काँग्रेसले निष्ठावान पुस्ता खोजीरहेको छः पूर्वमन्त्री आचार्य



कोहलपुर ।

आफ्नो विचार, सिद्धान्त र आफ्नो निष्ठामा अडिग रहेर प्रतिकूल परिस्थितिमा पनि निर्भीकतापूर्वक आफ्ना कुरा भन्नसक्ने नेपाली काँग्रेसको पुस्ता खोजीरहेको नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बताएका छन् । शनिबार कोहलपुर नगर कार्यसमितिको आयोजनामा ‘वीपीःयुग, चेतना र आजको राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपाली काँग्रेस आफ्नो विचार, सिद्धान्त र निष्ठामा अडिग भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए । नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई सम्झँदै उनले वीपी आफ्नो विचार, सिद्धान्त र निष्ठामा अडिग रहने नेता रहेको बताए । पछिल्लो समय नेपाली काँग्रेस पार्टीमा सिद्धान्त, विचार र निष्ठाभन्दा गुटको राजनीति मौलाउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेका असल र सक्षम व्यक्तिहरू पछि कुनामा बस्नु परिरहेको उनले बताए ।

वीपीले जीवनप्रति मोह होइन्, सिद्धान्तप्रति प्रतिबद्ध रहन सिकाएको उनको भनाइ थियो । वीपीले आफ्नो जीवनभन्दा माथि जनता र राष्ट्रलाई राखेर काम गरेको उनको भनाइ छ । जनताको सेवा र राष्ट्र निर्माणका लागि जेल बस्नेदेखि अनेकौँ पीडा सहेर लड्दै लोकतन्त्र र गणतन्त्र स्थापना भएको बताए । उनले वीपीसँगसँगै बिताएको समय र उनका सिद्धान्त, विचारका बारेमा नेता तथा कार्यकर्ताहरूलाई जानकारी गराए ।
आफ्नो आस्था र विचारमा अडिग रहेर निर्भीकतापूर्वक उभिने सामथ्र्य भएमात्रै जनताको पक्षमा बोल्न सकिने उनले बताए ।

लोभलालचतिर लिप्त भए विचार र सिद्धान्तमा अडिग हुन नसकिने वीपीको लोकतान्त्रिक संघर्षबाट सिक्नुपर्ने भनाइ थियो । वीपीको युग भनेको स्वर्णिम युग रहेको नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । जनताका हक र अधिकारका लागि आफ्नो ज्यानको कुनै प्रवाह नगरी निरन्तर वीपीले लडेको इतिहास युवा पुस्ताले अध्ययन गर्न जरुरी रहेको उनको भनाइ छ ।

वीपीको विचार, सिद्धान्तले काँग्रेस धनी रहेपनि पछिल्लो समय सत्ता र पदको लोभले बिग्रदै गएको बताउँदै उनले वीपीले देखाएको बाटो र विचार कार्यान्वयन गर्न अहिलेको नेतृत्वले नसकेको समेत उल्लेख गरे । वीपीको नाममा काँग्रेसका कतिपयले भजाएर खाने काम गरेको लुम्बिनी प्रदेश सभा ‘ख’ सभापति बलराम शर्माले बताए । वीपीको स्मृतिमा मात्र नभई उनलाई सधैँभर सम्झन आवश्यक रहेको भन्दै उनले जनताका समस्या समधान गर्न छाडेर पदको मात्रै लोभ राख्नाले काँग्रेस बिग्रेको बताए ।

जुनसुकै पार्टीका व्यक्तिहरू मर्दापर्दा पुग्न नसक्ने त्यो नेपाली काँग्रेस हुन नसक्ने वीपीको सिद्धान्त रहेको उल्लेख गर्दै उनले वीपीका नाममा मञ्चमा भाषण मात्र नभई व्यवहारमा लागु गर्नुपर्ने बताए । वीपीको भौतिक शरीर नरहेपनि वीपीको विचारमा काँग्रेस हिँडिरहेको उनको भनाइ थियो । गोष्ठिमा नेपाली काँग्रेसका लुम्बनी प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि र क्रियाशील सदस्यको समेत उपस्थित रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार