको विश्लेषण भइरहेको छ । नेपालगन्ज आसपासका सहरहरूमा सुविधासम्पन्न हलहरू नभएका कारण मानिसहरू नेपालगन्ज आएका बेला चलचित्र हेर्नेक्रम पनि उत्तिकै छ । बाँके, बर्दिया, कैलालीमा नेपालगन्ज र धनगढीबाहेक अन्त चलचित्र हलहरू समेत छैनन् ।
नेपालगन्ज ।

शुक्रबार नेपालगन्जस्थित सिने रोयलमा दर्शकहरूको भीडभाड थियो । हलमा चलिरहेका मध्ये नेपाली चलचित्र मोहर र हिन्दी चलचित्र ‘वार २’ हाउसफुल चलिरहेका थिए । भारतको नानपाराका रोहित कुमार आफ्ना १० जना साथिहरूसहित हिन्दी चलचित्र ‘वार २’ हेर्न सिने रोयलमा पुगेका थिए । तर, दिउँसो ३ बजेको शोमा हाउसफूल भएपछि उनीहरू साढे ६ बजेको शो हेर्ने कि घर फर्किने दोधारमा थिए ।

रोहितले आफूहरू फिल्म हेर्नका लागि नेपालगन्ज नै आउने गरेको बताए । ‘हामीहरूलाई फिल्म हेर्नुपर्याे भने कि बहराइच कि त लखनउ पुग्नुपर्छ । हामीलाई नजिक पर्ने भएकोले प्रायः नेपालगन्ज नै आउँछौँ,’ रोहितले भने । सिने रोयलका सिओओ रितेश श्रेष्ठ पनि सिने रोयलमा आउने दर्शकहरूमा ४० प्रतिशत दर्शकहरू भारतीय हुने गरेका दाबी गर्छन् । हिन्दी चलचित्र हेर्न आउनेमा यो सङ्ख्या अझै बढी रहेको उनको भनाइ छ ।

नेपालगन्जकी चाँदनी बोहरा चलचित्रकी नियमित दर्शक हुन् । उनले प्रायः नेपाली फिल्महरू नछुटाएर हेर्ने गरेको बताइन् । चर्चामा आएका हिन्दी चलचित्रहरू पनि हेर्ने गरेको उनले बताइन् । ‘प्रायः शुक्रबार र शनिबार साथिहरू मिलेर फिल्म हेर्न आउँछौँ । राम्रो भनेर चर्चा भएको चलचित्र सकेसम्म छुटाउन मन लाग्दैन,’ उनले भनिन् ।

पछिल्लो दुई वर्षमा सिने रोयलमा मात्रै पाँच लाख टिकट बिकेका छन् । परदेशी, घरज्वाईँ, पूर्णबहादुरको सारंगी, उनको स्वीटर र एन्जिला गरी पाँचवटा नेपाली चलचित्रहरू ५१ दिनभन्दा बढी हलमा टिके । यसले पनि नेपालगन्जमा मनोरन्जनका लागि सिनेमा हेर्नहरूको सङ्ख्या उल्लेखनीय रहेको देखाउँछ । प्रायः हिन्दी चलचित्रको दबदबा रहने हलहरूमा नेपाली चलचित्र हेर्ने दर्शकहरू बढेको पनि चलचित्र हलमा टिक्नुले पुष्टि गर्छ । चलचित्र पूर्णबहादुरको सारंगीले त नेपालगन्जका सिने रोयल र क्युएफएक्स बागेश्वरी गरी दुईवटा हलमा गरेर दुई करोड बढीको कमाई गर्न सफल भयो ।

बुधबार सिने रोयलमा दर्शक भेटघाटका लागि पुगेका चलचित्र मोहरका अभिनेता पल शाह, अभिनेत्रीहरू बेनिशा हमाल, नीति शाहलगायतलाई दर्शकहरूले घेरेर राखे । पललाई फ्यानहरूलाई सेल्फी दिन नै हम्मे हम्मे भयो ।

चलचित्रका दर्शकहरू बढ्नुमा पछिल्लो समय सामाजिक सञ्जालबाट हुने बलियो प्रचारप्रसारका साथै नेपाली सिनेमाहरूको गुणस्तर बढ्नु, सिनेमामा विविधता, मौलिकता लगायत प्राविधिक पक्षमा भएको सुधारले भुमिका खेलेको चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेल बताउँछन् । यसका साथै सञ्चारमाध्यममा चलचित्रका विषयले प्राथमिकता पाउनुले केही न केही योगदान दिएको उनको भनाइ छ । अर्को सिनेमाको रिभ्युका कारण पनि दर्शकहरू हलसम्म पुग्ने गरेको संघका अध्यक्ष पौडेलको विश्लेषण छ ।

अहिले दर्शकहरूले आफ्नो सामाजिक सञ्जालबाट चलचित्र हेरिसकेपछि दिने प्रतिक्रियाले अरु दर्शकहरूलाई पनि हलसम्म तान्ने गरेको हल सञ्चालकहरू बताउँछन् । विशेषगरी कोरोनाकालमा सिनेमा हलहरू चल्दैनन् कि भन्ने अन्यौलता रहेकोमा त्यसपछिका वर्षमा दर्शकहरू फेरि हलमा जान थालेपछि नेपालगन्जमा ठूलो लगानीमा अर्काे हल सञ्चालनमा ल्याइएको थियो ।

अर्काेतिर युवा पुस्ता लक्षित गरेर चलचित्र प्रसारको शैली अपनाइँदा त्यसले पनि धेरै दर्शकहरूलाई तानेको देखिन्छ । चलचित्रको अभिनेताहरू नै प्रसारप्रसारमा विभिन्न हलहरूमा पुग्ने गरेका छन् । केही वर्षअघिसम्म नेपालगन्जमा विरलै देखिने चलचित्र अभिनेताहरू अहिले हरेक चलचित्रको प्रचारका लागि नेपालगन्ज आउने गरेका छन् ।

चलचित्रका दर्शकहरूले महानायकका रूपमा चिन्ने अभिनेता राजेश हमाल पनि आफ्नो अभिनय रहेको सिनेमा नरसिंहाको प्रचारप्रसारका लागि नेपालगन्ज आएका थिए । आफ्नो मनपर्ने कलाकार र सेलिब्रिटीहरू आउने नियमति क्रम चलेपछि दर्शकहरू बिस्तारै हलमै पुगेर चलचित्र हेर्ने क्रम बढेको देखिन्छ ।

अर्काेतिर नेपालगन्जमा खुलेका सुविधासम्पन्न चलचित्र घरहरूले पनि दर्शकहरूलाई आकर्षण गरेको विश्लेषण भइरहेको छ । नेपालगन्ज आसपासका सहरहरूमा सुविधासम्पन्न हलहरू नभएका कारण मानिसहरू नेपालगन्ज आएका बेला चलचित्र हेर्नेक्रम पनि उत्तिकै छ ।

बाँके, बर्दिया, कैलालीमा नेपालगन्ज र धनगढीबाहेक अन्त चलचित्र हलहरू समेत छैनन् । चलचित्र कर्मीहरूले नेपालगन्जमा बनेका हलहरूको राम्रो प्रशंसा गर्ने गरेका छन् । राजेश हमाल नेपालगन्ज आएका बखत पनि उनले हलहरूको प्रशंसा गरेका थिए । उनले भनेका थिए, ‘राम्रो राम्रो चलचित्र भवन बनेको रहेछ । दर्शकहरूको त्यतिकै भिडभाड । त्यसले हामीलाई खुसी बनाएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार