लाटीकोइली–काँक्रेविहार सडक कालोपत्रे हुने



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशको बहुचर्चित पर्यटकीय स्थल काँक्रेविहार जाने सडक कालोपत्रे गरिने भएको छ । लाटीकोइली–काँक्रेविहार सडक चालू आर्थिक वर्षभित्रै कालोपत्रे गरिने भएको हो । देश विदेशका पर्यटकहरू आउने यो हिन्दु र बौद्ध धर्मको साझा धार्मिक स्थल पनि हो ।
प्रदेश सरकारले सडकमा बनेका खाल्डा पुर्न र सडक कालोपत्रे गर्न ढिलाइ गरेको थियो ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्र्तगत प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेतले लाटीकोइली डाँडादेखि काँक्रेविहार मन्दिरसम्को सडक कालोपत्रे गर्ने तयारी गरेको छ । लाटीकोइली डाँडादेखि काँक्रेविहारसम्म जाने बाटोको कूल लम्बाइ १५ सय मिटर मात्रै छ। संघीयता स्थापना भएको आठ वर्ष बितिसके पनि यो सडक स्तरोन्नति गर्नतर्फ कसैको ध्यान नगएको स्थानीयवासीको आरोप छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका प्रमुख यगेन्द्र धरालाले उक्त सडकखण्ड यसै वर्षभित्र कालोपत्रे हुने जानकारी दिए । उनका अनुसार यो सडकका लागि दुई करोड बजेट विनियोजन भइसकेको भन्दै तत्काल कार्यान्वयन गर्न मुख्यमन्त्री यामलाल कंडेलले आयोजना प्रमुखलाई ताकेता गरिरहेका छन् । यसको डिपीआर बनेर हाल विश्व वैंकको कार्यालयमा पठाइसकेको उनले बताए ।

यो सडकका लागि नेपालले ४० लाख र विश्व वैंकको ऋण एक करोड ६० लाख लगानी गरिनेछ । सो बजेटबाट यो वर्ष काँक्रेविहार सडक निर्माण सम्पन्न गरिने आयोजनाका प्रमुख धरालाको भनाइ छ । ‘बिग्रेको स्थानमा पूरै बनाउने र नबिग्रेको ठाउँमा थप कालोपत्रे गर्ने स्टिमेट बनाइएको छ। यो सडकको चौडाइ बढीमा चार मिटरको हुनेछ,’ उनले भने, ‘बैंकबाट नो अब्जेक्सन लेटर आउनेबित्तिकै यो ठेक्का प्रक्रियामा जान्छ र ठेक्का सम्झौतापछि कार्यान्वयनको जिम्मा हामीले पूर्वाधार विकास निर्देशनालयलाई दिनेछौँ । चालू अािर्थक वर्षमा सडकको काम सक्ने लक्ष्य छ ।’

कार्यालयका इन्जिनियर सन्तोष भट्टराईका अनुसार काँक्रेविहार सडकसँगै कर्णाली प्रदेशमा ११ वटा सडकहरू विश्व वैंकको ऋण ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत बजेटमा कालोपत्रे हुनेछन् भने दुईवटा नयाँ सडक निर्माण गरिनेछ । जसमा दुई सडकको ठेक्का सम्झौता भइसकेको उनले बताए । डुंगेश्वर–डाँडापराजुल सडक ७.९१ किलोमिटरका लागि २८ करोड १२ लाख ७५ हजारमा र हुम्लाको गल्फगाड–श्रीनगर ९.९९ किलोमिटर सडक निर्माण गर्न २८ करोड १७ लाख ६४ हजारमा निर्माण कम्पनीसँग सम्झौता भइसकेको हो ।

यीबाहेक बाँकी सडकहरू लालीघाट कोटवाडा कुमालगाउँ सडक कालिकोट, खलंगा लासि रोड जुम्ला, वडावन सानाखोला रोड जुनिँचाँदे र सलिसल्ला पिप्लाङ्ग सडक हुम्ला निर्माण हुनेछन् । गँगटे आरनटुडा ढाँडखेत सडक सुर्खेत, सुर्खेत रिङ्गरोड, तारापानी–सोरुकोट सडकको डिपीआर निर्माण भइरहेको छ । यस्तै शेरावाडा पाद्मघाट महावै सडक कालिकोट र लासीक्याप कागकोट सडक डोल्पा नयाँ निर्माण हुने भएका छन् । यी दुवै सडकको डिपीआर पनि बनिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार