उत्तराखण्डको बाढीमा वेपत्ता बर्दिया मधुवनका दुईजनाको कुशको शव बनाएर दाहसंस्कार



कोहलपुर (बाँके) ।

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको शीरगंगा नदीमा आएको भीषण बाढीमा परी वेपत्ता भएका दुई जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । साउन २० गते आएको भीषण बाढीमा परी वेपत्ता भएका बर्दियाका दुईजनाको सोमबार कुशको शव बनाएर धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको हो ।

शीरगंगा नदीमा आएको बाढीमा जिल्लाका पाँचजना सम्पर्कविहीन भएकोमा दुई जनाको भने आफन्तले कुशको शव बनाएर धार्मिक विधिअनुसार दाहसंस्कार गरेका हुन् । मधुवन नगरपालिकाका विपद् फोकल पर्सन धर्मराज डाँगीका अनुसार बाढीमा वेपत्ता भएकामध्ये मधुवन नगरपालिका वडा नम्बर ६ का ३९ वर्षीय नरेन्द्र खड्काको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

खड्काको शनिबार एउटा हातमात्रै नेपालबाट गएका आफन्तले फेला पारेका थिए । मधुवनबाट खड्का दम्पतीको खोजीका लागि गएका उनका बुबाले हातमा खोपिएको ट्याटुबाट आफ्नो छोराकै हात भएको यकिन गरेका थिए । मधुवनबाट खड्काको खोजीका लागि उनका बुबासहित अन्य दुईजना आफन्त धराली पुगेका छन् ।

‘शनिबार हात फेला परेका खड्काको कुशको शव बनाएर सोमबार दाहसंस्कार गरिएको छ । घरमै रहेका उनका आफन्तहरूले दाहसंस्कार गरेका हुन्,’ फोकल पर्सन डाँगीले मिसन टुडेसँग भने । मधुवन– ६ का खड्काका आफन्त, स्थानीय, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रहरीसमेतको उपस्थितिमा स्थानीय घाटमा दाहसंस्कार गरिएको उनले बताए ।

डाँगीले आफू धराली पुगेकाहरूसँग निरन्तर सम्पर्कमा रहेको भन्दै मौसम खराबी भएका कारण अन्यको खोजीकार्य गर्न निकै कठिन अवस्था रहेको त्यहाँ पुगेकाले जानकारी दिएको बताए । त्यहाँ लगातार पानी परेका कारण बाहिर निस्कनेसमेत अवस्था नरहेको जानकारी प्राप्त गरेको उनको भनाइ छ । सोही घटनामा परी नरेन्द्रकी श्रीमती ३० वर्षीया सरस्वती खड्का र २ वर्षीय छोरा रोमन खड्कासमेत सम्पर्कविहीन रहेका छन् ।

यस्तै सोही घटनामा परी वेपत्ता रहेकी मधुवन–५ की अमृता परियारको समेत आफन्तहरूले सोमबार कुशको शव बनाइ दाहसंस्कार गरेको डाँगीले मिसन टुडेलाई जानकारी दिए । सोमबार खड्का र परियारको फरक–फरक समयमा मधुवन नगरपालिका वडा नम्बर ८ को कुसुम्बाघाटमा दाहसंस्कार गरिएको विपद् फोकल पर्सन डाँगीले मिसन टुडेलाई जानकारी दिए ।

मधुवन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिलिप गुरुङले अमृताको सोमबार आफन्तले दाहसंस्कार गरेको पुष्टि गरे । ‘उहाँको लास भेटिएको छैन । तर आफन्तले दाहसंस्कार गर्नुभएको छ । म कामको सिलसिलामा बाहिर थिएँ । शववाहनको लागि फोन गर्नुभएको थियो । मैले पठाइदिएको थिएँ । कुसुम्बाघाटमा उहाँहरूले दाहसंस्कार गर्नुभएको छ,’ वडाध्यक्ष गुरुङले भने ।

अमृताका बुबा, श्रीमानसहित आफन्त र स्थानीयहरूको सहभागितामा दाहसंस्कार भएको उनले जानकारी दिए । सोही घटनामा परेकी उनकी छोरी २१ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते छिन् । यसैगरी, गुलरिया नगरपालिका–३ का २१ वर्षीय सुभाष विकपनि बाढीमा सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार