भारतको उत्तराखण्ड राज्यको उत्तर काशी र पौडी गढवाल जिल्लामा बाढीपहिरोका दुई छुट्टाछुट्टै घटनामा परी २६ जना नेपाली नागरिक हराइरहेको पुष्टि भएको छ । बाढी मै सम्पर्कविहीन भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ का नरेन्द्र खड्का र वडा नम्बर ५ का अमृता परियारको सोमबार कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो ।

कोहलपुर (बाँके) ।
भारतको उत्तराखण्ड राज्यको उत्तर काशी र पौडी गढवाल जिल्लामा बाढीपहिरोका दुई छुट्टाछुट्टै घटनामा परी २६ जना नेपाली नागरिक हराइरहेको पुष्टि भएको छ । साउन २० गते धरालीमा आएको भीषण बाढी र ढलवालमा परी २६ जना नेपाली नागरिक हराइरहेको पुष्टि भएको हो । दिल्लीस्थित नेपाली दूतावासले मंगलबार उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा साउन २० र २१ (५ र ६ अगष्ट २०२५) गते गएको बाढीपहिरोमा परी हराइरहेका नेपाली नागरिकको सूची सार्वजनिक गरेको छ ।
दूतावासले जारी गरेको विवरणअनुसार उत्तरकाशी बाढीमा परी २१ जना र पौडी गढवाल जिल्लामा ५ जना नेपाली नागरिक हराइरहेको उल्लेख गरिएको छ । दूतावासले सार्वजनिक गरेको सूचीमा नाममात्रै उल्लेख गरिएको छ । उनीहरू नेपालका कुन जिल्लाका हुन् उल्लेख गरिएको छैन। उत्तरकाशी जिल्लामा हराइरहेकामध्ये रणबहादुर शाहीका छोरा ४५ वर्षीय जनकबहादुर शाही, अभि सिंहका २५ वर्षीय छोरा रवि सिंह रहेका छन् ।
यस्तै रविन सिंह, गगनबहादुर, गोरखबहादुर, प्रभाती र केशव रहेका छन् । यसैगरी, रामबहादुर शाही, हरिबहादुर खड्का र निर्मला खड्का रहेको दूतावासले जनाएको छ । यस्तै ६० वर्षीय लक्ष्मण, २४ वर्षीय सुवास विक रमेश र २२ वर्षीय प्रिया अझै हराइरहेकी छन् । हराउनेहरूमध्ये तेजबहादुरको छोरा २७ वर्षीय दीपक मगर, दिलबहादुरको छोरा ४६ वर्षीय सुरज राना, रणबहादुरको छोरा मानबहादुर रहेका छन् ।
हराइरहेकामध्ये धर्मबहादुरको छोरा ४७ वर्षीय नीमबहादुर, धन सिंहको छोरा १८ वर्षीय रवि सिंह र हर्क सिंहको छोरा ४४ वर्षीय रामबहादुर रहेको दूतावासले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यसैगरी पौढी गढवाल जिल्लामा हराइरहेकाहरूमध्ये २१ वर्षीय (यसअघि ३९ वर्षीय भनिएका) बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ का नरेन्द्र खड्का, १८ वर्षीया अमृता परियार (मधुवन–५) नरेन्द्रका १८ महिनाका रोमन खड्का र १७ वर्षीया सन्ध्या (यसअघि सरस्वती भनिएकी) खड्का र २१ वर्षीया विमल खड्का रहेको दूतावासले उल्लेख गरेको छ ।
यसअघि जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको गाउँपालिकाले शोक विज्ञप्ति नै जारी गरेको थियो । त्यहाँका ६ जना सम्पर्कमा आएको गाउँपालिकाले जनाएको छ । अन्य ६ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । उनीहरूको खोजीका लागि कुशे–२ का वडाध्यक्ष मानबहादुर सिंह नै धरालीमा पुगेका छन् । यस्तै उक्त बाढी मै सम्पर्कविहीन भएका बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ६ का नरेन्द्र खड्का र वडा नम्बर ५ का अमृता परियारको कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्