समाचार प्रभावः जन ज्ञान ज्यातिले सच्यायो निर्देशिकाविपरितको निर्णय



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित जन ज्ञान ज्योति माध्यमिक विद्यालयले निर्देशिकाविपरित शिक्षक सरुवाको निर्णय सच्याएको छ । गत असार २९ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ विपरीत शिक्षक सरुवा गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले सच्याएको हो ।

उक्त दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माको अध्यक्षतामा बसेको बैठकले निवेदन दिएका ५५ जनामध्ये सेवा अवधिका आधारमा ४२ नम्बरमा रहेका चन्द्रकान्त न्यौपानेलाई सरुवा गर्ने बहुमतले निर्णय गरेको थियो । सो निर्णय निर्देशिकाविपरीत रहेको भन्दै २०८२ असार ३१ गते मिसन टुडे दैनिकले ‘जन ज्ञान ज्योति माविमा निर्देशिकाविपरीत शिक्षक सरुवा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

निर्देशिकामा शिक्षक सरुवा गर्दा निवेदकहरू मध्येबाट सबैभन्दा धेरै सेवा अवधि भएकालाई नियुक्त गर्ने भन्ने छ । समाचार प्रकाशित भएपश्चात् समितिको उक्त निर्णयको चौतर्फी विरोध भयो । पहिलो नम्बरमा रहेका निवेदक विष्णुप्रसाद अधिकारीले निर्णय बदरको माग गर्दै विद्यालय, कोहलपुर नगरपालिका र शिक्षा तथा समन्वय इकाई बाँकेमा निवेदन दिएका थिए ।

प्रक्रियागत रूपमा उक्त निर्णय सम्बन्धित स्थानीय तहको शिक्षा शाखा र इकाईमा पठाउनुपर्ने हुन्थ्यो । तर निर्णय नै निर्देशिकाविपरीत भएपछि विद्यालयले निर्णय नै पठाएन । सोही विषयमा २०८२ साउन ११ गतेको मिसन टुडे दैनिकमा ‘जन ज्ञान ज्योति माविको शिक्षक सरुवा निर्णय ः दुई सातासम्म पनि पुगेन शिक्षा शाखामा विद्यालयको चिट्ठी’ शीर्षकमा फ्लोअप समाचार प्रकाशित भएको थियो ।

अन्ततः २०८२ साउन १६ गते बसेको समितिको बैठकले अघिल्लो निर्णय सच्याएर निर्देशिकाबमोजिम निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘असार १६ गते दिउँसो ४ बजेसम्म संकलित आवेदन रुजु गर्दा तेन्जिङ नोर्गे आवि छार्का ताङसोङ ४ कागकोट डोल्पामा कार्यरत विष्णुप्रसाद अधिकारीलाई सरुवाको सहमति दिने निर्णय गरियो ।’

उक्त निर्णयको सक्कल नै साउन १८ गते कोहलपुर नगरपालिकालाई विद्यालयले पठाएको छ । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै प्रधानाध्यापक लम्सालले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्देशिकाबमोजिम नै निर्णय भएको र शाखामा पठाइएको जानकारी दिए । उनले भने, ‘विव्यसको बैठक बसेर निर्णय भइसकेको छ । निर्देशिकाबमोजिम नै निर्णय भएको छ । हामीले पठाउनुपर्ने सबै ठाउँमा निर्णय पठाइसकेका छौँ । अब थप प्रक्रिया अघि बढ्ला ।’

यता, कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमालले साउन १८ गते विद्यालयले निर्णय शाखामा बुुझाएको बताए । उनका अनुसार शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ अनुसार निवेदकमध्ये सबैभन्दा धेरै सेवाअवधि भएका शिक्षकको विषयमा निर्णय भएको देखिएको छ । ‘उक्त निर्णय निर्देशिका अनुसार नै भएको छ । निर्णय सही छ । हामीले प्रक्रिया अघि बढाएका छौँ । शिक्षा तथा समन्वय इकाई बाँकेलाई पत्र प्रक्रियाका लागि पत्र पठाइसकेका छौँ’ हमालले भने ।

शाखाले साउन २० गते इकाईलाई विद्यालयको निर्णयसहित आधिकारिक रूपमा पठाएको उनले बताए । जन ज्ञान ज्योति माविले स्थायी शिक्षक सरुवाका लागि सिफारिस गरेको निर्णयसहित कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पठाएको पत्र कार्यालयमा पुगिसकेको शिक्षा तथा समन्वय इकाई बाँकेले जनाएको छ । इकाई प्रमुख धनप्रसाद चौलागाईले निर्णय कार्यालयमा पुगेको र थप बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार थप प्रक्रिया बुझेर कार्यालयले सिफारिस भएको निर्णय स्वीकृत हुन्छ । सोहीअनुसार निर्णय कार्यान्वयन हुने उनले बताए । ‘स्थानीय तहले पत्र पठाएको छ । कार्यालयमा दर्तासमेत भइसकेको छ । निर्देशिकाबमोजिम निर्णय गरेर पठाएको छ विद्यालयले । अब कार्यालयले सबै प्रक्रिया पूरा गरेर स्वीकृत गर्छ । अनि निर्णय औपचारिक रूपमा कार्यान्वयनको चरणमा जान्छ,’ प्रमुख चौलागाईले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार