खगेन्द्र दाहाल । खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर विक तुफानले देशमा संघीयता लागु भएपनि मलमा संघीयता लागु नभएको बताएका छन् । अहिले देशमा केन्द्रले एकाधिकार शासन लागु गरेको भन्दै अध्यक्ष विकले यसको विरोध गरे । स्थानीय सरकारलाई मल आयातको जिम्मेवारी दिन जरुरी रहेको उल्लेख गरे । खजुरामा आयोजित मलखाद अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष विकले केन्द्रिकृत व्यवस्थापनका कारण किसानले सधैँ दुःख भोग्नुपरेको बताए ।
उनले स्थानीय सरकारले नै मलमा काम गर्न खोजेको भन्दै कानुन पनि सोहीअनुरूप बनाउन आवश्यक रहेको उल्लेख गरे । सुन्दर एग्रीकल्चर कम्पनी प्रालिले आयोजना गरेको अन्तक्र्रियामा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले रासायनिक मल किसानले नपाउँदा धेरै गुनासो सुन्न परेको बताइन् । उपाध्यक्ष मल्लले देशमा उत्पादित मललाई केन्द्रीय सरकारले अनुदान दिएर किसान माझ ल्याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिइन् ।
खजुरा गाउँपालिका २ का वडाध्यक्ष धनराम ओलीले किसानको हितको लागि आएको यस्तो मल उपयोगी हुन सक्ने बताए । सुन्दर एग्रीकल्चर कम्पनी प्रालिका प्रबन्ध निर्देशक विनायक प्रधानले अब रासायनिक मलकै लागि सहकारीमा लाइन बस्नुपर्ने जरुरी नभएको बताए । धानका लागि आवश्यक पर्ने मल आफूले उपलब्ध गराइरहेको उल्लेख गरे । बजारमा आइरहेका मलको बारेमा सचेत बन्न प्रधानले आग्रह गरे ।
खरीद गरेको मल नगलेको अवस्थामा फेला परेको धेरै ठाउँमा भेटिएकाले आधिकारिक मल मात्र किसानले बुझेर किन्न अनुरोध गरे । आफ्नो मलको गुणस्तरमा कुनै पनि कमजोरी नभएको हुँदा ढुक्कका साथ प्रयोग गर्न उनले आग्रह गरे । मलमा कुनै कमजोरी देखिएमा त्यसको क्षतिपूर्ति आफ्नो कम्पनीले तिर्ने समेत प्रधानले उद्घोष गरे । सुन्दर एग्रीकल्चरद्वारा उत्पादित मिश्रित दानेदार मल सबै बालीको लागि प्रयोग गर्न सकिने हुँदा किसानले अन्त धाउन नपर्ने उल्लेख गरे । अन्तक्र्रिया कार्यक्रममा उपस्थित किसानहरूले सुन्दर एग्रीकल्चरको मल प्रयोग गर्दा धान राम्रो फस्टाउँदै गएको प्रतिक्रिया दिए ।
खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार राजकुमार विकले मलको समस्या सदैव भइरहने भन्दै किसानले मल पाउन सधैँ ढिला हुने गरेकोले यसलाई समाधान गर्न जरुरी रहेको उल्लेख गरे । खजुरा ४ मा रहेको मिलिजुली सहकारीका अध्यक्ष खडक ओलीले आफ्नै देशमा उत्पादित मल नै प्रयोग गरौँ भन्ने लागेर पछिल्ला दिनमा सुन्दर एग्रीकल्चरको उत्पादन रासायनिक मल बिक्री वितरण गर्दै आएको र किसानले पनि उक्त मल मन पराएको उल्लेख गरे । खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार राजेन्द्र आचार्यले सहकारीहरूले मल बिक्रीको लागि नेपालमै उत्पादित मललाई प्राथमिकता दिन अनुरोध गरे ।









प्रतिक्रिया दिनुहोस्