मानसरोवर तीर्थयात्रीले गुल्जार सिमीकोट



करोडौँ लगानी गरिएका होटेलहरू धान्नै मुस्किल भइरहेका बेला यतिखेर हुम्लाको सिमीकोटका होटल व्यवसायीहरूमा पर्यटन व्यवसायले फेरी गति समात्ने आशा पलाएको छ । त्यो आशा कैलाश मानसरोवर तीर्थयात्रा खुलेसँगै पलाएको हो । कोरोना महामारीयता चीन सरकारले कैलाश मानसरोवर दर्शनका लागि भिसा बन्द गराएकोमा यसैवर्ष भिसा खुला गरेको थियो । भिसा खुला गरेपछि भारतीय तीर्थयात्रीहरूका लागि कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो रुट नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोवर पुनः प्रयोगमा आउन थालेको हो । यो रुट प्रयोगमा आएसँगै होटल व्यवसायीहरूले काम पाउन थालेका छन् ।

वीरेन्द्र जैसी ।नेपालगन्ज ।

करोडौँ लगानी गरिएका होटेलहरू धान्नै मुस्किल भइरहेका बेला यतिखेर हुम्लाको सिमीकोटका होटल व्यवसायीहरूमा पर्यटन व्यवसायले फेरी गति समात्ने आशा पलाएको छ । त्यो आशा कैलाश मानसरोवर तीर्थयात्रा खुलेसँगै पलाएको हो । कोरोना महामारीयता चीन सरकारले कैलाश मानसरोवर दर्शनका लागि भिसा बन्द गराएकोमा यसैवर्ष भिसा खुला गरेको थियो ।

कैलाश दर्शन गर्नेहरूमा सबैभन्दा बढी भारतीय नागरिकहरू हुने गरेका छन् । भिसा खुला गरेपछि भारतीय तीर्थयात्रीहरूका लागि कैलाश मानसरोवर पुग्ने सबैभन्दा छोटो रुट नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोवर पुनः प्रयोगमा आउन थालेको हो । यो रुट प्रयोगमा आएसँगै होटल व्यवसायीहरूले काम पाउन थालेका छन् । होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष मिम लामाका अनुसार केही दिनअघिसम्म त्यहाँका सबै होटलहरू बुक भएका थिए ।

तीन दिनयता फेरी तीर्थयात्रीहरूको आवागमन केही पातलो भएको छ । यद्यपि अगस्टसम्मका लागि होटलहरूको बुकिङ रहेको उनले बताए । ‘मानिसहरूको चापअनुसार होटल बुकिङ भइरहेका छन् । बढी भएको बेला सबै होटलले मानिसहरू पाउँछन् । कम भएका बेला सुविधायुक्त होटलमा चाप बढी हुन्छ । जे होस् अझै दुई महिनासम्म पर्यटकहरू आउने भएकोले यहाँका होटल व्यवसायीहरूमा आशा पलाएको छ ।’
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार असारयता शुक्रबारसम्म दुई हजार एक सय ५० बढी भारतीय तिर्थयात्रीहरू हुम्ला पुगेका छन् ।

हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार पछिल्ला केही दिनमा तीर्थयात्रीहरू कम भएका छन् । नेपालगन्ज विमानस्थलका सूचना अधिकारी धिरेन्द्र रिजालका अनुसार केही दिनअघिसम्म नेपालगन्जबाट एकैदिन २२ वटाभन्दा बढी उडान सिमीकोट विमानस्थलमा भएको थियो । पछिल्ला दुई दिनमा दुई–दुई वटा मात्रै उडान भएका छन् ।

यद्यपि मानसरोवर तीर्थयात्रीलाई नै ध्यानमा राखेर अहिले तारा, सीता र समिट एअरलाइन्सका जहाजहरू नेपालगन्जमै राखिएका छन् । उता सिमीकोट विमानस्थलमा ५ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा रहेका छन् । समिट एयरका नेपालगन्ज प्रमुख प्रतिनिधि दीपकबहादुर शाहका अनुसार उडानको प्रिबुकिङ भने सेप्टेम्बरसम्मै भएको छ । ‘पर्याप्त बुकिङ नभएपनि सेप्टेम्बरसम्मको डेटमा बुकिङ भएको अवस्था छ। मानसरोवर यात्रा खुला भएपछि पर्यटन व्यवसाय चलायमान भएको भने देखिएको छ,’ शाहले मिसन टुडेसँग भने ।

