बिच्छयाँमा बाढीले वितण्डा



बाम पाटनदेखि बिच्छयाँ क्षेत्रको बीचमा ठूलोे जंगलसमेत रहेको छ । पाटन क्षेत्रमा ठूलोे मात्रामा पानी आएको र ठूलो ठूलो रूखहरूसहित लेदोसहितको बाढीले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । वडा नम्बर १ को बाम पाटन, बिच्छयाँ खोला हुँदै वडा नम्बर ५ जोड्ने कवाडी खोला जोड्ने गर्दछ । बाढीका मुख्य प्रभावित क्षेत्र वडा नम्बर १ र वडा नम्बर ५ नै रहेका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

सुदूरपश्चिम प्रदेशको हिमाली गाउँपालिका बाजुराको विकट पालिका हो । हिमालीमा ८ वटा वडा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै विकट भएको वडा नम्बर १ हो । जहाँ पुग्न पालिकाको मुकाम धुलाचौरबाट सवारीसाधनमा २ घण्टाको यात्रा गर्नुपर्छ । त्यसपछि ५ घण्टा पैदल हिँडेपछि पुगिन्छ । बिच्छयाँ हिमालीको वडा नम्बर १ को मुकाम हो । त्यहीँ बुधबार बिहान एक्कासि आएको बाढीका कारण करोडौँको क्षति पुगेको छ । वडा नम्बर १ र ५ का दर्जनौँ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुगेको छ । वडा कार्यालय, विद्यालय भवन, पसल तथा अन्य सार्वजनिक सम्पत्तिमा समेत क्षति पुगेको छ ।

बुधबार बिहान साढे छ बजेदेखि बाढी आउन सुरु गरेको थियो । बिहान ७ बजेसम्म आएको बाढीले हिमालीमा दुईवटा वडामा करोडौँ मूल्य बराबरको भौतिक क्षति गरेको हो । गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार उक्त बाढी हिमाली १ को बाम पाटनबाट आएको हो । उच्च हिमाली क्षेत्रमा अवस्थित बाम पाटनमा बाक्लो हिउँ जमेर रहने गर्दछ । अध्यक्ष मल्लले बिहीबार मिसन टुडेसँग टेलिफोनमा भने, ‘हिमाली १ को उच्च भूभागमा बाम पाटन रहेको छ । धेरै चिसो क्षेत्र भएकोले हिउँ जम्छ । हिमालीमा पछिल्लो तीन दिनयता भारी वर्षा भइरहेको थियो । एक्कासि अकल्पनीय बाढी आयो । धेरै नोक्सान भएको छ ।’

बाम पाटनको हिउँ पग्लिएर ठूलोे बाढी आएको हुनसक्ने उनले बताए । बाम पाटनदेखि बिच्छयाँ क्षेत्रको बीचमा ठूलोे जंगलसमेत रहेको छ । पाटन क्षेत्रमा ठूलोे मात्रामा पानी आएको र ठूलो ठूलो रूखहरूसहित लेदोसहितको बाढीले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ । वडा नम्बर १ को बाम पाटन, बिच्छयाँ खोला हुँदै वडा नम्बर ५ जोड्ने कवाडी खोला जोड्ने गर्दछ । बाढीका मुख्य प्रभावित क्षेत्र वडा नम्बर १ र वडा नम्बर ५ नै हुन् । जिल्ला प्रहरी कार्यालय बाजुरा र हिमाली गाउँपालिकाले दिएको जानकारीअनुसार वडा नम्बर १ मा कूल १३ वटा घरमा बाढीले क्षति पु¥याएको छ । तीमध्ये वडा नम्बर १ को बिच्छयाँका ८ वटा घरमा पूर्णरूपमा क्षति पुगेको छ भने पाँचवटा घरमा आंशिक क्षति पुगेको छ । ‘वडा कार्यालयमा क्षति पुगेको छ ।

बिच्छयाँ माविको खेल मैदान पूर्णरूपमा क्षतिग्रस्त भएको छ । पसलसमेत बगाएको छ । खानेपानी आयोजना ध्वस्त भएको छ । बाम र बिच्छयाँ जोड्ने झोलुंगे पुलसमेत जोखिममा परेको छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष मल्लले भने । वडा नम्बर १ मा बाढीपछि खानेपानी, विद्युत् र सञ्चारबाट पूर्णरूपमा सम्पर्कविच्छेद भएको उनको भनाइ छ । त्यहाँ घटना भएको केही छिनमै तीनजना प्रहरीको टोली बिच्छयाँतर्फ गएको थियो । उनीहरू सुरक्षित छन् भन्ने छ तर पालिकासँग सम्पर्क हुन नसकेको उनले बताए । यस्तै वडा नम्बर १ मा घरभन्दा अलग्गै बनाएको बाख्राको खोरमा समेत बाढी पस्दा ५० वटा बाख्रा बगाएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बिच्छयाँ बाढीका कारण धेरै क्षति वडा नम्बर ५ मा पुगेको छ । वडा नम्बर १ हुँदै वडा नम्बर ५ जोड्ने कवाडी खोला कर्णाली नदीको सहायक नदी हो । बाम, बिच्छयाँ हुँदै आएको बाढी कवाडीमा मिसिँदा वडा नम्बर ५ ले समेत ठूलोे क्षति बेर्होनुपरेको गाउँपालिका अध्यक्ष मल्ल बताउँछन् । उनका अनुसा उक्त वडाका १८ वटा घरमा पूर्णरूपमा क्षति÷बगाएको छ । त्यहाँका १० वटा घर उच्च जोखिममा रहेका छन् । बाढीले ६ वटा घट्ट, ४ वटा सिँचाइ कुलो र एउटा विद्युत्को नहर र पावर हाउस नै बगाएको अध्यक्ष मल्लको भनाइ छ । करिब २ करोडका लगानीमा निर्माण गरिएको कवाडी खोला जलविद्युत् आयोजनाले तीनवटा वडामा विद्युत्को पहुँच पु¥याएको थियो ।

