सवारी दुर्घटना रोक्न ट्राफिक चेकजाँचमा कडाइ



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक सवारी दुर्घटना हुन थालेपछि प्रहरीले दुर्घटना रोक्न ट्राफिक चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरक्षा चेकजाँच अभियानलाई तीव्र पारीएको हो । मंगलबार मात्रै ट्राफिक चेकजाँचमा सयौँ सवारी चालक कारबाहीमा परेका छन् । कार्यालय प्रमुख एवम प्रहरी निरीक्षक वकील सुनारको नेतृत्वमा मंगलगढी चोकमा सवारी चेकजाँच गरिएको थियो ।

ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडी र यरिचोक लगायतका स्थानमा सवारी चेकजाँच गरेको प्रहरी निरीक्षक सुनारले बताए ।
‘केहि दिनअघि मात्रै वीरेन्द्रनगरमा एक अटो चालकले एक जना यात्रुुलाई ठक्कर दिएको थियो । ठक्करबाट ती पैदल यात्रीका चार वटा दाँत झरे। त्यसको उपचार गर्न मात्रै एक लाख ५० हजार लाग्ने भयो,’ उनले भने, ‘तर उक्त अटो चालकले अटोरिक्सा भाडामा लिई चलाइरहेका थिए। उनीसँग न बीमाको कागजात थियो, न त लाइसेन्स नै । ती चालकसँग डेढ लाख तिर्नसक्ने अवस्था नै थिएन । उनलाई जेलमा राखेर पैसा असुल गर्न सकिने अवस्था पनि भएन ।’

उनको यो भनाइलाई मात्रै आधार मान्ने हो भनेपनि वीरेन्द्रनगरमा सञ्चालित अधिकांश अटो चालकसँग सवारी चालक अनुमति पत्र छैन भने अधिकांशले बीमासमेत गरेका छैनन् । अटोले युवालाई रोजगारी त दिएको छ । तर यसले राजधानीमा दुर्घटनाको जोखिम पनि उच्च छ । ट्राफिक प्रहरीका अनुसार दुर्घटना भएको खण्डमा घाइतेको उपचार गर्नसक्ने सामथ्र्य चालकसँग नहुनु र लाइसेन्स नभएका कारण कसैको ज्यान गएको खण्डमा लामो समय कारागारमा बस्ने अवस्था आउनुजस्ता धेरै समस्या छन् ।

यसको समाधानका लागि प्रहरीले सचेतना फैलाइरहेको छ । उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ७४ वटा अटोरिक्सा दुर्घटनामा परेका थिए । वीरेन्द्रनगरमा अटोरिक्साका कारण दुर्घटना बढेको जनगुनासो आएपछि ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । हरेक दिनजसो वीरेन्द्रनगरमा सवारी दुर्घटना हुन थालेका छन् । सवारी दुर्घटनाबाट जनधनको क्षति बढ्दो छ । त्यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरिएको छ ।

दुर्घटना न्यूनीकरण गर्न सबैको साथ सहयोगको खाँचो छ । पछिल्लो एक वर्षको अवधिमा एक करोड ४५ लाख १५ हजार रूपैयाँँ राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार १५१ सवारीसाधनलाई कारबाही गर्दा एक करोड ४५ लाख १५ हजार रूपैयाँँ राजस्व संकलन भएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २९ लाख १५ हजार ५०० रूपैयाँँले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा १५ हजार ८४२ सवारीसाधनलाई कारबाही गर्दा एक करोड १५ लाख ९९ हजार ५०० रूपैयाँँ राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०८०–०८१ भन्दा गएको आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या घटेको ट्राफिक रेकर्डमा उल्लेख छ । जसमा ६७३ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु र एक हजार १८४ जना घाइते भएका थिए भने आर्थिक वर्ष २०८१–०८२ मा दुर्घटनाको सङ्ख्या घटेर ४२३ मा झरेको थियो । आर्थिक वर्ष २०८१–०८२ मा मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ । तीमध्ये २९ पुरुष, ६ महिला, एक बालक र तीन बालिका रहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुुई हजार ५३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार