एउटा वडा चलाउन तीनवटा कार्यालय भवन



श्यामलाल पोखरेल । बुटवल ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय आगामी पुसभित्रै तीनवटा हुने भएका छन् । सोही वडाको देवीनगर होराइजन चोकनजिकै पुरानै कार्यालय छ । हालसम्म सोही कार्यालयबाटै वडा कार्यालय सञ्चालनमा छ । देवीनगरमा रहेको वडा कार्यालयको भवन साँघुरो र पार्किङ नहुँदा समस्या भएपछि २०७८ सालमा रंगशालामा भवन बनाइएको थियो ।

२०७८ सालमा तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको पालामा बनेको उक्त वडा कार्यालयको भवन पूरा निर्माण सम्पन्न नहुँदै हतार हतार गरी उद्घाटन गरिएको थियो । जस लिनका लागि एमालेका तर्फबाट बनेका तत्कालीन नगर प्रमुख सुवेदीले बठ्याइँ गरेर निर्माण सम्पन्न नहुँदै उक्त भवन उद्घाटनको चाँजोपाँजो मिलाएका थिए । २०७८ साल चैत १९ गते तत्कालीन लुम्बिनी प्रदेशका मख्यमन्त्री लिला गिरीको हातबाट तामझामका साथ उक्त भवन उद्घाटन गरिएको थियो । उद्घाटन गरिएपनि उक्त भवन प्रयोगमा अहिलेसम्म आएको छैन् । प्रयोगविहीन भएपछि उक्त भवन जीर्ण बनेको छ ।

लाखौँ रूपैयाँँ खर्चेर बनाइएको वडा कार्यालयको भवन प्रयोग नगरेर अहिले फेरी एकाएक अर्को नयाँ भवन बनाउनका लागि साउन २४ गते शिलन्यास गरिएको छ । पहिला रंगशाला भन्ने ठाउँमा बनेको वडा कार्यालयनजिकै अर्को वडा कार्यालयको भवन बनाउने भन्दै शिलन्यास गरेपछि स्थानीयले एउटा वडाका लागि धैरै भवन नचाहिने भन्दै विरोध गरेका छन् । नगर प्रमुख खेलराज पाण्डेयले अहिले अर्को नयाँ भवनका लागि शिलन्यास गरेपछि वडा नम्बर ११ का वडा कार्यालय भवन अब तीनवटा हुने भएका छन् ।

०७९ साल वैशाख ३० गते स्थानीय निर्वाचनको मिति तोकिएपछि हतार हतारमा २०७८ साल चैत १९ गते निर्माणाधीन अवस्थामै उद्घाटन गरिएको थियो । बनेको वडा कार्यालय भवनकै छेवैमा अर्को नयाँ भवन बनाउनु गलत भएको स्थानीय लक्ष्मण मल्लले बताए । हतारमा बिनायोजना बनाइएको भवन वडा कार्यालयका लागि उपयुक्त नभएकाले अर्को भवन बनाउन लागिएको अहिलेका जनप्रतिनिधिहरुले बताएका छन् ।

तर स्थानीय समर केसीले भवन बनाउँदा कमिसन आउने र नपताउँदो कमाइ हुने भएकाले फेरी नयाँ भवन बनाउन लागिएको आरोप लगाउँदै भने, ‘वडा कार्यालय चलाउनका लागि आलिसान सिंहदरबार जस्तो भवन चाहिन्न सामान्य भएपनि पुग्छ । वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले पुरानो भवन धेरै पुरानो भैसकेको र पार्किङ समस्याले २०७८ मा बनेको भवन बिनायोजनाले बनेकाले उक्त भवन प्रयोग हुन नसकेपछि अहिले योजनाका साथ नयाँ भवन बनाउन लागिएको बताए ।

वडा सदस्य नकुल शाहीले पनि बिनायोजना बनाइएको भवन उपयुक्त नभएकाले नयाँ भवन बनाउनका लागि शिलन्यास गरिएको प्रतिक्रिया दिए । नगर प्रमुख पाण्डेयले यसअघि बनेको भवन कार्यालयका लागि उपयुक्त नभएकाले नयाँ भवन बनाउन लागिएको बताए । आगामी पुस १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम सुरु हुने उनले बताए । अहिले बनाउन लागिएको भवन निर्माणका लागि दास निर्माण सेवासँग गत असार ८ गते ठेक्का सम्झौता भएको बुटवल उपमहानगरपालिकाले जानकारी गराएको छ ।

उपमहानगरका अनुसार आगामी पुस १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी १ करोड २२ लाख ४२ हजार ६ सय २६ रूपैयाँँ ५३ पैसामा ठेक्का भएको हो । ११ नम्बर वडा उपमहानगरको सबैभन्दा ठूलोे भूगोल र धेरै जनसङ्ख्या भएको वडा हो । यसअघि २०७८ सालमा बनेको भवनको झ्याल ढोका, शिशा फुटेका छन् । उक्त भवन कुन र के प्रयोजनका लागि प्रयोग गर्ने भन्नेबारे बुटवल उपमहानगरपालिकाले केही जानकारी गराएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार