सार्वजनिक निकायमा स्तनपान कक्षः कतै हटाइए, कतै प्रयोगविहीन



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक पनि कार्यक्षेत्र हो । तर, अहिले सोही मन्त्रालयमा सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष छैन । प्रदेशको आर्थिक मामिला मन्त्रालयले २०७६ साल माघ २१ गते मन्त्रालय तथा मातहतका निकायमा पत्र पठाउँदै स्तनपान कक्ष स्थापना गर्न निर्देशनसहितको पत्र पठाएको थियो ।

भनिएको थियो– ‘सुदूरपश्चिम प्रदेश अन्तर्गतका सबै स्थानीय तह र सेवाग्राहीहरूको बढी आवतजावत हुने सार्वजनिक निकायहरूमा स्तनपान कक्ष निर्माण गरी सेवा प्रवाह गराउनु ।’ सोहीअनुसार सामाजिक विकास मन्त्रालयले २०७६ माघमा स्तनपान कक्ष स्थापना गरेको थियो । तर, अहिले भने भवन अभाव देखाउँदै सो कक्ष हटाइएको छ । मन्त्रालयकी वरिष्ठ महिला अधिकृत जयन्ती गिरीले मन्त्रालयले स्तनपान कक्ष राख्न चाहेको बताइन् । ‘हामीले मन्त्रालयमा स्तनपान कक्ष स्थापना गरेका थियौँ ।

कर्मचारी र जनप्रतिनिधि थप हुँदै गएपछि कार्यकक्ष चाहिएको थियो । अहिले सो कक्ष बन्द गरी त्यहाँ मन्त्रालय मातहतको शाखा र महाशाखा बसाउनुपरेको छ’, उनले भनिन्– ‘स्तनपान कक्षनै नराखेको मन्त्रालयले अन्य निकायलाई अनिवार्य स्तनपान कक्ष राख भनेर पत्राचार गर्न पनि समस्या भयो ।’ धनगढी उपमहानगरपालिकाले २०७६ असारमा कार्यालयको मूलभवनको उत्तरपट्टी सूचना केन्द्रसँगै स्तनपान कक्ष निर्माण गरेको थियो ।

कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित विभिन्न कामका लागि उपमहानगरपालिकामा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान गराउने गरेका थिए । तर, धनगढी उपमहानगरपालिका नयाँ प्रशासनिक भवनमा २०७९ साल असारमा सारियो । अहिले सोही भवनमा स्तनपान कक्ष राखिएको छ तर, प्रयोगविहीन रहेको जनाइएको छ । धनगढीकी उपप्रमुख कन्दकला रानाले धनगढीले स्तनपान कक्ष राखेको तर, प्रयोगविहीन रहेको बताइन् ।

उनले भनिन्, ‘महिला सेवाग्राही र कर्मचारीलाई लक्षित गरेर स्तनपान कक्ष राखिएको छ । तर, त्यहाँ कोही जाँदैनन् ।’ धनगढीले स्तनपान कक्ष राखेको क्षेत्र सेवाग्राही महिलाहरूले नदेख्दा सो कक्ष प्रयोगविहीन भएको जनाइएको छ । निश्चित अवधिको सुत्केरी बिदापछि महिला कर्मचारीहरूले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका बीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि अधिकारकर्मीहरूले पहल गरिरहेका थिए ।

सार्वजनिक निकाय मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय धनगढी, प्रदेश सरकार मातहतका निकाय, स्वास्थ्य कार्यालय, श्रम तथा रोजगार कार्यालय लगायतमा अहिले पनि स्तनपान कक्ष स्थापना गरिएको छैन । सार्वजनिक निकायमा स्तनपान कक्ष स्थापना नहुँदा महिला सेवाग्राहीहरूले समस्या भोग्ने गरेका छन् । सामाजिक विकास मन्त्रालयकी वरिष्ठ महिला अधिकृत जयन्ती गिरीले भनिन्, ‘अहिलेसम्म कुन र कति कार्यालयमा स्तनपान कक्ष राखिएको छ भन्ने अभिलेख छैन । हामीलेनै राखेका छैनौँ भने अरुलाई पनि राख्न भन्न सकिँदैन ।’

स्तनपान सप्ताह सुरु

आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ । विश्व स्वास्थ्य संगठनले घोषणा गरेअनुसार हरेक वर्ष अग्रेजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ । सुदूरपश्चिम प्रदेशमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सामाजिक विकास मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।

बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ । तर, प्रदेशमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ । विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार