सम्पादकीयः दुर्घटना न्यूनीकरणमा ध्यान जाओस्



बाँकेमा पछिल्लो समयमा सवारी दुर्घटनाका घटनाहरूमा उल्लखनीय वृद्धि भएको छ । सवारी दुर्घटनाका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको देखिन्छ भने घाइते हुने नागरिकको सङ्ख्यामा पनि वृद्धि भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८०–८१ मा भन्दा गत आर्थिक वर्ष ०८१–८२ मा उल्लेखीय मात्रामा सवारी दुर्घटनाका घटना भएको तथ्यांक रहेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानमा गरी गत आवमा ५७७ वटा सवारी दुर्घटना भएका छन् । जसमा ८५२ वटा सवारी साधन संलग्न रहेका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन् । मोटरसाइकल ४८५, टेम्पो १०५, जिप कार ८०, साइकल ६४, बस ३२, ट्रक ट्याङ्कर ३१, माइक्रो २३, ट्याक्टर १६, टिप्पर ८, अन्य ७ र डोजर, लोडर, स्काभेटर १ गरी ८५२ सवारीसाधन दुर्घटनामा परेका हुन् । उक्त दुर्घटनामा परी ५५ पुरुष, १० महिला, ४ बालक र १ बालिका गरी ७० जनाको ज्यान गएको छ । जसमा १४२ जना गम्भीर र ७८४ जना सामान्य गरी ९२६ जना नागरिक घाइते भएका छन् । उक्त दुर्घटनामा परी २२ पशुचौपायाको मृत्यु भएको छ भने ७ घाइते भएको उक्त तथ्यांकमा उल्लेख रहेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा जम्मा १५८ वटा दुर्घटनाका घटना भएका थिए, जसमा २२४ वटा सवारीसाधन संलग्न रहेका थिए । उक्त वर्ष ४८ पुरुष, १६ महिला र २ बालक गरी ६६ जनाको मृत्यु भएको थियो । १०८ जना गम्भीर र १०४ जना सामान्य गरी २१२ जना नागरिक घाइते भएको बाँके ट्राफिकको तथ्यांक रहेको छ । उक्त वर्ष दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो ३ वटा घाइते भएका थिए । तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा भन्दा गत आवमा जिल्लामा धेरै सवारी दुर्घटना भएका छन् भने मृत्यु र घाइते हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । बाँके ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत आवको पुस महिनादेखि साना साना दुर्घटना पनि तथ्यांकमा समेट्न लागेपछि सङ्ख्यामा वृद्धि भएको हो । अघिल्लो आवसम्म ठूला ठूला दुर्घटना मात्र तथ्यांकमा राख्ने तर गत आवको पुस महिनादेखि साना साना दुर्घटना पनि तथ्यांकमा समावेश गर्न थालेपछि सङ्ख्यामा वृद्धि भएको देखिएको हो । दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकलको सङ्ख्या रहेको छ । अधिकतम घटनाहरूमा चालकको लापरबाही, मापसे, बिना हेलमेट, तीव्र गति, लेनविपरीत, दुई जनाभन्दा बढी चढाउने, ट्राफिक नियमितविपरीत सवारी चलाउँदा बढी दुर्घटना भएको तथ्यांक छ ।

अन्य सवारी दुर्घटनामा पनि मुख्यतः चालकको लापरबाही, मापसे, तीव्र गति, अनावश्यक प्रतिस्पर्धा, क्षमताभन्दा बढी यात्रु चढाउने, हेलचेक्र्याइँ गरेर सवारी चालउने, सवारीसाधनमा यान्त्रिक खराबी, सहचालकले चलाउनु, सडकको खराब अवस्था, यात्रुहरू पनि जहाँ त्यहीँबाट सडक वारपार गर्नु, सडक र लेन अनुशासन नमान्नु लगायतका कारणबाट पनि सवारी दुर्घटना हुने गरेका तथ्यांकले देखाउँछ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण हुनु जरुरी छ । ट्राफिक प्रहरी, यातायात कार्यालय, सडक विभाग, सवारी चालक, यात्रु, टेलिकम, विद्युत् कार्यालय, स्थानीय सरकार लगायतका सरोकारवालाहरू गम्भीर हुन जरुरी छ । बिग्रेभत्केका सडकहरू समयमै मर्मतसम्भार गर्ने, सडकका बीचभागमा तथा सडकलाई असर पुग्ने गरी जथाभावी पोलहरू नगाड्ने, तारहरू अन्डरग्राउण्ड गर्दा सडकहरू जथाभावी नखन्ने तथा तत्काल मर्मत गर्ने, चालकले ट्राफिक नियमको पूर्णरूपमा पालना गर्ने, स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकहरूमा जेब्रा क्रसिङको व्यवस्था गर्ने, चालक अनुमतिपत्र वितरण गर्दा ध्यान दिने, तथा स्कुल तथा विद्यार्थीहरूलाई व्यापक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, समुदायस्तरमा पनि ट्राफिक नियमसम्बन्धी व्यापक जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ । साथै पैदल यात्रुले पनि जथाभागी सडक वारपार नगर्ने, सवारीसाधनहरूले आफ्नो लेनको प्रयोग गर्ने, जथाभावी यात्रु नचढाउने, तीव्र गतिमा प्रतिस्पर्धा गरी सवारी नचलाउने लगायतका उपाय अवलम्बन गर्दा सवारी दुर्घटना न्यूनीकरण भई कम क्षति हुन सक्ने देखिन्छ । तसर्थः दुर्घटना न्यूनीकरण गर्नका लागि यस्ता विषयमा सम्बन्धित सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण होस् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार