नेपालगन्ज–दिल्ली उडान हुनुपर्नेमा नेपालगन्ज एकबद्ध



 

नेपालगन्ज ।

नेपालगन्जका सबै क्षेत्रका अगुवाहरूले नेपालगन्ज–दिल्ली उडानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार नेपालगन्जमा भएको वृहद् छलफल कार्यक्रममा वक्ताहरूले नेपालगन्ज–दिल्ली उडानको लागि सरकारले पहल गर्नुपर्नेमा ऐक्यबद्धता जनाएका हुन् ।

कार्यक्रममा बाँकेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, उद्योगि व्यवसायी, प्राध्यापक, सामाजिक क्षेत्रका अगुवा व्यक्तिहरू सहभागी थिए । उनीहरूले नयाँ टर्मिनल भवन बनिसकेपछि पनि सरकारसँग उक्त विमानस्थलको सदुपयोगका विषयमा कुनै योजना नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै पश्चिम नेपालको पर्यटकीय र आर्थिक विकासका लागि नेपालगन्ज दिल्ली उडान जरुरी रहेकोमा सम्बद्ध सबैले जोड दिएका छन् ।

कार्यक्रममा सहभागिहरूले नेपालगन्ज दिल्ली उडानको लागि गठित दबाब समूहले अघि सारेका कार्ययोजना र एजेण्डामा पनि सहमति जनाएका थिए । उनीहरूले समूहले गर्ने सबै गतिविधिमा ऐक्यबद्धता रहेको जनाउँदै सरकारलाई भारतसँग नेपालगन्ज–दिल्ली उडानका लागि संवाद गर्न आग्रह गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा गठित समितिमा बाँकेका सबै राजनीतिक दल तथा सरोकारवाला संघ संगठनका प्रतिनिधिहरू सहभागी छन् ।

कार्यक्रमका सहभागीहरूले नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडानका लागि ३० वर्ष अघिदेखि नै पहल हुँदै आएपनि उक्त मुद्दामा सुनुवाइ नभएको बताएका थिए । कार्यक्रममा नेपालगन्ज दबाब समूहका संयोजक एवं नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले तीन दशक पहिले नै नेपालगन्जलाई काठमाडौँपछिको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा मन्त्रीले नै सहमति गरेकोमा त्यसको उल्लंघन भएको बताए ।

विकासको सन्तुलनका दृष्टिकोणले र आर्थिक दृष्टिकोणले नेपालगन्जबाट दिल्ली उडान हुनु अपरिहार्य रहेको उनको भनाइ थियो । अहिले नेपालगन्ज विमानस्थलमा तीन अर्ब बढीको लागतमा नयाँ टर्मिनल भवन बनिसकेको तर उक्त टर्मिनल भवनको सदुपयोगका लागि अहिलेसम्म कुनै योजना नबनेकोले दिल्ली उडानको औचित्य झन् बढेको कार्यक्रमका सहभागिहरूले बताए ।

दबाब समूहले दिल्ली उडानको पहलका लागि दबाब दिन विस्तृत् प्रस्तावना प्रतिवेदन तयार भइरहेको, काठमाडौँमा सम्बद्धहरूसँग चरणबद्ध छलफलको योजना रहेको र आएको निचोडका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणअघि प्रधानमन्त्रीलाई भेटेर भारतसँग दिल्ली उडानको विषयमा प्रस्ताव राख्न ध्यानाकर्षण गराइने कार्ययोजना बनाइएको जानकारी दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार