मानवअधिकारकर्मी र सञ्चारकर्मीबीच नियमित संवाद गरिने



नेपालगन्ज ।

मानवअधिकारका सवालमा सञ्चारकर्मी र नागरिक समाजबीच निरन्तर संवाद र छलफलको आवश्यकता रहेकोमा जोड दिइएको छ ।मानवअधिकार र सञ्चार विषयमा नेपालगन्जमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकारका सवालमा आवाज मुखरित गर्न र आवश्यक छलफल गर्न नियमित संवाद कार्यक्रमको आयोजना गर्ने निष्कर्ष पनि निकालिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके र इन्सेकको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै लेखक नरेन्द्रजंग पिटरले मानवअधिकारको विषय विश्वजनिन विषय भएकोले सबै मानवअधिकार हननका विरुद्ध बोल्नु जरुरी रहेको बताए । उनले गाजामा भैरहेको नरसंहारका विरुद्धमा बोल्न पनि डराउन नहुने र स्थानीय मुद्दामा पनि मानवअधिकारका पक्षमा नियमित बोल्नुपर्ने बताए ।

अधिकारकर्मी प्रकाश उपाध्यायले अहिले नेपालमा नागरिक अभियान सुस्ताएको बताए । नागरिक समाज सुस्ताएको बेला सञ्चार क्षेत्रले पनि प्रभावकारी तवरले समाचार सम्प्रेषण गर्न नसक्ने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नागरिक समाज, मानवअधिकारकर्मी र सञ्चारकर्मीबीच सहकार्यको आवश्यकता औँल्याए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका मानवअधिकारसम्बन्धी मुद्दाहरूको उठान गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले मानवधिकारकर्मी र सञ्चारकर्मीबीच विगतमा रहेको अन्तरसम्बन्ध केही फितलो रहेकोमा अब पुनः घनीभूत बनाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आगामी दिनमा हरेक दुई महिनामा सञ्चारकर्मी र नागरिक समाजबीच भेटघाट गर्ने र मानवधिकारका मुद्दामा साझा धारणा बनाउने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार