कर्णाली स्वास्थ्य पाश्र्वचित्र विमोचन



वीरेन्द्रनगर ।

कर्णाली स्वास्थ्य पाश्र्वचित्र विमोचन गरिएको छ । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीद्वारा बिहीबार पाश्र्वचित्र विमोचन गरिएको हो । पाश्र्वचित्रले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने संवैधानिक हक सुनिश्चित गरे बमोजिम कार्यान्वयन गरिएको मन्त्री भण्डारीले बताए ।

विगत तीन वर्षमा प्रदेशको स्वास्थ्य सूचकहरूको अवस्था, सबल र कमजोर पक्ष सहित विभिन्न चुनौतीहरू समेटिएको यस पाश्र्वचित्रले स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण र अद्यावधिक तथ्यांकहरूलाई एकमुष्ठ रुपमा प्रस्तुत गरेको उनको भनाइ छ । उनले भने, ‘कर्णालीको विकट भौगोलिक अवस्था, सामाजिक–आर्थिक विपन्नता, छरिएर रहेको मानव बस्ती, आवश्यकता अनुसारको भौतिक पूर्वाधारको अभाव, अपर्याप्त जनशक्ति र स्वास्थ्य क्षेत्रमा सुशासनको अभावलाई सुदृढ गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकसम्म पहुँच अभिवृद्धि गर्न जरूरी छ ।’

फरक–फरक धार्मिक एवम् साँस्कृतिक परिवेश र परम्परागत हानिकारक प्रयासहरूका कारण जनस्वास्थ्यमा गम्भिर असर परिरहेको उनले बताए । नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचका लागि वस्तु तथा सेवाको वितरणमा समेत यस्ता तथ्यांकहरूको महत्वपूर्ण भूमिका रहने भएकोले पाश्र्वचित्रले स्वास्थ्य सेवालाई सबलीकरण गरी सुदृढ स्वास्थ्य प्रणाली स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत महेश शर्माका अनुसार मन्त्रालयले कर्णालीको स्वास्थ्य अवस्थालाई समावेश गरी तयार गरेको पाश्र्वचित्रलाई विमोचन गरिएको हो । उनका अनुसार पाश्र्वचित्रमा कर्णालीको आर्थिक, शैक्षिक अवस्थासहित स्वस्थ्यतर्फ खानेपानी तथा सरसफाई, बालबालिका र महिलाहरूको पोषण अवस्था, संस्थागत संरचना र स्वास्थ्य संस्थाहरू, स्वास्थ्यका लागि मानव स्रोत, आयुर्वेद चिकित्सा लगायत समग्र जनस्वास्थ्यको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

यस्तै स्वास्थ्य सेवा प्रवाहको अवस्था, कर्णाली प्रदेशमा विकास साझेदारहरूको प्राथमिकता, स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट र कर्णाली प्रदेशका स्वास्थ्य नीति रणनितीहरू समावेश गरिएको अधिकृत शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार