वीरेन्द्रनगर ।
मनसुन सक्रिय हुँदा कर्णाली प्रदेशमा यस वर्ष धान रोपाइँमा सहज भएको छ । लगभग अन्तिम चरणमा पुगेको धान रोपाइँ प्रदेशभर ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा सम्पन्न भएको हो । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार प्रदेशको कूल ४१ हजार ४२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको छ ।
जुन कूल क्षेत्रफलको ९६.४७ प्रतिशत हो । निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेले प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ सम्पन्न गरेको बताए । तथ्यांकअनुसार जुम्लाको दुुई हजार ८९० हेक्टर, हुम्लाको ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टर क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको छ । यी जिल्लाहरूले आफ्नो रोपाइँ लक्ष्य पूरा गरेका हुन् । त्यसैगरी अन्य चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ ।
जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रूकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा कूल दुई हजार ६४५ हेक्टरमध्ये दुई हजार ६२३.८४ हेक्टरमा र सल्यानमा ६ हजार १३४ हेक्टरमध्ये ६ हजार ७२.६६ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा पनि रोपाइँको प्रगति उत्साहजनक देखिएको छ, जहाँ कूल दुई हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४१२.७६ हेक्टरमा रोपाइँ सकिएको छ ।
प्रदेशमा सबैभन्दा बढी धान खेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कूल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४.९५ हेक्टरमा रोपाइँ सम्पन्न भएको तथ्यांक छ । प्रदेशभरको तुलनामा दैलेखमा भने रोपाइँको प्रगति केही सुस्त देखिएको छ । दैलेखमा कूल सात हजार ६२० हेक्टर क्षेत्रफलमध्ये हालसम्म सात हजार ८६.६ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन प्रदेशकै सबैभन्दा कम ९३ प्रतिशत हो । समग्रमा, कर्णाली प्रदेशमा यस वर्षको मनसुनमा धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको र उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्