हुम्लाका एक अर्का होटल व्यवसायी नाम्ग्याल तामाङले केही टुर अपरेटरहरूले तीर्थयात्रीहरूलाई सिमीकोटमा स्टे गराउन कन्जुस्याइँ गरिरहेको बताए । उनका अनुसार अपरेटरहरूले सकेसम्म चाँडो हिल्सा लैजान खोज्दा हुनुपर्ने जति होटलको कारोबार नभएको बताए । होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष लामा सिमीकोटमा स्टे नगराउने अवस्था भिसाका कारण वा तोकिएको सेड्युलमा ढिलाइ भइरहेका कारण मात्रै हुने गरेको बताउँछन् । उनले हुम्लाको पर्यटनलाई थप व्यवस्थित बनाउन संघले पहल गर्ने पनि बताए ।

हुम्लाका होटल व्यवसायी मात्रै नभएर त्यहाँका अरु सरोकारवालाहरू पनि पर्यटकीय गतिविधिबाट उत्साहित छन् । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले अहिले हुम्लाको माहौल नै पर्यटकीय बनेको बताए । ‘आकाशमा एकै दिन चालिस÷पचास वटासम्म हेलि र हवाईजहाज उडिरहेका छन् । बजारमा चहलपहल छ । फेरी एकपटक पर्यटनले गति समात्ने आशा सबैतिर छाएको छ,’ उनले भने ।

अध्यक्ष भण्डारीले पर्यटकहरू बढेसँगै स्थानीय युवाहरूले रोजगारी पाएको र तरकारीजन्य कृषि उपजले बजार पाएको पनि बताए । ‘होटलहरूमा कामदारहरू थपिएका छन् । भारी बोक्ने, ओसार्ने, गाडी चलाउने सबैले काम पाएका छन् । यसले यहीका युवाहरूले रोजगारी पाउने अवस्था आएको छ । स्थानीय कृषकहरूको तरकारीजन्य उत्पादनले बजार पाएका छन् । हामीले मानसरोवर तीर्थ यात्रा खुल्नुलाई ठुलो अवसरको रूपमा लिइरहेका छौँ,’ उनले मिसन टुडेसँग भने ।

हिल्सा नाका पर्ने हुम्लाकै नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले पर्यटकहरू बढ्नुको प्रत्यक्ष फाइदा होटल व्यवसायीहरूलाई भएपनि अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव देखिएको बताए । उनले अब स्थानीय उत्पादनहरू पर्यटकहरूका लागि सहजै उपलब्ध हुनेगरी व्यवस्था गर्ने योजना बनाएको पनि उल्लेख गरे ।

सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी पनि पर्यटकहरूलाई आकर्षित गर्न सिमकोट विमानस्थलमा सञ्चालनमा आएर बन्द भएको पर्यटकीय महत्व झल्काउने सामग्री प्रकाशन गर्ने उद्देश्यले राखिएको डिजिटल डिस्प्ले फेरी सुरु गर्ने र स्थानीय उत्पादनको बजारीकरणको उपयुक्त व्यवस्था गर्ने बताउँछन् । नेपालगन्ज–सिमकोट–हिल्सा रुट मानसरोवर पुग्नका लागि सबैभन्दा सम्भावना भएको रुट भएको पर्यटन व्यवसायी बताउँछन् ।

सबैभन्दा छोटो र रोमाञ्चक रुट ‘नेपालगन्ज–कैलाश’

कैलाश पुग्नका लागि भारतीय र नेपालीका लागि सबैभन्दा छोटो र रोमाञ्चक रुट हो नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोवर । नेपालगन्ज हुँदै कैलाश जाने रुट अन्य रुटका तुलनामा आरामदायक, छोटो, कम शारीरिक थकान दिने र हिमालयका मनमोहक दृश्यहरूको आनन्द लिन सकिने विशेषताको रहेको छ ।

अन्य रुटहरूमा १२ दिनदेखि २४ दिनसम्मको लामो र कठिन यात्रा लाग्ने गरेकोमा, नेपालगन्ज हुँदै हेलिकोप्टरबाट गरिने यात्राले यसलाई ६ देखि १० दिनमा पूरा गर्न सकिन्छ । नेपालगन्जबाट जहाजमार्फत सिमीकोट हुँदै हेलिकोप्टरमार्फत हिल्सा पुग्ने र त्यसपछि सडक मार्गबाट मानसरोवर र कैलाशसम्मको यात्रा गर्न सकिन्छ । कैलाश यात्राका लागि काठमाडौँ–केरुङ रुट (सडक मार्ग), काठमाडौँ–ल्हासा रुट (हवाई र सडकमार्ग), उत्तराखण्ड रुट लिपुलेख पास (सडक) र पैदलमार्ग एवं सिक्किम हुँदै नाथुला पास रुट (सडकमार्ग) विकल्प रहेका छन् । तर, यी रुटमध्ये नेपालगन्ज हुँदै जाने रुट सबैभन्दा छोटो रुट हो ।