आयोजनाबाट वडा नम्बर ४, ५ र ६ का १२ सय बढी घरधुरीले विद्युत् बाल्दै आएका थिए । पालिकाको मुकाम रहेको धुलाचौरका १५ शय्याको अस्पताल, सरकारी कार्यालय तथा निजी प्रयोजनका लागिसमेत उक्त विद्युत्को प्रयोग हुँदै आएको थियो । अहिले ती वडाहरूमा पूर्णरूपमा विद्युत् अवरुद्ध भएको छ । ‘वडा नम्बर ५ का सयौँ नागरिक घरबाट विहीन भएका छन् । उनीहरूको अल्पकालीन व्यवस्थापन गरिएको छ । ठूलोे बस्ती भएकोले अन्य समस्या भने छैन्,’ वडा नम्बर ५ को प्रभावित क्षेत्रको स्थलगत अवलोकनपश्चात् त्यहाँको अवस्थाका बारेमा जानकारी दिँदै उनले भने ।

अहिले घरबारविहीन भएका नागरिकहरूलाई अस्पताल र बोडिङ स्कुलको भवनमा आश्रय प्रदान गरिएको छ । यसैगरी वडा नम्बर ५ का विभिन्न बस्तीमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनमा समेत पूर्णक्षति भएको गाउँपालिकाले जनाएको छ । ती खेतमा धान लगाइएको थियो । धान त्यहाँको प्रमुख बाली हो । वडा नम्बर ५ का नागरिकले धानबाटै जीविकोपार्जन गर्दै आएका थिए । बाढीका कारण करिब २ सयदेखि ३ सय जनाको घरमा भोकमरीको अवस्था सिर्जना हुने जोखिम बढेको अध्यक्ष मल्ल बताउँछन् ।

उनले वडा नम्बर १ र ५ गरी अनुमानित १५ देखि २० करोडसम्म क्षति पुगेको आकलन गरिएको बताए । ‘मैले बाढी प्रभावित क्षेत्रको अनुगमन गरे । त्यहाँ धेरै क्षति भएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर यकिन विवरण पेस गर्न भनेको छु । यकिन विवरण आयो भने आज शुक्रबार नै गाउँपालिकाले राहत वितरण गर्छ,’ उनले भने । बाढी प्रभावित वडा नम्बर १ मा भने वडा कार्यालयले राहत वितरण गरेको उनले जानकारी दिए । त्यहाँ गाउँपालिकाले वर्षायाममा जोखिम हुने आकलन गरेर यसअघि नै वडामा त्रिपाल र उद्धारका सामान, औषधि खाद्यान्न, कपडा लगायतका विपद् सामग्रीसमेत स्टक राखेको थियो । बाढी आउनेबित्तिकै समस्यामा परेका नागरिकलाई राहत प्रदान गरिएको उनले बताए । यस्तै वडा नम्बर २ र ३ मा समेत यसअघि राहत सामग्री पुगिसकेको थियो ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बाढीका कारण धेरै क्षति भएको बताए । उनका अनुसार बाढीको सूचनापछि नै कार्यालयअन्तर्गतका युनिट प्रभावित क्षेत्रमा खटिएका छन् । नागरिकहरूलाई थप समस्या नहोस् भनेर आवश्यक जनशक्ति परिचालन गरिने उनले बताए । आवश्यक परे जिल्ला सदरमुकामबाट समेत थप जनशक्ति पठाइने डीएसपी इकवालको भनाइ छ ।

जिल्ला सदरमुकाम मार्तडीबाट हिमालीको पालिका मुकाम धुलाचौरको दूरी ४२ किलोमिटर रहेको छ । बुधबार एक्कासि बाढी आएपछि गाउँपालिकाका अध्यक्ष मल्लसहित स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारी, रोजगार शाखा प्रमुख विर्ष पाण्डे, कवाडी प्रहरी चौकी प्रमुखसहितको प्रहरी टोली, राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूको टोलीले स्थलगत अनुगमन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार