महाबैका भत्ता खाने नागरिक सुर्खेतमा खोजिँदै



वीरेन्द्रनगर ।

कालिकोटको महाबै गाउँपालिकाले सुर्खेतमा रहेका आफ्नो पालिकाबाट भत्ता खाने नागरिकहरूको खोजी सुरु गरेको छ । गाउँपालिकाले भत्ता खाने नागरिकका लागि सुर्खेतमा वायोमेट्रिक शिविर सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्ने ‘वृद्ध आमा–बुबाको सहजताका लागि’ भन्दै एकहप्ते वायोमेट्रिक शिविर सञ्चालन सुरु भएको छ ।

साउन १२ गतेदेखि सुुरु भएको शिविर १९ गतेसम्म सञ्चालन हुनेछ । सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । विगतमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नवीकरण गरे मात्रै पुग्ने गरेपनि यो वर्षदेखि वायोमेट्रिक अनिवार्य गर्नुपर्ने भएकाले गाउँपालिकाले सुर्खेत, बर्दिया, बाँके र कैलालीमा बस्ने वृद्धवृद्धाहरूका लागि सुर्खेतमा शिविर राखिएको जनाएको छ।

शिविरका सम्पर्क व्यक्ति मनराज कार्कीका अनुसार सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरू सबै गाउँमा नभएको र कोही बिरामी भएर वा आफन्तकोमा बस्नु परेकाले सुर्खेतमा झरेको भन्दै उनीहरूको सहजताका लागि शिविर राखिएको हो । शिविर सञ्चालन भएपछि साउन १५ गतेसम्म ८२ जना वृद्धवृद्धाले सेवा लिएको कार्कीले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्दै जाने अनुमान छ ।

गाउँपालिकाका अधिकांश लाभग्राहीहरू औषधिउपचार लगायतका कामले सहर बस्ने गरेका कारणले सुर्खेतमा शिविर चलाउनुपरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनका अनुसार गाउँपालिका वृद्धवृद्धा लाभग्राहीहरू औषधि उपचारलगायतका कामले सहरमा बस्दा सेवाबाट प्रभावित नहुन् भनेर सुर्खेतमै शिविर राखिएको हो । उनले भने, ‘सुर्खेतमा रहेका वृद्धवृद्धा कोही हिडेर गाउँ जानसक्ने अवस्थामा हुनुहुन्न । त्यसैले सहरमा नै उहाँहरू भएको ठाउँमा सेवा दिनुपर्छ भन्ने सोचले सुर्खेतमै शिविर सञ्चालन गरेका छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार