२२ लाख बढी रकम, लागूऔषध र सुनचाँदीसहित नेपालगन्जबाट एकजना पक्राउ



नेपालगन्ज ।

बाँके प्रहरीले एकजनालाई लागूऔषध र सुनचाँदीसहित पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले नेपालगन्ज १४ उधौपुरुवाका २८ वर्षीय रमेश लोनियाको साथबाट लागूऔषध र उनको घर खानतलासी गर्ने क्रममा सुनचाँदीका गरगहना बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार लोनियाको साथबाट १५ ग्राम पाँच सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो ।

त्यसपछि लोनियाको घरकोठामा पनि खानतलासी गर्दा नेपाली र भारतीय रूपैयाँ गरी २२ लाख तीन हजार नौ सय १५ रूपैयाँ, चाँदी र सुनका गहना, पाँच थान खुकुरी, एक थान क्यामेरा र १० थान विभिन्न कम्पनीका मोबाइल र दुईवटा मोटरसाइकलहरू बरामद गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जारी गरेको विज्ञप्तिअनुसार लोनियाको कोठाबाट चाँदीको कडा २ थान, औँठी ३३ थान, सिक्का २१ थान, कानमा लगाउने रिङ चार थान, कानमा लगाउने झुम्का चार थान, ब्रासलेट पाँच थान, जन्तर १ थान, पायल १४ थान, माला ५ थान, ठूलो माला तीन थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रासलेट दुई थान, पायल ठूलोे २ थान र टुक्राहरू ११ थान बरामद गरिएको छ ।

यसैगरी सुनको कडा ६ थान, हार २ थान, सिक्री तीन थान, बाली एक थान, झुम्का तीन जोडी, औँठी चार थान, सिक्रीको लकेट दुई थान, नाकको फुली एक थान, रिङ ६ थान, तिलहरी दुई थान, मंगलसुत्र पाँच थान र जन्जिर दुई थान गरी गहनाहरूसमेत बरामद गरिएको उनले जानकारी दिए ।

त्यसैगरी खुकुरी ५ थान, क्यानन डिएसएलआर क्यामरा १ थान र विभिन्न कम्पनीका एन्ड्रोइन मोबाइल १० थानसमेत बरामद गरिएको छ । डीएसपी पातलीका अनुसार पक्राउ परेका लोनियामाथि थप अनुसन्धान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार