बागेश्वरी मन्दिरमा श्रावणमास विशेष महाआरती हुँदै



नेपालगन्ज ।

बागेश्वरी मन्दिरमा साउनका बाँकी दुई सोमबारमा हुने महाआरतीलाई श्रावणमास विशेष महाआरतीको रूपमा मनाइने भएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै महाआरतीको विषयमा जानकारी दिएको हो । आज सोमबार हुने १३२औँ अंकको महाआरती र साउन २६ गते हुने महाआरतीलाई विशेष बनाइने गुठीका अध्यक्ष गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त महाआरतीमा बाँके बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी देश भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तलाई आमन्त्रण गरिएको उनले जानकारी दिए । साथै उक्त महाआरतीमा नाट्टा बाँके च्याप्टरको संयोजनमा सात लाख लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने पनि उनले बताए । यसैगरी, अन्तिम महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराइने उनले बताएका छन् । साथै महाआरतीस्थलमा खुशीयालीसहित शान्त र सौम्य आतिसबाजी पनि गरिने उनले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका मुख्य प्रवद्र्धक रहेको उक्त महाआरतीमा बाँकेका सबै स्थानीय तहलाई प्रवद्र्धकको रूपमा सहभागी बनाउने प्रयास भइरहेको पनि उनले जानकारी दिए । श्रावणमास विशेष महाआरतीका लागि विभन्न उपसमितिहरू निर्माण गरिएको उनले बताए ।
बागेश्वरी मन्दिरमा २०७९ माघ १५ गतेदेखि महाआरती सुरु गरिएको थियो । अहिले बागेश्वरीमा महाआरती भएको सिको गर्दै बाँके र बर्दियाका अरु मन्दिरहरूमा पनि आरती हुन थालेको अध्यक्ष अधिकारीले दाबी गरे । यसले धार्मिक आस्था र सद्भाव बढाएको उनको दाबी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार