उत्तराखण्डको बाढीमा कम्तिमा १७ नेपाली बेपत्ता



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

जाजरकोटको कुशे गाउँपालिका–२ का मानबहादुर सिंह नेपाल–भारत आउनेजाने गरिरहन्थे । अन्दाजी ४५ वर्षीय सिंह केही समय भारत बस्थे । मजदुरी गरेर धन कमाउँथे । अनि नेपाल आउँथे । सिंहको यसरी आउनेजाने क्रम विगत चार-पाँच वर्षदेखि चलिरहेको थियो । पछिल्लोपटक भने सिंह श्रीमती, दुई छोरा र ज्वार्इँसहित छिमेकीसँग धन कमाउन गएका थिए । श्रीमती रति सिंह, जेठो छोरा सुशिल सिंह र कान्छो छोरासँगै बस्थे । श्रीमान श्रीमती मजदुरी गर्थे ।

दुई छोरा भने कुनै काम गर्थेनन् । तीनै सिंह परदेशको भूमिमा चार दिनयता बेपत्ता छन् । साउन २० गते भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्ला धराली गाउँ÷बजारमा आएको भीषण पहिरोमा परी सिंह बेपत्ता छन् । मजदुरी गरिरहेकै समयमा आकस्मिक बाढीमा परेर बेपत्ता सिंह श्रीमती र छोराको सम्पर्कमा छैनन् । उनीसँगै बेपत्ता छन्, रोल्पा पुख्र्यौली घर भएका सिंहका ज्वाईँ । उनको पूर्णपरिचय खुल्न सकेको छैन ।

मानबहादुरसँगै दम्पतीसहित धन कमाउन गएका अन्दाजी ४२ वर्षका रामबहादुर सिंहको अवस्थासमेत अज्ञात छ । धराली बाढीपहिरोमै बेपत्ता श्रीमानको बाटो कुरिरहेकी छिन्, श्रीमती मोतीसरा सिंह । बुवा कुरिरहेका नवीन र श्रीमानको बाटो कुरेर बसेकी मोतिसरालाई आफ्ना प्रियजनको पर्खाइमा बितिरहेका छन्, दिन र रातहरू । त्यतिमात्रै होइन उनीहरूसँगै मजदुरी गर्न गएका उनीहरूसहित कुशे–२ का १३ जना हालसम्म बेपत्ता अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । बेपत्ता १३ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । कुशे–२ का वडाध्यक्ष मानबहादुर सिंहका अनुसार बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत सुशिलले आफ्नी अंकलकी छोरीमार्फत बेपत्ताहरूको सूची पठाएका छन् ।

उक्त सूचना आफूले समेत प्राप्त गरेको वडाध्यक्ष सिंहको भनाइ छ । उक्त घटनामा परी कुशे–२ कै अन्दाजी ३८ वर्षीय मिमबहादुर सिंह, १८ वर्षीय रविन सिंह, जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का जनकबहादुर शाहीसमेत बेपत्ता रहेको उनले बताए । ‘बाढी पहिरो गएको ठाउँमा सञ्चारको पहुँच छैन । त्यहाँको आर्मीको क्याम्पमा गएर बेपत्ता मानबहादुरका छोराले अंकलको छोरीलाई भ्वाइस म्यासेज पठाएको रहेछ । एक मिनेटको मात्रै छ, म्यासेज । मैले पनि सुनँे ।

मानबहादुरसहित अन्य बेपत्ता रहेछन् । लास भेटिएको छैन्,’ मिसन टुडेलाई उनले भने । त्यहाँको अवस्था नाजुक रहेको, खानपिनको राम्रो व्यवस्था नभएको, सञ्चार र विद्युत्को पहुँच नभएकोे सुशीलले अंकलकी छोरीलाई भनेको कुरा उद्धृत गर्दै वडा अध्यक्ष सिंह बताए । बेपत्ता भएकाहरूमध्ये पहिचान खुलेका ५ जना कुशे–२ कै हुन् भने एक जना रोल्पा (नाम थाहा नभएको) र अर्का एक जना जुम्लाका हुन् ।

