निर्देशन नमानेपछि २८ कार्टुन काँचो स्याउ बरामद



जुम्ला ।

भदौ दोस्रो साताअघि स्याउ नटिप्न दिइएको निर्देशन पालना नगरेको भन्दै जुुम्लामा २८ कार्टुन काँचो स्याउ बरामद गरिएको छ । जिल्लाको पातारासी गाउँपालिका–६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काँचो स्याउ बरामद गरेको हो । कार्टुनमा प्याक गरिएको काँचो स्याउ बरामद गरेर पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबु रेग्मीले बताए । उनका अनुसार प्रहरीले सोमबार राति काँचो स्याउ बरामद गरी पालिकालाई बुझाएको हो ।

उर्थु प्रहरी चौकीले लुकिछिपी संकलन गरेर निर्यात गर्न लागेको अवस्थामा प्रहरीले स्याउ बरामद गरेको थियो । बरामद भएको स्याउ पातारासी–४ भोटगाउँका मक्कबहादुर रोकायाको बगैँचाबाट टिपेर व्यापारी हरिसप्रसाद देवकोटाले खरिद गरेका थिए । असारमा पाक्ने स्याउ भन्दै निर्यात हुन लागेको स्याउ प्रहरीले जाँच गर्दा काँचो भेटिएको हो । प्रहरीले काँचो स्याउ बरामद गरेर पालिकालाई बुझाउने गरेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए । हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएको उनले बताए । त्यही अनुसार प्रहरीले पनि काँचो स्याउ रोक्न कडाइ गरेको उनको भनाइ छ ।

पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीले तीन क्विन्टल स्याउ प्रहरीले पालिकामा बुझाएको जानकारी दिए । लुकिछिपी स्याउ टिपेर जिल्लाबाहिर लैजाने अवस्थामा स्याउ बरामद भएको उनले बताए । ‘निर्यात गर्न लागेको गोल्डेन र रेड जातको स्याउ स्याउ काँचो देखेपनि प्रहरीले पालिकामा बुझाएको छ,’ उनले भने, ‘जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभाले नै भदौ १५ गते सम्म स्याउ टिप्न नपाइने निर्णय गरेको छ ।’

उनका अनुसार बरामद गरेको स्याउ कानुनी प्रक्रिया पु¥याएर राखिने छ । किसान र व्यापारीले लुकिछिपी स्याउ टिपिरहेको सूचना आइरहेका छन् । तर स्याउको पहिचान खस्कने भन्दै स्थानीय सरकारले भदौ १५ गतेभन्दा अगावै स्याउ नटिप्न सूूचना जारी गर्दै आएका छन् । जुम्लाका एक नगरपालिका र सात गाउँपालिका सबैले काँचो स्याउ नटिप्न सूचना जारी गरेका हुन् । तर सुर्खेत, नेपालगन्ज लगायतका सहरमा जुम्लाको काँचो स्याउ पुगिसकेको छ ।

किसानहरू पछि राम्रो मूल्य नपाइने भन्दै स्याउ बिक्री गर्न खोजिरहेका छन् । तर स्थानीय सरकारहरू स्याउको पहिचान गुम्ने भन्दै रोक्ने प्रयास गरिरहेका छन् । अत्यधिक वर्षा भइरहेकोले सडक लामो समय रोकिनसक्ने भन्दै तीज अगावै स्याउ निर्यात गर्न व्यापारीको ध्यान गएको छ । त्यसैले हरेक पालिकामा रहेका र जुम्ला कालिकोट सिमानामा रहेको प्रहरीचौकीमा कडा चेकजाँच गर्न भनिएको छ । हाल जुम्लाको चार हजार २५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार किसान र व्यापारीको मिलोमत्तोमा असारमा पाक्ने स्याउको नाममा काँचो स्याउ लैजाने प्रवृत्ति देखिएको छ । प्रहरीले बरामद गरेको स्याउ काँचो भएको र अहिल्यै बेच्न उपयुुक्त नरहेको उनले बताए । प्रहरीले बरामद गरेको स्याउको अनुगमन गर्न कार्यालय प्रमुख अधिकारी नेतृत्वको टोली पातारासी नै पुगेको थियो । ‘डिप्याक्टो’ मिटरमार्फत् स्याउमा गुलकोजको मात्रा जाँच गर्दा काँचो रहेको पुष्टि भएको हो । स्याउमा न्यूनतम १० प्रतिशत गुलियोपना भरिएपछि बजारमा लैजान मिल्छ । उक्त स्याउबजारमा पठाउन उपयुक्त नदेखिएपछि एकहप्तासम्म कोठामै राख्न भनिएको छ । त्यसपछि मात्रै बजारमा पठाउने सहमति भएको कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार