नेपालगन्ज ।
कर्णाली विकास बैंकमा भएको तीन अर्ब २० करोड बढीको रकम हिनामिना मुद्दामा पक्राउ परेका प्रतिवादीहरूमाथि थुनछेकसम्बन्धी बहस आइतबारबाट सुरु भएको छ । आइतबार सरकारी वकिलतर्फबाट बहस सकिएको र सोमबारबाट प्रतिवादीतर्फको बहस हुने अदालतका रजिस्ट्रार सपना अधिकारीले जानकारी दिइन् । उनका अनुसार प्रतिवादीका तर्फबाट कतिजना वकिलले बहस गर्ने भन्नेबारे अझै यकिन भएको छैन । बहस सुरु भएपछि पनि बहस गर्ने वकिलहरू थपिन जाने हुनसक्ने उनले बताइन् ।
शुक्रबार प्रतिवादीहरूको बयान सकिएकोमा आइतबारबाट थुनछेकसम्बन्धी बहस सुरु भएको हो । बैंकको बचत अपचलन मुद्दामा हालसम्म बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, तत्कालीन प्रमुख वित्त अधिकृत बेदप्रकाश सिंह ठकुरी, तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र र राष्ट्र बैंकका तत्कालीन उपनिर्देशक भुवन बस्नेत पक्राउ परेका छन् । घोटाला प्रकरणमा एक सय नौ जनामध्ये अझै एक सय तीन जना फरार छन् भने दुई जनाको मृत्यु भइसकेको पाइएको छ ।
बैंकमा बचत हिनामिना भई बचतकर्ताको निक्षेप फिर्ता हुन दिन नसकेपछि नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलेसमेत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले साउन १४ गते अदालतमा मुद्दा दायर गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्