नेपालगन्जमा होटल र यातायातको राम्रो सुविधा हुनुका साथै भारतको सीमा नजिकै भएकाले भारतीय तीर्थयात्रीहरूका लागि यो एक सहज प्रवेश विन्दुको रूपमा पनि रहेको छ । धेरै ट्राभल एजेन्सीहरूले यस रुटमार्फत सुविधासम्पन्न प्याकेजहरू उपलब्ध गराउँदै आएका छन् ।
कैलाश मानसरोवरको आध्यात्मिक प्रायः हिन्दू धर्मावलम्बीको सपना हुन्छ । हिन्दू धर्मशास्त्र अनुसार, कैलाश पर्वत भगवान शिव र पार्वतीको निवास स्थान हो । यहाँ शिवजी तपस्या र ध्यानमा लीन रहेको हिन्दू धार्मिक विश्वास रहिआएको छ ।

कैलाशको दर्शन र परिक्रमा गर्नाले मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ । भारत सरकारले कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई २५ हजारदेखि एक लाख भारतीय रूपैयाँँ अनुदान दिँदै आएको छ । हवाइमार्गबाट सिधै तिब्बत जाँदा महँगो पर्ने भएकाले भारतीय तीर्थयात्रीहरू नेपाल हुँदै मानसरोर पुग्ने विकल्प छनौट गर्छन् ।

नेपालगन्जका स्टार होटललाई पनि फाइदा

मानसरोवर तीर्थ यात्राको लागि सबैभन्दा छोटो मानिने रुटको प्रवेश विन्दु हो नेपालगन्ज । नेपालगन्जमा मानसरोवरका तीर्थयात्रीहरू काठमाडौँबाट हवाई यात्रा गरेर वा नेपालगन्जस्थित जमुनाह नाका भएर प्रवेश गर्न सक्छन् । त्यसरी आएका पर्यटकहरूमध्ये अधिकांश नेपालगन्जका स्टार होटलहरूमा बास बस्ने गर्छन् ।

नेपालगन्जस्थित स्टारलाइट होटलका फ्रन्ट डेस्क म्यानेजर विनोद बुढाथोकीका अनुसार अहिले नेपालगन्जमा प्रायः सबै स्टार लेवलका होटलका रुमहरू मानसरोवर तीर्थयात्रीका लागि भनेर प्रिबुकिङ भएका छन् । सेप्टेम्बरसम्मै बुकिङ गरिएको अवस्था रहेको उनले बताए । उनका अनुसार पहिलो चरणमा तिर्थयात्रीहरू फर्किएपछि अब अर्काे हप्ताबाट पुनः अर्काे लटमा तीर्थयात्रीहरू आउनेगरी होटलहरू बुकिङ गरिएका छन् ।

होटल कल्पतरुका प्रबन्धक लक्ष्मण पन्थीका अनुसार तीर्थयात्रीहरूको नेपालगन्जमा एक रातको बसाइँ तालिका हुन्छ । तर, मौसम खराबीको अवस्थामा एकदिन थप बसाइँ लम्बिन पनि सक्छ । फर्किँदा पनि मौसम खराबीका कारण नेपालगन्जमा बास बस्नुपर्ने अवस्था आउनसक्छ । नेपालगन्जमा अहिले एउटा पाँचतारे, पाँचवटा चारतारे, तीनवटा तीनतारे होटलहरू रहेका छन् ।

नाकामा झन्झट झेल्दै पर्यटक 

भारतको लखनउ हुँदै स्थलमार्ग भएर नेपालगन्ज आउने पर्यटकहरूले नेपालगन्जस्थित जमुनाह नाकामा अनावश्यक झन्झट व्यहोर्नु परिरहेको बताएका छन् । एक ट्राभल कम्पनीका प्रतिनिधिले दुई दिनअघि लखनउबाट बसमा पर्यटकहरूलाई ल्याइएकोमा नेपालगन्ज नाकामा प्रवेश नदिएको बताए । नेपाल भारतमैत्री बाहेकका ठुलो बसलाई प्रवेश नदिइने भन्दै नाकामा रोकिएको र करिब तीन घण्टा पर्यटकहरूले सास्ती खेप्नुपरेको उनले मिसन टुडेसँग बताए ।

पछि अन्य साना गाडीहरूको व्यवस्था गरी नेपालगन्ज ल्याइएको उनको भनाइ छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल भने नेपाल भारतमैत्री बसलाई नाकामा कहिल्यै नरोकिने गरेको र पर्यटक बोकेर आएका अन्य बसलाई पनि भारतीय एसएसबीले अनुमति दिएर पठाएको अवस्थामा नरोकिने गरेको बताए ।

‘उहाँहरूले भारततर्फको एसएसबीबाट अनुमति लिएर आएको खण्डमा हामीले त स्वागत नै गर्र्छाैँ । हामीले बसलाई अहिलेसम्म त्यसरी रोकेको अवस्था जानकारीमा छैन । बरु उहाँहरूले प्रक्रिया नबुझेर वा पूरा गर्न नसकेर त्यस्तो भएको हुनसक्छ,’ पौडेलले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार