
oppo_0
वीरेन्द्रनगर ।
जिल्लाका सरोकारवाला निकायले मौरीको संरक्षण र व्यवसायिक विकासमा जोड दिनुपर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा सम्पन्न मौरी बुटक्याम्प कार्यक्रमको समापनका अवसरमा सरोकारवाला निकायले यस्तो बताएका हु्न् । मौरी मूल्य श्रृङ्खलामा सम्भावित व्यवसायको पहिचान विकास तथा विस्तारका लागि ७ दिने मौरी बुटक्याम्प कार्यक्रमको आयोजना गरिएको थियो । इन इलम परियोजनाअन्तर्गत हेल्भेटास नेपालको सहयोग र नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उद्यमशिलता विकास, व्यवसाय विकास योजना निर्माण, मौरी विज्ञ सेवा र वित्तीय तथा बीमा लिङ्केजसम्बन्धी सहभागीलाई जानकारी दिइएको छ । कार्यक्रममा सहभागी पार्वतीकुमारी चपाईले मौरीको संरक्षणमा ध्यान दिने भन्दै व्यवसायिक रूपमा मह उत्पादनमा लाग्ने बताइन्। सहभागी अमरबहादुर तारामीले मह उत्पादनदेखि बजारीकरणसम्मको गतिविधिका विषयमा जानकारी पाएको भन्दै महको बजार राम्रो भएपनि उत्पादन वृद्धि हुन नसकेको उल्लेख गरे ।
कार्यक्रमका प्रशिक्षक तथा मौरी विज्ञ माधव केसीले तालिम लिएर मात्रै केही नहुने भन्दै सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने बताए । सुर्खेत जिल्ला मौरीमा पनि आत्मनिर्भर बन्न सक्ने संभावन रहेको भन्दै यसमा लगानी बढाउन जोडदिनुपर्ने उनको भनाइ छ । इन इलम परियोजना संयोजक टेकबहादुर सिंहले कर्णालीमा मौरी श्रृङ्खला, अल्लो र ड्रागन फल उत्पादनमा परियोजनाअन्तर्गत कार्यक्रम लागु भएको जानकारी दिए । महमात्रै नभई मौरीबाट अन्य संभावित विभिन्न व्यवसायको संभावनाबारे अध्ययन र लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
भाषण गर्दा युवाहरू बेरोजगार भए, विदेश गए भन्ने गरिएपनि यससम्बन्धी सरकारका नीति तथा कार्यक्रम केन्द्रित नभएको उनले बताए ।
‘लामो समयदेखि व्यवसाय गरेपनि सानो सानो प्राविधिक कारणले मौरी किसानले अपेक्षा अनुसारको फाइदा लिन सकेका छैनन्,’ उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भारतबाट आएको महको गुणस्तर चेक गरेर मात्रै बिक्री गर्न लगाउनुपर्छ । भारतबाट आएको अखाद्य महले यहाँको महको बजार खोसिएको छ ।’
कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका निमित्त प्रमुख दिपक भण्डारीले मौरी व्यवसायमा लगानी बढाउनसके कृषकको आयआर्जन र जीविकोपार्जनको गतिलो माध्यम बन्ने बताए । उनले भने, ‘मौरीले व्यक्ति र वातावरणलाई बहुआयामिक फाइदा पुगेको छ । मौरी संरक्षण र प्रवद्र्धनमा अनुसन्धान गरी लगानी बढाउनुपर्छ ।’ मौरी पालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले मौरीका लागि बेसिजनमा फूल फुल्ने च्युरी लगायतका बिरुवा पनि रोपिएको जानकारी दिए । मौरीले परागसेचन गर्दा उत्पादन बढ्छ भन्ने सोच विकास नभएका कारण मौरी चराउन सकस पर्ने गरेको उनको छ ।









प्रतिक्रिया दिनुहोस्