हमाल सुदूरपश्चिम प्रदेशमा फुटबल गोल्डकपका सुरुवातकर्ता हुन् । सुदूरपश्चिममै पहिलोपटक उनी अध्यक्ष रहेको सुदूरपश्चिम ११ स्पोट्स क्लबले कैलालीको धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गरेको थियो । उक्त प्रतियोगिताका छ वटा संस्करण आयोजना भइसकेको छ ।

कैलाली ।
खेलकर्मी सुरेश हमालको निधन भएको छ । कैलालीको भजनी नगरपालिकाका ४८ वर्षीय हमालको भारतको राममुर्ती मेडिकल कलेज भोजिपुरामा बुधबार निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेकोमा बुधबार उपचारका क्रममा हमालको निधन भएको थियो । हमालका एक छोरा र एक छोरी छन् ।
हमाल सुदूरपश्चिम प्रदेशमा फुटबल गोल्डकपका सुरुवातकर्ता हुन् । सुदूरपश्चिममै पहिलोपटक उनी अध्यक्ष रहेको सुदूरपश्चिम ११ स्पोट्स क्लबले कैलालीको धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गरेको थियो । उक्त प्रतियोगिताका छ वटा संस्करण आयोजना भइसकेको छ । २०७३ सालअघि नेपालको सुदूर पूर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगन्ज लगायतका स्थानमा बर्सेनि गोल्डकप फुटबलहरू सञ्चालन हुँदै आइरहेको थियो ।
तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन । २०७३ सालमा पहिलोपटक हमालकै अगुवाइमा धनगढीमा गोल्डकप आयोजना भएको थियो । मनाङ मस्र्याङ्दी क्लबले पहिलो संकरणको उपाधिमा कब्जा जमाएको थियो । सो सस्ंकरणमा नेपालका १० र भारतका २ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
हमालले आफ्नो पारिवारिक जिम्मेवारीलाई पछाडि राखेर खेलकुदमा लगानी गर्दै आएका थिए । उनले सुदूरपश्चिम ११ स्पोट्र्स क्लबमार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षैभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने काम हमालले गर्दै आएका थिए । हमाल सानो उमेरदेखि नै फुटबलका पारखी थिए ।
तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिएका थिए । उनले थुप्रै राष्ट्रियस्तरका तेक्वान्दोका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका थिए । सोही क्रममा उनले राखेपबाट ०५३ सालमा तेक्वान्दो प्रशिक्षकका रूपमा स्थायी नियुक्ति पाएका थिए । दुई वर्ष तेक्वान्दो प्रशिक्षण गराएपछि सरुवा घरबाट टाढा हुने भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनीमा हिमालय फुटबल क्लबको स्थापना गरेका थिए । कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरेका थिए । हमालको निधनले सुदूरपश्चिमको खेल क्षेत्रमा ठुलो क्षति पुगेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव दीपक सिंह बताउँछन् ।
‘हमाल खेलकुदको क्षेत्रमा निकै लगनशील व्यक्ति हुनुहुन्थ्यो्,’ सिंहले भने, ‘केही गरौँ भन्ने हुटहुटी थियो उहाँमा, खेलकर्मीलाई समस्या पर्दा सहयोगका लागि सबैभन्दा अगाडि उहाँ नै आउनुहुन्थ्यो । त्यस्तो व्यक्ति सुदूरपश्चिमले फेरि पाउने आश नै छैन ।’ सिंहका अनुसार हमाल खेल क्षेत्रको विकासका लागि तन, मन र धन दिएर लाग्ने व्यक्ति थिए ।









प्रतिक्रिया दिनुहोस्