कोहलपुर (बाँके) ।
२०८० कार्तिक १ गतेदेखि औपचारिकरूपमा सेवा प्रवाह थालेका कोहलपुरस्थित नापी र मालपोत कार्यालय अझैपनि भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । संघीयतापश्चात् शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार पालिकास्तरमा सेवा दिनका लागि स्थापना गरिएका कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएका हुन् ।
नापी र मालपोत दुवै कार्यालयले मासिक ५०÷५० हजार रूपैयाँ भाडा तिर्दै आएका छन् । मासिक ५० हजारका दरले हिसाब गर्दा एउटा कार्यालयले वार्षिक ६ लाख भाडा तिर्छन् । दुई वटा कार्यालयगरी वार्षिक १२ लाख रूपैयाँ भाडा तिर्दै आएका हुन् । त्यसका अलावा पानी, विद्युत् महसुल र इन्टरनेटको अतिरिक्त शुल्कसमेत तिर्ने गर्दछन् । कार्यालय स्थापना गर्दा घरबेटीसँग दुई वर्षको सम्झौता गरिएको थियो । आगामी कात्तिक १ गते दुई वर्ष पुग्दैछ । दुई वर्ष पुगेपछि ५ प्रतिशत भाडा वृद्धि हुने दुवै कार्यालयले जानकारी दिएका छन् ।
स्थापनाकालदेखि भाडाको घरबाट सेवा दिइरहेका कार्यालयले विभिन्न समस्या भोग्दै आएका छन् । कार्यालयको आफ्नै संरचना नहुनु, उपयुक्त पार्किङको सुविधा नहुनु, सेवाग्राहीहरूको चाप धेरै हुने भएकाले सेवा प्रवाहमा समस्या भोगिरहेको बताएका छन् । नापी कार्यालयका नापी अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद ढकाल कार्यालयको आफ्नै संरचना नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताए ।
उनले भने, ‘स्थापनाकालदेखि हामीले भाडाको घरमै सेवा दिइरहेका छौँ । साघुँरो घरमा सेवा दिँदा समस्या हुँदोरहेछ । अन्य धेरै कुराको समस्या छ । त्यहीपनि हामीले सेवा दिइरहेका छौँ ।’ मुख्य सडक क्षेत्रमै कार्यालय भएका कारण पार्किङको समेत समस्या रहेको उनले सुनाए । मालपोत कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख गणेश विकले भाडाको घरमा सेवा प्रवाहमा समस्या भइरहेको बताए ।
उनले आफ्नो भवन भए एकद्वार प्रणालीबाट सेवा दिन सजिलो हुने बताए । सरकारी भवनको लागि स्थानीय सरकारसँग माग गर्दासमेत सुनुवाइ हुन नसकेको उनले बताए । ‘हामीले आफ्नै कार्यालयको जग्गाका लागि पहल गरिरहेका छौँ । नगरपालिकालाई पत्रसमेत लेखेका थियौँ । अहिलेसम्म कुनैपनि सुनुवाइ हुन सकेको छैन्,’ मिसन टुडे दैनिकसँग उनले भने । भवन अभाव र अपांगतामैत्री नहुँदा पार्किङ व्यवस्थापन गर्नुपर्ने र प्रत्येक फाँटमा समस्या हुनुका साथै बजेट अभाव रहेको निमित्त कार्यालय प्रमुख विकले बताए ।
मालपोत कार्यालयमा स्वीकृत दरबन्दीसमेत अभाव रहेको छ । कार्यालयको कूल ३३ दरबन्दीमध्ये ३० जना मात्रै कर्मचारी रहेका छन् । तीन जना कर्मचारी अभाव रहेको छ । कार्यालयमा अहिले प्रमुख कर अघिकृत छैनन् । कार्यालय प्रमुखको सरुवा हुँदा निमित्तको भरमा कार्यालय सञ्चालन भइरहेको छ । कार्यालयमा कार्यालय सहयोगी ६ जना करार सेवामा कार्यरत छन् । दश जना खरिदार रहेका छन् । यस्तै ८ जना सुब्बाको दरबन्दी छ । अहिले सात जना छन् ।
एक जना विभागमा काजमा गएका कारण दरबन्दी खाली रहेको कार्यालयले जनाएको छ । कम्प्युटर अपरेटर दुई जना छन् । कम्प्युटर प्राविधिक, चालक, लेखापालको दरबन्दी रहेको छ । तीन जना शाखा अधिकृत दरबन्दी रहेपनि १ जना मात्रै छन् । २ जना शाखा अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको कार्यालयले जनाएको छ । यसैगरी, नापी कार्यालयमा एक जना उपसचिव, नापी अधिकृत २ जना, ४ जना सर्वेक्षक, ६ जना अमिन, १ जना सलेपा, १ जना खरिदार, ४ जना कार्यालय सहयोगी र चालक १ जनाको दरबन्दी छ ।
कार्यालयमा हाल स्वीकृत दरबन्दीअनुसार सबै कर्मचारी रहेको सूचना अधिकारी ढकालले बताए । २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बाँकेको कोहलपुर, डडल्धुराको जोगबुढा, महोत्तरीको गौशाला, रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सरकारले निर्णय गरेको २ वर्षपछि सेवा सञ्चालन भएको थियो । हाल कार्यालयले कोहलपुर नगरपालिका, बैजनाथ र राप्ती सोनारी गाउँपालिकाका वडा नम्बर १, २ ८ र ९ का नागरिकलाई सेवा दिँदै आएको छ । २०८० कात्तिक १ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यालयको उद्घाटन गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्