नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेश सरकारले अब विपन्न नागरिक बिरामी भई उपचार सेवा लिएमा २० हजारसम्म यातायात खर्च दिने भएको छ भने उपचारकै क्रममा मृत्युु भए धार्मिक संस्कार गर्न शववाहन खर्च वापतको रकम भुुक्तानी गर्ने भएको छ । विकट भूगोल र आर्थिक विपन्नताका कारण उपचारका लागि अस्पताल पुग्न वा उपचारपछि घर फर्कन नसक्ने नागरिकका लागि प्रदेश सरकार साहारा बनेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षदेखि बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने घोषणा गरेको छ ।
यसका लागि सम्बन्धित वडाको सिफारिससहित उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी भएको सिफारिस गर्नुुपर्ने सर्त राखिएको छ । यस्तो सिफारिससहित मन्त्रालयमा निवेदन गरेबमोजिम भौगोलिक दूरीको आधारमा पाँच हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
उनका अनुसार आर्थिक अभावले अस्पतालको यात्रा तयगर्न नसक्ने वा उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्नेहरूको पीडालाई सरकारले सम्बोधन गरेको हो । आर्थिक अवस्था कमजोर भएकै कारण कुनैपनि नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम बनाइएको मन्त्री भण्डारीले जानकारी दिए । यो सुविधाले दुर्गमका गरिब जनतालाई ठूलोे सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शववाहन बापतको खर्च रकम पनि मन्त्रालयले व्यहोर्ने भएको छ ।
मन्त्रालयका अनुसार प्रदेशभित्र बसोबास गर्ने नागरिकहरूमा देखापर्ने कडा प्रकारका रोगहरू मुटुरोग, क्यान्सर, स्पाइनल इञ्जुरी, मृगौला प्रत्यारोपणका बिरामीहरूको उपचार सहयोगका लागि विपन्न नागरिक उपचार सहायता कार्यक्रम सञ्चालन गरिएको छ । ‘नेपाल सरकारले पनि देशभर विभिन्न अस्पतालमा उपचार गराएका विभिन्न कडा प्रकारका रोगहरूको उपचार सहायतावापत रोगको प्रकृतिको आधारमा उपचार सहायता रकम प्रदान गर्दै आएको छ,’ मन्त्री भण्डारीले भने, ‘प्रदेशभित्र बसोबास गर्ने नागरिकहरूलाई कडा प्रकारका रोगहरूको उपचारपश्चात् जनही अधिकतम एक लाखसम्म सहायता रकम उपलब्ध गराइएको छ । जसमध्ये १३१ जना बिरामीहरूलाई एक करोड १४ लाख रकम प्रदान गरिएको छ ।’
उक्त कार्यक्रमको निरन्तरता दिँदै आर्थिक वर्ष २०८२–८३ मा कडा रोगहरूमा अन्य नयाँ रोगहरूलाई पनि थप गरिएको छ । जसअन्तर्गत मुटुरोग, मृगौलारोग, क्यान्सर, पार्किन्सन्स, अलजाइमर्स, स्पाइनल इञ्जुरी, हेडइञ्जुरी, एनिमिया, रिकेटस, अटिजम र सिकलसेल एनिमिया रहेका छन् । यी रोगका बिरामीले नजिकको सेवा प्रदायक स्वास्थ्य संस्थामा उपचार सम्भव नभई थप उपचारका लागि विशिष्टकृत स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा गई उपचार गर्नुपरेमा सहायता रकम प्राप्त गर्न सक्नेछन् ।
सेवाग्राहीलाई रकम उपलब्ध गराउँदा संघीय सरकारले उपचारवापत उपलब्ध गराउने रकममा अपुग हुने थप रकम मात्र प्रदान गरिने मन्त्रालयले जनाएको छ । साथै संघीय सरकार र प्रदेश सरकारको रकम दोहोरो नपर्ने गरि उपलब्ध गराइने उल्लेख छ । उपचार गरेका नागरिकलाई उपचार सहयोग खर्च उपलब्ध गराउँदा निजले खर्च गरेको सम्बन्धित अस्पतालको बीलवापत अधिकतम एक लाखसम्म सोधभर्ना गर्न सक्नेछन् । उक्त रकम स्वास्थ्य सेवा निर्देशनालयले यकिन गरी निजको व्यक्तिगत खातामा उपलब्ध गराउने छ ।
यसका साथै सामाजिक विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२–०८३ मा कर्णाली प्रदेशमा मृगौला तथा कलेजो प्रत्यारोपण गर्नुुपर्ने बिरामीहरूको उपचार सहयोगका लागि पनि रकम उपलब्ध गराउने तयारी छ । यसले बिरामीहरूको उपचारमा समेत सहयोग पुग्ने अपेक्षा छ । यस्तै, विपन्न र ज्येष्ठ नागरिकहरूको उपचार सहायताका लागि अस्पतालहरूमा सुविधा व्यवस्थापन गरिएको छ भने जन्मजात बहुअपाङ्गता भएका व्यक्तिका लागि उपचार सहयोग प्रदान गरिँदैछ ।









प्रतिक्रिया दिनुहोस्