यसैबीच, बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै कुशे गाउँपालिकाले घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष हरिश्चद्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बाढी तथा पहिरोमा परेर कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा छैनन् । उनीहरू हराएको हुनसक्ने आशंका सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकोले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई दु्रत प्रभावकारी बनाउन आग्रह गर्दछौँ ।’

उनले विज्ञप्तिमार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल गरिदिनका लागि प्रदेश तथा संघीय सरकारलाई ध्यानाकर्षण गराएका छन् । यस्तै, मुलुकभर केही दिनयता लगातार भारी वर्षा भएको र आगामी दिनहरूमा हुनसक्ने विभिन्न क्षेत्रमा बाढी पहिरो जस्ता विपद्जन्य घटनाहरू भइरहेकाले क्षतिबाट बच्न उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

मधुवनका एक दम्पतीसहित चार बेपत्ता 

२० साउनमा भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्ला धराली गाउँ-बजारमा आएको भीषण पहिरो र आकस्मिक बाढीका कारण ठुलो जनधनको क्षति भयो । भारतीय मिडियाहरूमा आएका विवरणअनुसार सो घटनामा परी पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ६० जना बेपत्ता छन् ।

शीरगंगा नदीले एक्कासि उग्ररुप लिएपछि आएको ठुलो बाढीपहिरोमा परी नेपालका विभिन्न जिल्लाका नागरिकसमेत परेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीमध्ये बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ र ६ का चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एकै परिवारका तीन जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार बेपत्ता हुने तीन जना मधुवन नगरपालिका वडा नम्बर ६ का एकैपरिवारका सदस्य हुन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उक्त बाढीपहिरोमा बेपत्ता हुनेमा मधुवन–६ का अन्दाजी ४० वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीया सरस्वती खड्का र दुई वर्षीय रोशन खड्का हुन् । नरेन्द्र र सरस्वती श्रीमान श्रीमती हुन् भने २ वर्षीय रोशन उनीहरूका छोरा हुन् । यस्तै मधुवन वडा नम्बर ५ की अमृता परियारसमेत उक्त बाढीपहिरोमा बेपत्ता भएको प्रजिअ पौडेलले मिसन टुडेलाई जानकारी दिए ।

‘बाढीपहिरोमा परेर चार जना बेपत्ता भएको र केही संख्यामा घाइते भएको बुझिन आएको छ । बेपत्ताहरूको पहिचान खुलेको छ । परिवारसँग नै सम्पर्क गरेर हामीले यकिन गरेका छौँ । अन्य केही संख्यामा घाइते भएको सुन्नमा आएको छ । उहाँहरूको परिचय खुलेको छैन । जिल्लाका अन्य पालिकाकासमेत रहेको भन्ने छ । हामी सम्बन्धित क्षेत्रमा बुझ्दैछौँ,’ प्रजिअ पौडेलले भने ।

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट आफ्नो पालिकाको लागि निकै दुःखद् खबर भएको बताउँछन् । उनका अनुसार एकै वडाका चारजना बेपत्ता भएका छन् । अन्य केही घाइते भएको सुन्नमा आएको र घाइते कति जना भएका हुन्, उनीहरू मधुवन कै हुन् कि कहाँका हुन् बुझ्ने काम भइरहेको उनले बताए । बाढीपहिरोमा परी बेपत्ता भएकाहरू २०८२ को नयाँ वर्षकै दिन धन कमाउन भारततिर गएको बुझिएको उनले बताए । ‘नयाँ वर्षको बेला रोजगारीका लागि गएका रहेछन्, रोजगारीका लागि आफ्नो हिसाबमा जान्छन् । धेरै जना गएका हुन सक्छन् । हामीले पनि रिपोर्ट कलेक्सन गरिरहेका छौँ । स्थानीय प्रहरीलाई समेत भनेका छौँ ।’ नगर प्रमुख भाटले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार